नेकपा एमालेको ११ आंै राष्ट्रिय महाधिवेशन सुरु भएको छ । भक्तपुरको सल्लाघारीमा भएको भव्य उद्घाटन समारोह सहित सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । नयाँ नेतृत्वका लागी दुई कार्यकाल अध्यक्ष भइसकेका र हालै मात्र जेनजी आन्दोलन मार्फत सत्ताबाट अपमानपूर्वक बहिगर्मन भएका केपी शर्मा ओली पुनः मैदानमा उत्रिदैछन् भने यसपटक पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षबाट वरिष्ठ उपाध्यक्ष रहेका इश्वर पोखरेलले उनलाई चुनौती दिँदैछन् । उसो त अघिल्लो महाधिवेशनमा पनि ओलीलाई भीर रावलले चुनावी मैदानमा उत्रिएर टक्कर दिए । त्यसपश्चात पेलानमा परेका रावल पार्टी नै छोड्न बिबश बने । अहिले नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन् ।
एमाले मुलुकको पुरानो र हालै विघटित संसदको दोस्रो ठुलो दल पनि हो । यसको देशव्यापी रुपमा ठुलो संगठन र सञ्जाल छ । विघटित प्रतिनिधिसभाको शक्ति सन्तुलन, तीन तहका सरकार र प्रदेश सभाहरूमा उपस्थिति हेर्दा पनि एमाले सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी हो । यसले नेपालमा कम्युनिस्ट आन्दोलनलाई हिंसा, अतिवादको राजनीतिबाट बाहिर निकालेर लोकतन्त्रको बाटोमा डोहो¥याएको छ । लोकतान्त्रिक परिपाटी स्वीकार्दै संसदीय राजनीतिक अभ्यास गर्ने एमाले जनमतको बलमा तीन दशकदेखि कुनै न कुनै रूपमा शासकीय सत्ताको केन्द्रमा रहँदै आएको छ । यसको इतिहास भने अनेक उतारचढावले रंगिएको छ । कहिले एकता त कहिले विभाजनबाट ग्रसित छ । कहिले वैचारिक कार्यदिशाको विवाद त कहिले नेताहरूको महत्वाकांक्षाका कारण कम्युनिस्ट घटकहरू बढी चाही विभाजित छन् । अनेक आरोह–अवरोह पार गर्दै यहाँसम्म आइपुगेको एमालेले ११औँ महाधिवेशन भन्दा केही समय अघि मात्रै ठुलो राजनीतिक धक्का बेहोरेको छ । सरकारको नेतृत्व गरिहेको बेला जेनजी आन्दोलन, त्यसमा ७६ जनाको हत्या, त्यसपश्चात देशभर भएको ध्वसंको मुख्य कारकको रुपमा एमाले र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली माथि छ । सरकारले उनी माथि बयान लिने तयारी सहित विदेश र उपत्यका बाहिर जान पनि रोक लगाएको छ । यसकारण पनि एमाले र ओलीका लागि अबको समय केही चुनौतीपूर्ण देखिन्छ ।
एमाले महाधिवेशन भएकाले अहिले स्वभाविक रुपमा नेतृत्वको बहस छ । जेनजी आन्दोलन पछि सबैजसो पुरानो पार्टीमा नयाँ पुस्ता, नयाँ अनुहार नेतृत्वका लागि माग भइरहेको छ । तर, वर्तमान अध्यक्ष ओली या वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल जो आए पनि ७० वर्ष माथिका हुनेछन् । जसप्रति उति ठुलो मुलुकमा परिवर्तनको बदलाव ल्याउने आशा, अपेक्षा धेरै छैन । नेतृत्व पुरानै आउने भए पनि जेनजी आन्दोलन र यसले दिएको पाठलाई बोध गर्ने नेतृत्वमा बदलाव जरुर आउनु पर्छ । अहिले पनि नेतृत्वमा त्यसको कुनै आत्मआलोचना र आत्मबोध छैन । नेतृत्वसँगै अरु पदाधिकारी र केन्द्रीय सदस्य भइसकेकाहरु पनि पटक–पटक दोहोरिने बाहेक अरु उल्लेख्य परिवर्तन देखिदैन । तसर्थ, हिजोको विरासतमा मात्रै अब पार्टी राजनीति चल्नेवाला छैन । समयको गति र माग अनुसार एमाले बदलिनु पर्छ । र, नेतृत्व पनि त्यस मुताविक बदल्ने बदलिने गरी आउन सकेमा मात्रै त्यसले एमाले र सिंगो देशका लागि हित गर्न सक्छ ।