समाचार विश्लेषण । मुलुकको प्रमुख दल नेकपा एमालेको सिंगो पंक्ति यतिबेला एघारौँ महाधिवेशन केन्द्रीत भएको छ । यही मंसिर २७ देखि २९ सम्म भक्तपुरमा उद्घाटन र काठमाडौंमा बन्दसत्र हुने महाधिवेशनका लागि देशभर प्रतिनिधि चयन भइसकेका छन् ।
केन्द्रमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल प्यानल बनाएरै निर्वाचनमा प्रतिस्पर्धा गर्ने संभावनलाई मध्यनजर गरेर दुवै पक्षले प्रतिनिधि आफु अनुकुल बनाउन निकै जोडबल गरेका थिए । गण्डकी प्रदेशमा माथि ओलीलाई नै अध्यक्ष बनाउन लागेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटि सदस्य खगराज अधिकारीबीच नै प्रतिस्पर्धा देखियो । प्राय सबै ठाउँमा प्रष्ट रुपमा दुइ खेमाका नेताहरुको सक्रियतामा प्रतिनिधि चयन प्रक्रिया सकिएको छ ।
जेन जी आन्दोलनको अघिल्लो दिन सकिएको एमालेको दोस्रो विधान महाधिवेशनको सन्देश केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउने निष्कर्षका साथ नै सम्पन्न थियो । अध्यक्षमा अर्को उमेदवार नै नहुने, ओली सर्वसम्मत अध्यक्ष हुने र ओलीले घोषणा गरेकै टिम केन्द्रीय समिति निर्वाचित हुने निश्चित प्राय भएको थियो । तर जेन जी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजिनामा दिएर गुण्डुमा बस्दै आएका ओलीलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सहयोगमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले चुनौती दिने तयारी गरेका छन् ।
विधान महाधिवेशनबाट २ कार्यकाल भन्दा बढी एउटै पदमा बस्न नपाइने व्यवस्था र ७० वर्षे उमेर हद हटाएर निर्विकल्प अध्यक्ष बन्ने डिजाइनमा रहेका ओलीलाई त्यही ७० वर्षे उमेर हदले सर्वसम्मत अध्यक्ष हुन नदिने अवस्था सिर्जना गरेको छ । ७० वर्षे उमेर हद कायम रहेको हुन्थ्यो भने ओली र पोखरेल दुवै जना स्वत कार्यकारी पदमा उमेदवार बन्न पाउने थिएनन् ।
राष्ट्रपति पदबाट बाहिरिएसंगै एमालेको राजनीतिमा सक्रिय हुन खोजेकी विद्यादेवी भण्डारीको नविकरण भइसकेको सदस्यताको विवाद निकालेर केन्द्रीय कमिटि मार्फत नविकरण रोक्ने निर्णय समेत ओलीका लागि चुनौती बन्दै गएको छ ।
यद्यपी आगामी महाधिवेशनबाट अध्यक्षमा केपी ओली नै निर्वाचित हुने थुप्रै आधारहरु छन् । केन्द्रीय कमिटि, जनवर्गीय संगठन, विभाग र केन्द्रीय निकायबाट ठुलो संख्यामा प्रतिनिधि चयन हुने भएकाले र देशभर ओलीको गुट बलियो समेत भएकाले पनि अध्यक्ष निर्वाचित हुने निश्चित प्राय नै छ ।
ओलीले दशौ महाधिवेशनमा घोषणा गरेका कारण निर्वाचनमा प्रतिस्पर्धा नै नगरी केन्द्रीय सदस्य भएकाहरु, निकायका पदाधिकारी सदस्य भएकाहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले ओलीलाई अध्यक्षमा निर्वाचित हुन सहज भएको एक केन्द्रीय सदस्यले बताए । भुगोल समग्र ओलीको विपक्षमा हुदा पनि पदेन प्रतिनिधिहरुकै बहुमत पुग्ने उनको भनाइ छ ।
जेन जी आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजिनामा दिएका ओलीलाई अध्यक्षबाट हटाउन संस्थापन इतर पक्ष जोडतोडले लागेको छ । यद्यपी संस्थापन पक्षले अहिले नै ओलीलाई हटाउदा गलत सन्देश जाने निष्कर्षका साथ नेता कार्यकर्तालाई अध्यक्षमा ओलीलाई नै तेह्राउन सुझाव दिदै आएका छन् ।
अध्यक्षमा ओली त निर्वाचित होलान्, तर दुइ समुहबीच प्रतिस्पर्धा भयो भने ओली नजिकका केही मान्छेहरुलाई तार्गेट गरेर हराउने अवस्था आउन सक्ने समेत एमाले वृतमा चर्चा छ । विशेष गरी महासचिव शंकर पोखरेल लगायत केही नेताहरुलाई केन्द्रीत गरेर ओली समुह भित्रबाटै हराउने खेल हुन सक्ने विषयमा चिया चर्चा हुन थालेको हो । नवौ महाधिवेशनबाट ओली अध्यक्ष निर्वाचित हुदा उपमहासचिवमा शंकर पोखरेल पराजित भएका थिए ।
ओलीलाई सैद्धान्तिक तथा संगठनात्मक रुपमा निरन्तर साथ दिदै आएका र ओली पछिको अध्यक्षको संभावना भएका कारण पनि पोखरेललाई ओली खेमा भित्रैबाट असहयोग हुन सक्ने अवस्था रहेको छ । निरन्तर ओलीको विकल्प छैन भन्दै आएका उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङले शंकर पोखरेललाई प्रतिस्पर्धी ठान्छन्, उनीहरु अध्यक्ष ओलीलाई नै बनाउदा आफ्नो भूमिका बढाउन र शंकरको भूमिका घटाउन एकतावद्ध भएर अगाडि बढ्न सक्ने संभावनाका बारेमा शंकर पोखरेल कोटरीमा पनि चर्चा हुने गर्छ । यद्यपी ओलीले पोखरेल, पौडेल र गुरुङसंगै प्रदिप ज्ञवालीलाई समेत मिलाएर अगाडि बढ्ने ओली समुहका नेताहरुको भनाइ छ । ज्ञवालीलाई महासचिव र अरु तीन जनालाई उपाध्यक्ष बनाएर जाने विषयमा सहमति भइसकेको समेत जानकारहरु बताउछन् ।
केपी ओली र इश्वर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धामा होमिदा धेरै नेताहरु यता उता हुन सक्ने आंकलन पनि गर्न थालिएको छ । आज ओलीसंग रहेका नेताहरु इश्वरतिर जाने र इश्वरतिर रहेकाहरु अन्तिम समयमा ओली तिर जान सक्ने संभावना पनि उत्तिकै छ । यद्यपी ओली समुह बलियो भएका कारण पनि धेरै नेताहरु त्यतै लाग्ने अवस्था भने छ । ओलीलाई क्रस गर्न नसकिने भएपछि ओली भित्रकै एउटा समुह ओलीका खास मान्छेहरुलाई रोक्ने अभियानमा लाग्ने अवस्था देखिएकाले ओलीको आर्शिवादमा पदाधिकारीदेखि केन्द्रीय सदस्य बन्ने लालसा राखेका केही नेताहरुको दौडधुप चर्को रहेको देखिन्छ ।
प्रतिस्पर्धाबाट भन्दा पनि ओलीको आर्शिवादबाट नेता भएकाहरु, जिम्मेवारी पाएकाहरु यतिबेला जसरी पनि सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने पक्षमा छन् । दशौ महाधिवेशनमा सजिलै केन्द्रीय सदस्य, पदाधिकारी भएकाहरुलाई दुइ समुहबीच प्रतिस्पर्धा भयो भने आगामी महाधिवेशन त्यति सहज नहुने अवस्था दिन प्रतिदिन बढ्दै गएको छ । यद्यपी दुइ समुहबीच प्रतिस्पर्धा हुदा टिममा पर्न सहज हुने पनि केहीको बुझाइ छ ।
बागलुङमा एमाले ?
पञ्चायतकालमा बागलुङमा नेकपा एमाले (तत्कालिन माले) को संगठन ठिक्क कै थियो । संगठन त थियो तर बामपन्थी जनमत नेकपा मसाल र नेकपा मशालतर्फ अलि बढी प्रभावित थियो । २०४६ सालको परिवर्तनपछि बागलुङमा नेकपा मालेको संगठन अगाडि बढाउन कास्कीका शिव पौडेललाई जिल्ला सचिव बनाएर ल्याइएको थियो । २०४७ असारमा बागलुङ आएका पौडेलले गोविन्द अधिकारी, रामजी शर्मा, मोहनलाल शर्मा लगायतहरुसंग सहकार्य गरेर संगठन विस्तार अभियान चलाएका थिए । पौडेल सचिव रहेकै समयमा २०४७ पुस तेस्रो साता नेकपा माले र माक्र्सवादी मिलेर एमाले बनेको थियो । २०४८ को आम निर्वाचनमा उमेदवार सिफारिसदेखि सम्पूर्ण खटन पटनको जिम्मेवारी शिव पौडेलले नै गरेका थिए । २०४८ सालको आम निर्वाचनमा नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ बाट गोविन्द अधिकारी, २ बाट कृष्ण पाठक र ३ बाट मोहनलाल शर्मालाई उमेदवार बनाएको थियो ।
संगठन निर्माणको त्यो प्रारम्भिक चुनावमा उमेदवार बनेका मध्ये अधिकारी २०५१ को मध्यावधी निर्वाचनमा सांसद भए, मोहनलाल शर्मा २०५४ को स्थानीय तह निर्वाचनमा जिल्ला विकास समितिका उप–सभापति भए, कृष्ण पाठक हाल गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री छन् ।
शिव पौडेलको जिम्मेवारीमा मुस्ताङबाट गणेश तिमिल्सिना आए, उनले पनि करिव डेढ वर्ष जिल्ला सचिवका रुपमा बागलुङको संगठन निर्माणमा योगदान गरे । त्यसपछि गोविन्द अधिकारी, रामजी शर्मा, श्रीप्रसाद शर्मा, जनक पौडेल, इन्द्रलाल सापकोटा हुदै अहिले हिरा बहादुर केसी जिल्लाको पार्टी प्रमुख छन् ।
बागलुङबाट एमालेको केन्द्रमा नेतृत्व गर्नेमा रामजी प्रसाद शर्मा पर्दछन् । उनी सातौ महाधिवेशन पछि वैकल्पिक केन्द्रीय सदस्य थिए । आठौमा बुटवलमा भएको महाधिवेशनमा धौलागिरी भुगोलबाट गणेश तिमिल्सिनासंग प्रतिस्पर्धामा उनी पराजित भए । आठौ महाधिवेशनमा केन्द्रीय सदस्य नभएको बागलुङले नवौ महाधिवेशनमा २ जना वैकल्पिक केन्द्रीय सदस्य पायो ।
केपी ओली र माधव नेपालले प्यानल नै बनाएर निर्वाचनमा होमिएको त्यो महाधिवेशनमा मोहनलाल शर्मा, जनक पौडेल, गोविन्द बहादुर नेपाली र मन कुमारी केसी जिसी बैकल्पिक केन्द्रीय सदस्यमा ओली समुहबाट उमेदवार बनेका थिए । दलित कोटाबाट उमेदवार बनेका नेपाली र महिला कोटाबाट उमेदवार बनेकी केसी बैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित हुदा शर्मा र पौडेल पराजित भए । नेपाली र केसी एघारौमा पनि दलित र महिला कोटाबाटै केन्द्रीय सदस्य बन्ने दौडमा देखिन्छन् ।
माधव नेपाल समुहबाट रामजी शर्माको चर्चा भए पनि धौलागिरी भुगोलका तर्फबाट इन्द्रलाल सापकोटा उमेदवार बनेका थिए, उनी गणेश तिमिल्सिनासंग पराजित भए । अहिलेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी ओली र माधव समुह बाहेक स्वतन्त्र भन्दै उमेदवार बनेका थिए ।
एमालेको नवौ महाधिवेशनसम्म बागलुङले बैकल्पिक केन्द्रीय सदस्य भन्दा माथि जिम्मेवारी पाउन सकेको थिएन । रामजी प्रसाद शर्मा, मन कुमारी केसी र गोविन्द बहादुर नेपाली त्यतिबेलासम्म बैकल्पिक केन्द्रीय सदस्य बनेका थिए । २०७५ जेठमा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाको केन्द्रीय नेतृत्वमा भने बागलुङको राम्रै उपस्थिति थियो ।
माओवादीका तर्फबाट केन्द्रीय सदस्य रहेकाहरु देवेन्द्र पौडेल, लिला बहादुर थापा, कृष्ण केसी, बलावती शर्मा, कृष्ण बहादुर केसी सहित ठुलै संख्यामा केन्द्रीय नेता बागलुङको भुगोलमा ठोक्किन्थे । एकीकरणको समयमा वैकल्पिक हटाएर पूर्ण केन्द्रीय सदस्य बनाउने क्रममा मन कुमारी केसी जिसी र गोविन्द बहादुर नेपाली पनि पूर्ण केन्द्रीय सदस्य बनेका थिए ।
नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका इन्द्रलाल सापकोटा जिल्ला फर्केर अध्यक्ष र प्रदेश सांसद बने, जनक पौडेल बागलुङ नगरपालिकाको मेयर बने । २०७७ पुस ५ गते केपी ओलीले संसद विघटन गरेपछि उत्पन्न विवादका कारण नेकपा खारेज भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र यथावत हुने सर्वोच्च अदालतको फैसला पछि लिला बहादुर थापा र कृष्ण बहादुर केसी एमालेमै रहे । थापा, केसी सहित नेपाली र केसी ४ जना केन्द्रीय सदस्यको बागलुङबाट प्रतिनिधित्व भयो ।
२०७८ मंसिरमा एमालेको दशौ महाधिवेशन भयो, दशौ महाधिवेशनमा अध्यक्ष केपी ओलीले आफ्नो टिमको नाम घोषणा गरे । मैले मेरो टिम घोषणा गर्छु, चित्त नबुझ्नेहरु उमेदवार बन्न सक्छन् ? भन्दै ओलीले फर्मान जारी गरेपछि उमेदवारीका लागि तयारी अवस्थामा रहेका धेरैले उमेदवारी नै दर्ता गरेनन् । त्यो बेला ओलीले घोषणा गरेको भन्दा बाहिरबाट कमिटिमा छिर्न सक्ने अवस्था थिएन । अध्यक्षमा भीम रावल सहित केही पदमा नाम मात्रैको चुनाव भयो । ओलीले घोषणा गरेको केन्द्रीय कमिटि सत प्रतिशत विजयी भएको घोषणा गरियो ।
त्यो महाधिवेशनमा ओलीले घोषणा गरेका केन्द्रीय सदस्यमा बागलुङबाट ७ जना पर्न सफल भए । लिला बहादुर थापा मगर, मन कुमारी केसी जिसी, गोविन्द बहादुर नेपाली, इन्द्रलाल सापकोटा, डा.सूर्य पाठक, सावित्रा राना र कृष्ण बहादुर केसी एमालेको केन्द्रीय सदस्य बने । बागलुङबाट ७ जना केन्द्रीय सदस्य बन्दा छिमेकी जिल्ला पर्वतबाट पदम गिरी, कल्पना चापागाई र मनोहर बि पौडेल तथा म्याग्दीबाट थममाया थापा, भूपेन्द्र बहादुर थापा र नरदेवी पुन केन्द्रीय सदस्य भए ।
पछि लिला बहादुर थापा र मन कुमारी केसी पोलिटव्यूरो सदस्य चयन भए । २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट विद्रोह गरेकी मञ्जु शर्मा चालिसे एमाले प्रवेश गरेपछि २०८० असोजमा गण्डकी प्रदेश कमिटिमा निर्वाचित भएकी थिइन, उनलाई पछि एमाले अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनित गरे । एमालेको वर्तमान केन्द्रीय कमिटिमा बागलुङबाट ८ जना नेताको प्रतिनिधित्व छ ।
एमालेको यही मंसिरको २७ गतेदेखि हुने ११ औं महाधिवेशनका लागि ८ जना केन्द्रीय सदस्य स्वत प्रतिनिधि भएका छन् । प्रतिनिधि मात्रै होइन, साविकको पद कायमै राख्नका लागि ८ जनाकै दौडधुप बढेको देखिन्छ । तल आफु नजिकका प्रतिनिधि चयन गर्न सबैको जोडतोड रहेकै थियो । माथि नेतालाई आफ्नो पक्षमा पार्न सबैको दौडधुप चलेकै छ ।
एमालेको दोस्रो विधान महाधिवेशनले केन्द्रीय कमिटिको संख्या घटाएको छ । ३७१ जना रहेको कमिटिको संख्या अब २५१ सदस्यीय बन्ने भएको छ । त्यो कमिटिमा पर्नका लागि उनीहरुको सक्रियता बढ्नु स्वभाविक नै छ । हाल केन्द्रीय सदस्य रहेकाहरु भित्रबाट मात्रै नया केन्द्रीय कमिटि चयन गर्दा पनि सवा सय जना बाहिरिने अवस्था रहेको छ ।
११ औं महाधिवेशनमा दशौमा जस्तो ओलीले नाम पढेपछि पद पाइने अवस्था नरहने संकेत शुरु भएको छ । दशौ महाधिवेशनमा ओलीलाई प्रभावकारी टक्कर थिएन, ओलीले जे भन्यो त्यही हुने अवस्था थियो, यतिबेला पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दा दुइ समुहबीच निर्वाचन हुन सक्ने आंकलन गरिएको छ । यद्यपी इश्वर पोखरेललाई नै ओलीले मनाउन सक्ने विषय पनि उत्तिकै संभावना नजिक छ ।
केन्द्रीय सदस्यमा निर्वाचन हुदा दशौमा जस्तो सहजै केन्द्रीय कमिटिमा विजयी हुने अवस्था नभएका कारण पनि नेताहरुका लागि चुनौती थपिएको छ र उनीहरु टिममा पर्नका लागि दौडधुप गरिरहेकै छन् ।
राजनीति अचम्मको हुन्छ, नवौ महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा उमेदवार बनेका गोविन्द नेपाली जिल्ला सचिव र मन केसी जिल्ला उपसचिव थिए । एमाले बागलुङका संस्थापक मोहनलाल शर्मा वैकल्पिक केन्द्रीय सदस्यमा पराजित भए । नेपाली र केसी भन्दा पहिला जिल्ला अध्यक्ष भइसकेका जनक पौडेल वैकल्पिक केन्द्रीय सदस्यमा पराजित भए, केन्द्रमा मात्र होइन, २०८० मा भएको प्रथम प्रदेश अधिवेशनमा खुल्ला प्रदेश सदस्यमा पनि पराजित भए ।
जनक पौडेल पनि केन्द्रीय सदस्यका लागि मनस्थिति बनाएका थिए, तर निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्ने क्रममा सर्वसम्मतका नाममा पौडेल प्रतिनिधिमै परेनन् । गुटकै नेताले अविश्वास गरेका कारण प्रतिनिधिन बन्न नसकेका पौडेललाई मनोनित गर्नु पर्ने विषयमा पनि छलफल चलेको बताइन्छ । कुनै दिन गुटलाई काली गण्डकीमा बगायौ भनेर मेयरसंग गुट साटेका पौडेललाई यतिबेला त्यही गुट भारी भएको छ ।
जिल्ला अध्यक्ष केसी युवाको प्रतिनिधित्वका लागि आफु उमेदवार बन्ने मुडमा देखिन्छन्, केन्द्रीय सदस्यमा उमेदवार बनेपछि जिल्ला अध्यक्ष स्वतः जाने भएकाले केसी पनि धरमरको अवस्थामै रहेको बुझ्न सकिन्छ । हालको केन्द्रीय कमिटिमै रहेका ८ जना सहित बागलुङका नेताहरु एघारौ महाधिवेशनमा उमेदवार बन्ने बारेमा आन्तरिक छलफलमा छन् ।
बागलुङका ८ केन्द्रीय सदस्यहरुको अवस्था :
१. लिला बहादुर थापा मगर (पोलिटव्यूरो सदस्य)
२०५४ सालको स्थानीय निकायको निर्वाचनमा एमाले र राजमोबीचको सहकार्यमा जिल्ला विकास समितिका सभापति बनेपछि राजनीतिक रुपमा चर्चामा आएका थापा पदमा रहीरहन चाहने नेतामा पर्दछन् । राष्ट्रिय जनमोर्चाका नेता रहेका थापा त्यहाबाट विद्रोह गरेर नेकपा एकीकृत पार्टीमा सक्रिय भए । २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र न. २ बाट एमालेसंगको सहकार्यमा नेकपा एकीकृतका तर्फबाट उमेदवार थिए, राजमोका चित्र बहादुर केसी विजयी हुदा थापा तेस्रो भएका थिए । माओवादीसंग नेकपा एकीकृत एकीकरण भएपछि माओवादीको केन्द्रीय सदस्य बनेका थापा, एमालेसंगको एकीकरणपछि एमालेतिरै लागेका हुन् । केन्द्रमा उनलाई पृथ्वीसुव्वा गुरुङको बलियो समर्थन रहेको बताइन्छ । गुरुङले कसरी व्यवस्थापन गर्छन्, थापाले सोही अनुसारको भूमिकामा अगाडि बढ्ने आंकलन कार्यकर्ताहरुको छ । थापा गण्डकी प्रदेशसभाका सदस्य छन् । पार्टीको पोलिटव्यूरो सदस्य रहेका थापा प्रदेश सभामा भने छायामा छन् । संसदीय दलका नेता खगराज अधिकारीले प्रमुख सचेतकमा केन्द्रीय सदस्य गोविन्द नेपाली र बागलुङबाटै प्रदेश कमिटि सचिवालय सदस्य कृष्ण पाठक प्रदेश मन्त्री हुदा थापा भने सहयोगी जस्तै बनेका छन् ।
२. मन कुमारी केसी जिसी (पोलिटव्यूरो सदस्य)
शिक्षा, सामाजिक काम र राजनीतिबाट चर्चामा आएकी केसी एमालेको सातौ जिल्ला अधिवेशनबाट उपसचिवमा थोरै मतले निर्वाचित भएकी थिइन । बागलुङमा ओलीको पक्षमा खुलेर लाग्ने मध्येकी अगुवा केसी जिल्ला उपसचिव रहदै नवौ राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । २०७१ मा भएको बागलुङ क्षेत्र नं. १ को उपनिर्वाचनमा उमेदवार बनेकी थिइन । २०७४ को निर्वाचनमा केसी संघमा समानुपातिक सांसद बनिन् । आफु केन्द्रीय सदस्य बन्ने नबन्ने भन्दा पनि मुुलुक निर्माणका लागि ओलीको विकल्प छैन, ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन पर्छ भन्ने मत उनको देखिन्छ । केसी केन्द्रीय सदस्य बन्ने कुरामा समस्या नरहेको अन्य केन्द्रीय सदस्यहरु नै बताउछन् । निरन्तर राजनीतिमा लागेकी केसी कुनै दिन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट समेत रहेकी थिइन । माथि ओलीको साथ पाएकी केसीलाई जिल्लामा साथ दिने पदाधिकारी र पालिका अध्यक्षहरु देखिदैनन् । २०७१ मा महिला कोटाबाट केन्द्रीय कमिटि छिरेकी केसी आगामी महाधिवेशनमा पनि महिला कोटाबाटै चुनाव लड्ने संभावना देखिएको छ ।
३. गोविन्द बहादुर नेपाली (केन्द्रीय सदस्य)
धौलागिरी बहुमुखी क्याम्पसको स्ववियू सभापति जितेपछि चर्चामा आएका नेपालीलाई शाहीकालमा राजद्रोहको मुद्दा लागेको थियो । आठौ जिल्ला अधिवेशनबाट जिल्ला सचिव निर्वाचित भएका उनी त्यही कार्यकालमा नवौ राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य बने । एमाले माओवादी एकीकरण पछि पूर्ण केन्द्रीय सदस्य बनेका नेपाली दशौ महाधिवेशनबाट पनि केन्द्रीय सदस्य निर्वाचित भए । पोलिटव्यूरो बन्न जोड गरेका नेपाली बन्न सकेनन् । नवौ महाधिवेशन ताका इश्वर पोखरेल क्याम्पबाट ओली समुहमा देखिएका नेपाली २०७४ पछि गण्डकीका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख राजनीतिक सल्लाहकार र २०७९ को निर्वाचन पछि गण्डकी प्रदेशसभा सदस्य बनेका उनी हाल खगराज अधिकारी संसदीय दलको नेता हुदा प्रदेशसभामा दलका तर्फबाट प्रमुख सचेतक छन् । एघारौ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न र ओलीलाई अध्यक्ष बनाउन नेपाली सक्रिय नै छन् । दलित समुदायबाट उठेको, शिक्षित, राजद्रोहको मुद्दा खेपेका नेपाली राष्ट्रिय दलित आयोगको सदस्य पनि भएका थिए । नेपालीले २०६४ को संविधानसभा निर्वाचनपछि समानुपातिक तर्फ नपरेपछि कार्यकर्ता लगाएर पार्टी कार्यालय तोडफोड गरेको आरोप खेप्दै आएका छन् । भुगोल भन्दा पनि प्रदेश र केन्द्रतिर धेरै भूमिका देखाउने नेपालीलाई अब भने संसदीय मोर्चामा जानका लागि निर्वाचन फेस गर्नु पर्ने अवस्था रहेको छ । २०७१ मा दलित कोटाबाट केन्द्रीय कमिटि छिरेका नेपाली आगामी महाधिवेशनमा पनि दलित कोटाकै आसमा रहेको देखिन्छ । शाहीकालमा गगन थापा र नेपालीलाई राजद्रोह लागेको थियो, गगन थापा कांग्रेसको सभापतिमा दावी गरेका छन् ।
४. इन्द्रलाल सापकोटा (केन्द्रीय सदस्य)
२०५४ सालको स्थानीय निकाय निर्वाचनबाट मालिका गाविसको अध्यक्ष भएका सापकोटा २ पटक एमालेको जिल्ला अध्यक्ष भए । राष्ट्रिय युवा संघ नेपालको महासचिव भइ अध्यक्षमा महेश बस्नेतसंग पराजित भएका उनी नवौ राष्ट्रिय महाधिवेशनमा धौलागिरी भुगोलबाट केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दा गणेश तिमिल्सिनासंग पराजित भए । युवा संघको अध्यक्ष र केन्द्रीय सदस्यमा पराजित भएका सापकोटा जिल्ला फर्केर आठौ जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष निर्वाचित भए । केपी ओलीले संसद विटघन गरेपछि प्रचण्ड माधव समुहमा लागेका सापकोटा, १० भाई संगै एमालेमै सक्रिय भएका हुन् । २०७४ मा प्रदेशसभा सदस्यमा बागलुङ क्षेत्र नं. १ (क) बाट निर्वाचित भएका थिए । नेकपा एसतिर गएको भए प्रदेश मन्त्री पाउने निश्चित भएका सापकोटाले त्यतिबेला विभाजन होइन, एमाले निर्माण गर्ने हो भनेर एमालेमै सक्रिय भएका थिए । मन्त्री पदका लागि पार्टी फुटाउने, पार्टी प्रवेश गर्ने संस्कार बढेको वर्तमान समयमा मन्त्री पदलाई वेवास्ता गरेका सापकोटाको केन्द्रमा ओलीको जस्तै जिल्लामा प्रभाव रहेको छ । सापकोटा पनि आगामी महाधिवेशनमा सचिवका दावेदार छन्, टिम मिल्दा सचिव हो, नभए केन्द्रीय सदस्य त लडने नै होला ? निकटहरुसंग उनको भनाइ छ । जेन जी आन्दोलनले राजनीतिक दलहरुलाई नयाँ ढंगले सोच्न बाध्य बनाएको बताउने सापकोटा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको पक्षमा छन् ।
५. डा.सूर्य पाठक (केन्द्रीय सदस्य)
जापान कार्यक्षेत्र रहदै २०७० को दोस्रो संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. २ मा एमालेका तर्फबाट उमेदवार बनेका पाठक छोटो समयमा केन्द्रीय भूमिकामा पुग्ने एमाले भित्रका भाग्यमानी नेतामा पर्दछन् । प्रवासबाट आएर केन्द्रीय विभागको सदस्य रहदै २०७४ मा बागलुङ क्षेत्र नं. १ बाट संघीय सांसद निर्वाचित उनी दशौ महाधिवेशनबाट केन्द्रीय सदस्य बने । २०७९ को संसदीय निर्वाचनमा पनि सोही क्षेत्रबाट उमेदवार बनेका उनी एघारौबाट केन्द्रीय सदस्यका लागि चर्कै लविङमा छन् । पाठक महासचिवका विश्वासपात्र रहेको निकटहरु बताउछन् । महासचिव पोखरेलसंगै केही समय अगाडि जापान भ्रमणमा गएका पाठकले केन्द्रीय सदस्य र संघीय सांसद हुदै मन्त्रीसम्मको वातावरण बनाएको चर्चा हुने गरेको थियो । जेन जी आन्दोलनले अब के हुन्छ ? भन्ने अवस्था सिर्जना भएपछि पाठकलाई धक्का लागेको बताइन्छ । पाठक केन्द्रीय सदस्यका लागि ओलीको टिममै पर्ने बताइन्छ । उनी ओलीलाई अध्यक्ष बनाउने र महासचिवलाई त्यसपछिको अध्यक्ष बनाउने अभियानमा देखिन्छन् । प्रदेशमा खगराज अधिकारीको बलियो साथ रहेका पाठक आवश्यक पर्दा सबैसंग मिलेर आफुलाई नेता बनाउने अभियानमा छन् । आठौ जिल्ला अधिवेशनमा गुट काली गण्डकीमा बगायौ भन्दै इन्द्रलाल सापकोटासंग सहकार्य गरेर काका कृष्ण पाठकलाई उपाध्यक्ष र आफुलाई संघीय सांसद बनाउन सफल पाठक दशौ जिल्ला अधिवेशनमा मौन बसेर आफ्नो स्थान सुरक्षित गरेका छन् । पछिल्लो समय नेकपा एसबाट आएका लाल बहादुर थापालाई अगाडि बढाउने गरी अभियान सञ्चालन पाठकले नेताहरुले कसरी व्यवस्थापन गर्छन्, प्रतिक्षामा रहेको बताए ।
६. सावित्रा राना (केन्द्रीय सदस्य)
विद्यार्थी राजनीतिबाट सक्रिय राना जिल्ला सचिवालय सदस्य भएकै बेला २०७४ मा गण्डकी प्रदेश सभामा समानुपातिक तर्फबाट सदस्य भइन् । २०७८ को दशौ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएकी हुन् । शुरुमा बामदेव गौतम नजिक रहेकी राना पछिल्लो समय गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छिन् । उनलाई कन्द्रीय सदस्य र प्रदेश सांसद बनाउन गुरुङको हस्तक्षेपकारी भूमिका रहेको जिल्लाका नेताहरुले बेला बखत बताउदै आएका छन् । केन्द्रीय सदस्यको भूमिकामा रहेकी राना महिलाहरुलाई अनेम संघ, प्रदेश र राष्ट्रिय प्रतिनिधि बनाउने कुरामा अलि बढी भूमिका निर्वाह गर्दै आएको समकालिनहरुको गुनासो छ । केन्द्रीय सदस्य दोहोराउने हो ? भन्ने प्रश्नमा उनको सिधा उत्तर छ, मैले भनेर मात्रै भएन, टिममा के कसरी प्रस्ताव आउछ, त्यही अनुसार गर्ने हो । एक्लै हिडेर गन्तव्यमा पुगिदैन ?
७. कृष्ण बहादुर केसी (केन्द्रीय सदस्य)
केसी २०७१ चैतमा भएको बागलुङ क्षेत्र नं. १ को उपनिर्वाचनमा माओवादीका तर्फबाट उमेदवार थिए । एमाले माओवादी एकीकरणबाट नेकपाका केन्द्रीय सदस्य बनेका र एमाले माओवादी अलग हुदा एमालेमै रहेका राम बहादुर थापा बादल निकट मानिने केसी दशौ महाधिवेशनबाट एमालेको पुन केन्द्रीय सदस्य छन् । माओवादीले शसस्त्र संघर्ष शुरु गरेपछि जापान गएका केसी लामो समय जापानमै रहेर राजनीति गरे । नेपाल फर्केर नेपाल पत्रकार महासंघ बागलुङको सचिव समेत हुन भ्याएका केसी अहिले एमालेको रिटर्नी फेडरेशनको संयोजकका रुपमा केन्द्रतिरकै दौडधुपमा छन् । फरक धारबाट आएका उनी पनि पुनः केन्द्रीय सदस्य बन्ने जोडबलमै छन् । उनले सामाजिक सञ्जालमा राख्ने विचारहरु हेर्दा नेतृत्व परिवर्तन आवश्यक छ भन्ने देखिन्छ, यद्यपी राम बहादुर थापा बादलको निर्देशन अनुसार नै उनी अगाडि बढ्छन् भन्ने कार्यकर्ताको विश्लेषण छ ।
८. मञ्जु शर्मा चालिसे (केन्द्रीय सदस्य)
पेशाले स्वास्थ्यकर्मी चालिसे २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गलकोट नगरपालिकामा उमेदवार हुन चाहन्थिन्, तर कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र भएर मेयरमा उमेदवार बनिन् । कांग्रेसमा विद्रोह गरेकी उनी एमाले प्रवेश गरेर २०७९ मंसिरको संसदीय निर्वाचनमा बागलुङ क्षेत्र नं. २ को उमेदवार बनिन्, गठबन्धनका उमेदवार देवेन्द्र पौडेलसंग थोरै मतले पराजित भएकी चालिसे एमालेको गण्डकी प्रदेश कमिटिमा निर्वाचित भएकी थिइन, पछि पार्टीले केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । चालिसेलाई केन्द्रमा पद्मा अर्याल निकटका रुपमा रहेको बताइन्छ । उनी पनि एघारौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा दोहोरिने तयारीमा छिन् ।
अन्य संभावितहरु ?
८ जना साविकका केन्द्रीय सदस्य बाहेक पनि बागलुङबाट संभावित थप उमेदवार हुन सक्ने विषयमा छलफल चलिरहेको छ । जिल्ला अध्यक्ष हिरा बहादुर केसी नवौ मै केन्द्रीय सदस्यका उमेदवार हुन्, दसौँमा पनि उनले केन्द्रीय सदस्यका लागि प्रयास गरेका थिए, ओलीले केन्द्रीय कमिटि घोषणा गरेपछि केसीले उमेदवारी दिएनन् ।
पश्चिम बागलुङका पुराना नेता भीम प्रसाद शेरचन (सुनिल) अल्संख्यकबाट, अखिल नेपाल महिला संघ बागलुङ संस्थापक अध्यक्ष रहेकी ममतादेवी शर्मा महिलाबाट, नेकपा एसबाट एमाले प्रवेश गरेर महाधिवेशन प्रतिनिधि भएका लाल बहादुर थापा जनजातीबाट र जिल्ला सचिवालय सदस्य चित्रा श्रीस अल्पसंख्यक महिलाबाट संभावित केन्द्रीय सदस्यका प्रत्यासी हुन् ।
केपी ओली समुहमा यि नामहरुमा छलफल चलेको एक केन्द्रीय सदस्यले जानकारी दिए । नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको पक्षमा रहेका जिल्ला उपसचिव धन बहादुर परियार पनि दलितबाट केन्द्रीय सदस्यका संभावित उमेदवारमा पर्छन् । दलित समुदायबाट पार्टी राजनीतिमा निरन्तर क्रियाशिल परियार जिल्ला कमिटिको सदस्य, सचिवालय हुदै बागलुङ नगर कमिटिको अध्यक्ष समेत भइसकेका छन् ।
केपी ओली समुहमा आकांक्षी धेरै हुनु, नयाँहरुलाई ओलीले प्राथमिकता दिनु जस्ता कारणले पुरानाहरु कति पर्छन् यसै भन्न सकिन्न, ओली समुहका एक नेताको भनाइ छ ।
एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट ७ जना र पछि मनोनित गरी ८ जना केन्द्रीय सदस्य पाएको बागलुङले एघारौँबाट कति जना केन्द्रीय पाउला ? त्यसका लागि मंसिर मसान्त कुर्नै पर्ने हुन्छ ।
