• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

बागलुङमै सेतो रगत निर्माण गर्ने प्रयोगशाला

बागलुङ । लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रको प्रयोगशालामा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा) उत्पादन गर्ने उपकरणहरु भित्राइएको छ ।

धौलागिरी प्रादेशकि अस्पतालअघि रहेको रक्त सञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणहरुको अभावमा अन्य केही उपकरण समेत प्रयोग बिहिन भएका थिए भने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।

अबको एक महिना भित्र सेवा प्रदान गर्ने गरी उपकरण भित्रिएको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापती जगन्नाथ आचार्यले जानकारी दिनुभयो । उपकरण जडान गर्ने तथा ल्याब टेक्निसियनलाई दुई हप्ताको तालिम पश्चात सेवा सुचारु गरिने आचार्यको भनाई छ ।

अब जटिल प्रकारका बिरामीलाई आवश्यक पर्ने प्लेटलेट्स÷प्लाज्मा बागलुङमै उत्पादन थालेपछि धौलागिरी प्रादेशिक अस्पतालबाट रिफर हुने जटिल प्रकारका बिरामीको संख्या घट्ने आचार्यको भनाई छ ।

विशेषज्ञ सेवा प्रदान तथा जटिल प्रकारको रोगको उपचारका लागि सेतो रगत आवश्यक पर्ने धौलागिरी प्रादेशिक अस्पतालका प्रमुख डा. किरण तिवारीले जानकारी दिनुभयो ।

रक्त सञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स÷प्लाज्मा) नपाइँदा अस्पतालले जटिल प्रकारको समस्या देखिएर सेतो रगत चाहिने बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता अबको एक महिनामा हट्ने बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङ स्थित रक्तसञ्चार केन्द्रलाई दुई वर्ष अघि दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रिफ्युज) जनशक्ति, जडान, पूर्वाधारका लागि आर्थिक अभावमा प्रयोगमा आउन सकेको थिएन । प्रदेश सरकारको रु. पन्ध्र लाख र बागलुङ नगरपालिकाको रु. पाँच लाख, जैमिनी नगरपालिकाको रु. तीन लाख, गलकोट नगरपालिकाको रु. दुई लाख र बरेङ गाउँपालिकाको रु. एक लाख ५० हजार गरी रु.२६ लाख ५० हजार लागतमा उपकरणहरु खरिद भइसकेको छ ।

उपकरण आएपनि प्रयोगशाला निर्माण गर्न नसक्दा रोकिएको काममा बागलुङ समाज जापानले रु. १३ लाख ५० हजार नगद सहयोग पछि प्रयोगशाला बनाउन शुरु गरिएको छ ।

सोमबार बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव दीपक कँडेलले रेडक्रस बागलुङका सभापति जगन्नाथ आचार्यलाई पूर्वाधार बनाउन रु. १३ लाख ५० हजारको चेक हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकमबाट वातावरण अनुकुलित कोठा, जनशक्तिलाई तालिम तथा अन्य पूर्वाधार बनाउन खर्चने आचार्यको भनाई छ ।

विशेषगरी डेङ्गीको सङ्क्रमण भई सेतो रगतको मात्रा घटेका, सर्पदंश टोक्दा, शल्यक्रिया गर्दा, अत्याधिक रक्तस्राव भएका बिरामीलाई समेत सेतो रगत आवश्यक पर्ने धौलागिरी अस्पतालका प्रमुख डा. किरण तिवारीले जानकारी दिनुभयो । उहाँले सेतो रगतकै कारण उपचार सम्भव हुने बिरामीलाई समेत पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता अन्त्य हुने जानकारी दिनुभयो । बिरामीको अवस्था हेरेर र ३० हजारभन्दा तल प्लेटलेट्स भएमा सेतो रगतको आवश्यकता हुने गर्दछ ।