प्रविधिको सहि प्रयोग गरौं, लैंगिक हिंसा अन्त गरौं भन्ने नाराका साथ सुरु भएको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान बुधबार सिंगाना पुगेको छ ।
बागलुङ नगरपालिकामा रहेको हिंसा प्रभावित सेवा केन्द्रको आयोजना र लैंगिक हिंसा न्यूनिकरणका लागि वडास्तरीय निगरानी समितिको संयोजनमा नगरका १४ वटै वडाहरुमा अभियान संचालन गर्ने निर्णय अनुसार बुधबार ८ नं. वडा कार्यालयमा सरोकारवालाहरुवीच अन्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर उप प्रमुख एवं हिंसा प्रभावितहरुको सेवा केन्द्र व्यवस्थापन समितिका संयोजक राजु खड्काले नेपालको संविधानमा नै हिंसा बिरुद्धको हकलाई मौलिक हकका रुपमा राखिएको र महिला बिरुद्धको कुनै पनि प्रकारको हिंसालाई कानुनद्धारा दण्डनीय हुने भनी उल्लेख भएको बताउदै हिंसा अन्तका लागि कानुन कार्यान्यन र समुदायमा काननी सचेतना जरुरी रहेको बताउनु भयो । बागलुङ नगरपालिकाले धौलागिरी अस्पतालको ओसिएमसी, जिल्ला प्रहरी कार्यालयको महिला शाखासंग समन्वय गरी सेवा केन्द्रको प्रभावकारी कार्य सम्पादनका लागि वडास्तरमा निगरानी समिति गठन गरेको छ ।
बिद्यालयका लैंगिक सम्पर्क शिक्षक तथा सामुदायिक स्वास्थ्य स्वंयमसेविकाहरुको समेत सहभागितामा हिंसा न्यूनिकरणका लागि योजना बनाइएको उप प्रमुख खड्काको भनाई छ । कार्यक्रममा बागलुङ नगरपालिकाको सेवा केन्द्रको कार्यप्रगति बारे महिला शाखा प्रमुख रचना आचार्य, ओसिएमसीले गर्ने कार्यहरुबारे डा.संदिप के.सी र जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका शाखाले गर्ने कार्य र बिद्यृतिय अपराधबारे प्रहरी सहायक निरिक्षक श्रद्धा कुंवर र मनोसामाजिक परामर्शकर्ता योगराज कडेलले मानसिक स्वास्थ्यबारे सहभागिलाई जानकारी गराउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष छम बहादुर कार्कि, निगरानी समिति संयोजक ज्योती नेपाली लगायत सहभागिहरुले धारणा राख्नु भएको थियो । घरेलु हिंसा, बाल बिवाह, दुव्र्यसनी र प्रविधिको गलत प्रयोगबारे सहभागिहरुले चासोका साथ छलफल गर्नु भएको थियो । यस अगाडीको अभियान बानपा ५ को मालिका र बानपा ७ को वडा कार्यालयमा कार्यक्रम सम्पन्न भएको छ ।