• २०८३ आश्विन २३, शुक्रबार
  • 2026 October 09, Friday

एमाले महाधिवेशन प्रतिनिधिका लागि बागलुङ २ मा ४ जना सर्वसम्मत

बागलुङ । नेकपा एमालेको एघारौ महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्ने ४ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. २ बागलुङले बुधवार ग्वालीचौरमा आयोजना गरेको बैठकमा १३ जनाले दावी प्रस्तुत गरेका थिए । दावी प्रस्तुत गरेकाहरुबीचको छलफलपछि ४ जना सर्वसम्मत भएका हुन ।

क्षेत्र नं. २ बाट महिलातर्फ करमती पुन मगर, खुल्लातर्फ भीम प्रसाद शेरचन (सुनिल) र टंक प्रसाद पौडेल तथा युवा तर्फबाट दान बहादुर श्रीस सर्वसम्मत प्रतिनिधि भएको एमाले जनाएको छ ।

बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधित्व गर्ने ६ जना महाधिवेशन प्रतिनिधिका लागि ३९ जनाले आवेदन दिएका छन् । निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. १ बागलुङले बुधवार आयोजना गरेको बैठकमा ३९ जनाले दावी प्रस्तुत गरेका थिए ।

दावी गरेका खुल्ला, महिला र युवा तर्फका उमेदवारहरुका बीच आज दिनभर छलफल भएपनि सर्वसम्मत हुन नसकेको एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।

दावी प्रस्तुत गरेका सबैका बीचमा छुट्टा छुट्टै कलष्टरमा छलफल भयो, सर्वसम्मत गराउने विषयमा सबै सकारात्मक देखिनु भएको छ, अध्यक्ष केसीले भन्नुभयो,–‘भोली मंसिर १२ गतेसम्म छलफल गछौ, सहमति नभएमा १३ गते शनिवार निर्वाचन नै हुन्छ ।’

क्षेत्र नं. १ बाट खुल्लातर्फ ३ जना प्रतिनिधिका लागि २२ जना, महिलातर्फ २ जनाका लागि ७ जना र युवातर्फ एक जनाका लागि १० जनाले दावी प्रस्तुत गरेको निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नं. १ का संयोजक धन बहादुर परियारले जानकारी दिनुभयो ।