म्याग्दी । बेनी नगरपालिका १ रत्नेचौरदेखि २ नम्बर वडाको भकुण्डे जोड्ने सडकको कालोपत्रेमा बदमासी भएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । बेनी नगरपालिका २ भकुण्डेमा नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा सर्वसाधारणले उक्त धारणा राखेका हुन् ।
आर्थिक वर्ष २०८२÷०८३ को प्रथम चौमासिक अवधिमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी सर्वाजनिक सुनुवाइमा भकुण्डे क्षेत्रका सर्वसाधारणले सडक निर्माणमा ठेकेदारले लापर्वाही गरेको धारणा राखेका हुन् । सडक खाल्डाखुल्डी रहेको अधिकांक्ष ठाउँमा फिनिसिङ नै नमिलेको तथा सामान्य स्लोप समेत नमिलाइ दुर्घटनाको जोखिम हुने खालको सडक निर्माण गरेको आरोप लगाएका हुन् । भकुण्डेका स्थानीय बासिन्दा भीमबहादु पौडेलले अहिले बनेको सडक ४० प्रतिशत पनि गुणस्तर नभएको आरोप लगाउनु भएको थियो ।
बाँदर आतंक, सडक जिर्ण भएको, नगरपालिकामा कर्मचारीले राम्रो व्यवहार नगरेको लगायतका गुनासाहरु पनि सर्वसाधारणले राखेका थिए । अहिलेको स्थानीय तहको राजश्व दर धेरै भएकोले पुरानै गाविस ठिक भएको भन्दै गुनासो गरेका थिए ।

सार्वजनिक सुनुवाइमा अधिकांश सर्वसाधारणले खानेपानीको समस्या औंल्याएका थिए । पिउने पानीको मुहानमा विवाद गरेर पानी नदिँदा आफूहरुले पिउने पानी उपभोग गर्न नपाएको उनीहरुको गुनासो थियो । त्यस्तै विद्युतको हाइटेन्सन लाइनले जोखिम बनाएको, कृषकलाई उत्पादनको आधारमा अनुदान दिनु पर्ने, दुधेखोला क्षेत्रमा खेत भन्दा तल सिंचाइ कुलो भएको, सडक र नाली व्यवस्थीत गर्नुपर्ने जस्ता प्रश्न पनि सर्वसाधारणले उठाएका थिए । बेनी नगरपालिका ४ को डाँडाखेत क्षेत्रमै कतिपय स्थानमा सिंचाइ तथा सडक पुग्न नसकेको स्थानीय तुलबहादुर सार्कीको गुनासो थियो । त्यस्तै सुर्केमेलाका कृषक खड्गबहादुर पुनले कृषकले दुध उत्पादन गर्ने गरेकोले उनीहरुको उत्पादनका आधारमा नगद अनुदान दिनु पर्ने माग गर्नुभएको थियो ।
म्याग्दी क्षेत्रकै निकै ठूलो मानिएको बृहत घोप्टेखोला खानेपानी आयोजना निर्माण सम्पन्न गर्नका लागि बेनी नगरपालिका ६ का प्रेमदत्त उपाध्यायले माग गर्नुभयो । त्यस्तै बेनी नगरपालिका ७ का विक्रम श्रेष्ठले धार्मिक स्थलहरुको उचित प्रचार प्रसार नहुँदा धार्मिक पर्यटकको रोजाइमा बेनी पर्न नसकेको भन्दै प्रचार प्रसारका लागि माग गर्नुभएको थियो ।
सार्वजनिक सुनुवाइका लागि बेनी नगरपालिकाले सामाजिक सञ्जालमा सूचना जारी गरेको थियो भने नेपाल पत्रकार महासंघको अगुवाइमा सेवाग्राहीलाई हरेक वडामै पुगेर प्रश्न संकलन गरिएको थियो । २५ जना भन्दा धेरै सर्वसाधारणले नगरपालिकाको बारेमा भिडियो मार्फत प्रश्न गरेका थिए । त्यस्तै सार्वजनिक सुनुवाइ कार्यक्रम स्थलमा उपस्थीत भएर १२ जनाले आफ्नो सुझाब तथा गुनासा राख्नु भएको थियो ।
सर्वसाधारणको प्रश्नको जवाफ दिँदै नगरप्रमुख सुरत केसीले संघ तथा प्रदेश सरकारको योजनाहरुमा स्थानीय सरकारलाई नटेर्ने काम विगार्ने गरेको बताउनुभयो । उहाँले संघीय र प्रदेशको बजेटमा अन्तिम निकासा दिने बेला वडाको एउटा पत्र भए पुग्दो रहेछ त्यसैले हामीले भन्दा नटेरेर काम कमसल र बिग्रने खालको गर्ने तर त्यसको उपभोग गर्ने हामीले हुँद दुख हामीले नै भोग्नु पर्ने गरेको भन्नुभयो । उहाँले बाँदर आतंक नियन्त्रणका लागि विभिन्न काम गरेको भए पनि सफल हुन नसकेको बताउनुभयो । त्यस्तै करको दर पहिला भन्दा बरु घटाइएको भए पनि कुनै पनि कर नबढाइएको उहाँको भनाई थियो ।
नगरप्रमुख सुरत केसीको अध्यक्षता, बेनी नगरपालिका २ का वडा अध्यक्ष यामबहादुर क्षेत्रीको स्वागत र नगरपालिकाका अधिकृत अर्जुन सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सर्वाजनिक सुनुवाइको नेपाल पत्रकार महासंघले सहजीकरण गरेको थियो ।
