म्याग्दी । म्याग्दीको विद्योदय आधारभूत विद्यालयका शिक्षक विद्यार्थीका लागि एक हप्तो योग शिविर सञ्चालन गरिएको छ । आइतबारबाट विद्यालय प्राङगढमै शिविर सुरु भएको हो । बेनी नगरपालिका वडा नम्बर १० वाखेतस्थित विद्योदय आधारभूत विद्यालयका ५ देखि ८ कक्षा सम्मका विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिको समेत सहभागीता रहेको छ ।

शिविरको पहिलो दिन बेनी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मस्बिर रोकाले विद्यार्थीको शरिरीक मानसिक र वौद्धिक विकासका लागि योग जरुरी रहेको बताउनु भएको थियो । उहाँले शिविरले विद्यार्थीको शरिरिकसँगै विद्यालयको शैक्षिक सुधारमा समेत टेवा पुग्ने अपेक्षा लिएको बताउनु भएको थियो ।

शिविरमा योग प्रशिक्ष, महिला पतञ्जली योग समिति बागलुङका महामन्त्री सिर्जना पन्तको उपस्थिती रहेको छ । पन्तले योग सहभागीलाई योगका विभिन्न आशन, ध्यान र प्रणायम सिकाउने विद्यालयका प्रधानध्यापक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

गरौँ योग, बनौँ निरोग’ भन्ने प्रेरणादायी नारासहित आयोजना गरिएको यो शिविर मंसिर १४ देखि १९ गतेसम्म विद्यालयको खेलमैदानमा बिहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुनेछ ।
प्रशिक्षक पन्तले योग, ध्यान र प्रणायमका विधीबाट विद्यार्थीलाई स्मरण शक्ती, एकाग्रता, अनुशासन, स्वनियन्त्रण, सकारात्मक सोच सम्बन्धी उत्प्रेरणा प्रदान गर्ने बताउनु भएको छ । उहाँले शिक्षक, अभिभावकसँगै समुदायले समेत बालबालिकामा सकारात्मक उर्जाको प्रवाह गरेर रचनात्मक कार्यका लागि मार्ग प्रशस्त गर्न सहयोग गर्नु पर्ने भन्दै शिविर सहयोगी हुने बताउनु भयो ।

विद्यालयकी सूचना अधिकारी अमृता जिसी रोकाका अनुसार स्वास्थ्य तथा शारीरिक शिक्षाको अनिवार्य अभ्यासका रूपमा यस पटक प्रयोगात्मक योग, ध्यान तथा स्वस्थ जीवनशैलीसम्बन्धी सिप सिकाइलाई विशेष प्राथमिकता दिइएको छ । “व्यावहारिक सिकाइ, स्वास्थ्य सचेतना र अनुशासन अभिवृद्धिमा यो शिविर अत्यन्त उपयोगी बन्नेछ,” उहाँले बताउनुभयो।
शिविरमा विद्यार्थी, अभिभावक, शिक्षक तथा जनप्रतिनिधी गरी करिब ६० जना सहभागीता रहेको छ । विद्योदय आधारभूत विद्यालयले शिक्षासँगै स्वास्थ्य, जीवनशैली र संस्कार विकासमा जोड दिएर विद्यालयलाई सक्षम, सक्रिय र संस्कारित सिकाइ केन्द्रका रूपमा स्थापित गर्ने अभियान निरन्तर अघि बढाइरहेको छ ।
