• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

बलेवाका रिजालले फलाएको किवी पोखरामा

बागलुङ । मिठ्ठो गुलियो, अमिलो अमिलो । पहिलो पटक खाँदा टक्क जिब्रोमै स्वाद अडिएपछि बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटाका महेन्द्र रिजाललाई ‘किबी’ आफ्नो बारीमा लगाउँदा फल्ला कि नफल्ला भन्ने लागेको थियो ।

हाइड्रोपावरका जागिरे ३५ वर्षीय रिजालले जागिरको शिलशिलामा दोलखा र इलाम पुग्दा किबीको बोट देख्नु भएको हो । त्यसपछि उहाँले कृषि विज्ञलाई आफ्नो भूगोल र किबी लगाउने इच्छा व्यक्त गर्नु भयो ।

२०७३ सालमा विज्ञहरुकै सल्लाह अनुसार काभ्रेपलान्चोकदेखि विरुवा ल्याएर रोपेका रिजालका किबीका बोटले अहिले २ हजार केजी भन्दा बढी उत्पादन दिन्छन् । रिजालको ८ रोपनी जमिनमा १ सय ५ वटा किबीका बोट छन् । यो सिजनमा मात्र रिजालले ग्रेडिङ गरेको १५ सय केजी किबी विक्रि गर्नु भएको छ ।

उहाँले उत्पादन गर्नु भएको किबी पोखरामा विक्रि हुन्छ । पोखराको विरौटामा रहेको हेम चन्द्र प्राइभेट लिमिटेडबाट रिजालको फममा उत्पादन भएको किवी विक्री हुँदै आएको छ । ग्रेडिङ गरेको किवी प्रतिकेजी १ सय ८० देखि २ सय रुपैयाँ सम्ममा विक्री गरेको उहाँले बताउनु भयो । किवी खरिद गर्नका लागि फर्ममै व्यवसायीहरु आउने गरेको उहाँको भनाई छ ।

सामान्य आकारका ५ सय किबी विक्रिका लागि तयार रहेको उहाँले बताउनु भयो । बलेवाको भैरवस्थान मन्दिर जाने बाटोको नजिकै काभ्रेडाँडा भन्ने स्थानमा रिजालको किबी बगान छ । उहाँले बागलुङ नगरपालिका र पर्यटन तथा उद्योग कार्यालय बागलुङमा रिजाल कृर्षी तरकारी तथा फलफूल फर्म दर्ता गर्नु भएको छ ।

विरुवा लगाएको ३ वर्षमै उत्पादन दिन सुरु गरेको भन्दै रिजालले वार्षिक २ लाख भन्दा बढी आम्दानी हुने गरेको बताउनु भयो । काँटछाँट गर्दा र जैविक मलको प्रयोग गर्दा वर्षको २ पटक समय दिए पुग्ने किवी खेती गर्दा धेरै दुख समेत नहुने उहाँको भनाई छ ।

रिजालले किवी खेतीका लागि हालसम्म ७ लाख रुपैयाँ लगानी गर्नु भएको छ । संरचना निर्माणका लागि कृषि ज्ञान केन्द्रबाट २०७५ सालमा ५० प्रतिशत अनुदानमा २ लाख ५० हजार रुपैयाँ अनुदान प्राप्त गरेको उहाँले बताउनु भयो ।

स्वथवद्र्धक फलफूलको रुपमा चिनिएको किबी खाँदा छाला सुन्दर हुने, राम्रो निद्रा पर्ने, मुटुको रोग लाग्न नदिने, मृगौलाको पथ्थरीका विरामीका लागि लाभदायक हुने, मृगौलाको पथ्थरी, उच्च रक्तचाप नियन्त्रण र कब्जियतका विरामीका लागि समेत लाभदायक मानिन्छ ।

रिजालको फर्ममा किवीमात्र होइन, बोइलर कुखुरा पनि छन् । हाल उहाँको फर्ममा ५ सय बोइलर कुखुरा रहेको उहाँले बताउनु भयो । जागिरसँगै बचेको समयलाई व्यवसायीक कृषि कर्मममा लगाउने गरेको रिजाललले बताउनु भयो ।