बागलुङ । सर्वाधिक पुरस्कार राशिको तेस्रो मेयरकपको उपाधि आयोजक बागलुङ नगरपालिका निलोले चुम्न सफल भएको छ ।

आइतवारदेखि बागलुङ नगरपालिका–१ रामरेखा स्थित बाङ्गेचौर खेल मैदानमा बागलुङ नगरपालिकाको आयोजनामा शुरु भएको मेयरकपको बिहिबार भएको फाइनल खेलमा आयोजक बागलुङ नगरपालिका निलोले पर्वतको पैंयुँ गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाको तर्फबाट जर्सी नम्बर १४ का खेलाडी मनिष ठकुरीले तीन गोल गर्न सफल भएका थिए । ह्याट्रिक गरेका मनिषले पहिलो हाफको ३८ औं मिनेटमा पहिलो गोल गरेर खेललाई अग्रता दिलाएका थिए । दोश्रो हाफको ४२ औं मिनेट र इन्जुरी टाइममा गोल थपेर मनिष उत्कृष्ट खेलाडी समेत घोषित भए । मनिषले उत्कृष्ट खेलाडीबापत रु. १० हजार समेत प्राप्त गरेका थिए ।

इन्जुरी समयमै बागलुङ नगरपालिकाका खेलाडी जर्सी नम्बर १० का राजिव श्रीषले एक गोल थपेर खेललाई ४–० मा पु¥याएपछि पैंयँु गाउँपालिका स्तब्ध भएको थियो ।
उपाधि चुमेको बागलुङ नगरपालिकाले रु. ३ लाख ३३ हजार ट्रफी र मेडल हात पा¥यो भने पर्वतको पैयुँ गाउँपालिकाले रु. २ लाख २२ हजारमा ट्रफी र मेडलमा चित्त बुझाएको थियो । पाँच दिन सम्म चलेको प्रतियोगितामा विभिन्न पालिका र नेपाली सेना र नेपाल प्रहरी सहित १० समूहको सहभागिता रहेको थियो ।

खेलाडी उत्पादनका लागि खेल क्षेत्रलाई प्रोत्साहन गर्न मेयरकप आयोजना गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठले बागलुङको नाम चिनाउने खेल क्षेत्र प्रमुख माध्यम बनाउनेगरी नगरपालिकाले खेल क्षेत्रलाई प्रोत्साहन गरेको बताउनुभयो ।
प्रतियोगितामा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी लगायका विधागत पुरस्कार समेत प्रदान गरिएको थियो । प्रतियोगितामा रु. २० लाख खर्च भएको छ ।
