• २०८३ आश्विन २१, बुधबार
  • 2026 October 07, Wednesday

बागलुङ मनाइयो ध्यान दिवस

बागलुङ । दोस्रो विश्व ध्यान दिवस बागलुङमा पनि मनाइएको छ ।

ध्यान, योग र प्रणायमको अभ्यास गराउँदै आएका विभिन्न कार्यलय, समिती र सेन्टरद्वारा ध्यानका अभ्यास गराएर ध्यान दिवस मनाइएको हो ।

धौलागिरी आयुर्वेद औषधालय बागलुङ, ओशो अमृतम ध्यान केन्द्र बागलुङ र पतञ्जलि योग समिति बागलुङले सरकारी कार्यालय कर्मचारी, प्रहरी, महिला अधिकारकर्मी, योग र ध्यानका साधक साधिकाको बिचमा ध्यान दिवस मनाएका हुन् ।

संयुक्त राष्ट्र संघले गतवर्ष देखि डिसेम्बर २१ तारिखलाई ध्यान दिवसका रुपमा मनाउने गरि मान्यता प्रदान गरेपछि नेपालमा पनि ध्यान दिवस मनाउन थालिएको हो ।

पतञ्जलि योग समिति बागलुङले आइतबार बिहान राधाकृष्ण साधना केन्द्र र उपल्लाचौर साधना केन्द्रमा ध्यान दिवस मनाएको हो । महिला पतञ्जलि योग समिति बागलुङमा महामन्त्री सिर्जना पन्तले साधना केन्द्रका साधकलाई मैत्रिय भावना ध्यान गराउनु भएको थियो । नियमित गरिने क्रियाशिल योगका विभिन्न आशन पछि साधकहरुलाई ध्यान गराईएको थियो । पतञ्जलि योग समिति बागलुङका प्रभारी हिराबहादुर केसी, संगठन मन्त्री अमृत कंडेल र महिला प्रभारी कल्पना श्रेष्ठले योग गराउनु भएको थियो । उहाँहरुले योगका आशन र ध्यानलाईसँगै अगाडी बढाउँदा हुने फाइदाका बारेमा जानकारी गराउनु भएको थियो ।

धौलागिरी आयुर्वेद औषधालय बागलुङले पनि विश्व ध्यान दिवस मनाएको छ । औषधालयले नियमित योग अभ्याससँगै विभिन्न कार्यालयका प्रमुख तथा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवानहरुका विचमा ध्यान दिवस मनाएको हो ।

सो अवसरमा बागलुङका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले तन र मनलाई जोड्न ध्यानले मद्धत गर्ने बताउनु भएको थियो । स्वस्थ तन र मन भएको व्यत्तिले गर्ने कर्म पनि स्वथ्य हुने भन्दै राष्ट्रसेवक स्वथ्य रहनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यालयका डाक्टर सरोज पन्थीले योग अभ्यास गराउनु भएकोे थियो । जीवन विज्ञान बागलुङका संयोजक कमल आचार्य, परमानन्द पौडेलले ध्यान गराउनु भएको थियो । कार्यक्रम अस्पतालका डाक्टर कमल बिक्रम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यसैगरी ओशो अमृत ध्यान केन्द्र बागलुङको आयोजनामा पनि ध्यान दिवस मनाएको छ । ध्यान केन्द्रले आइतबार विहानदेखिनै ध्यानका विभिन्न विधिको अभ्यास गरेर दिवस मनाएको हो ।

बागलुङका महिला अधिकारकर्मी, विभिन्न राजनीतिक दलमा आवद्ध महिला, संघ संस्थामा आवद्ध महिला र कार्यालयका महिला कम्र्रचारीको बिचमा ध्यानको अभ्यास गराइएको थियो ।

ओशो अमृत ध्यान केन्द्र बागलुङका प्रमुख जोत्सना शाक्यले ओशोले प्रतिपादन गरेको कुण्डलिनी ध्यान गराउनु भएको थियो । ‘शान्ति र सदभावका लागि ध्यान’ भन्ने मुल नाराका साथ मनाइएको ध्यान दिवसको श्रेय बोधिसत्त्व स्वामी आनन्द अरुणलाई जाने शाक्यले बताउनु भयो । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले नेपाललाई ध्यान, योग र आध्यात्मको भूमिका रुपमा विश्वमाझ परिचित गराउन अथक प्रयाश गरिरहेको भन्दै शाक्ले ध्यान दिवस मनाउने सन्दर्भमा पनि स्वामीकै पहलले सार्थकता पाएको बताउनु भएको थियो ।