• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday

देशको संकट व्यवस्थापन गर्न प्रचण्डको भूमिका महत्वपूर्ण छ : नेता बुढा

बागलुङ । नेपाली कम्युनिष्ट पार्टीका महाधिवेशन आयोजक समितिका केन्द्र सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ले देशको संकटलाई उचित व्यवस्थापन गर्न प्रचण्डले महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । बिहीबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले माओवादी केन्द्रले धेरै वर्ष अगाडिदेखि नै अहिले जेन्जी उठाएको मुद्धा उठाउँदै आएको बताउनु भयो ।

नेपाली कम्युनिष्ट पार्टी गठनपछि बागलुङमा मंसिर १० गते पहिलो बैठक बसिएको थियो । बैठकको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पार्टीको प्रदेशले पूर्णता पाएपछि जिल्ला र जिल्ला पछि स्थानीय तह र वडा सम्मै समिति विस्तार गरिने उहाँले बताउनु भयो । भदौ २३ र २४ को घटना पछि प्रचण्ड र माधव नेपालले खेलेको भूमिकाका कारण अवस्था सामान्य र व्यवस्थित हुँदै गएको भन्दै उहाँले अफ्ट्यारोमा जुट्नुको विकल्प नरहेको बताउनु भयो ।

पत्रकार सम्मेलनमा पार्टी एकताको सन्देशका लागि मंसिर १४ गते पोखरामा आयोजना गरिएको कार्यक्रमका लागि जिल्लाबाट १ हजार भन्दा बढी कार्यकर्ता सम्मेलित गराउने र विस्तारै जिल्ला र पालिका स्तरमा समेत कार्यक्रम गर्ने तयारी गरिएको बताइएको छ ।

उहाँले सबै दल चुनावमा केन्द्रित हुनु पर्ने बताउनु भयो । चुनावपछि मात्रै देशमा शान्ति, सुरक्षा र स्थिरता कायम हुने उहाँको भनाई थियो । पत्रकार सम्मेलन नेपाली कम्युनिष्ट पार्टी बागलुङका नेता पिङ्कलराज गौतमको अध्यक्षता र प्रकाश घर्तीको संचालनमा सम्पन्न भएको थियो ।