• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

कांग्रेस पुरानै पथमा

सम्पादकीय
गत भाद्र २३ र २४ को जेनजी आन्दोलन पछि पुराना राजनीतिक दलहरुको नेतृत्व र कार्यशैलीमा व्यापक सुधार हुने अपेक्षा थियो । सच्चिने कि सक्किने लामो समयको प्रश्न र संशयको बिचमा भएको आन्दोलन र विद्रोहले मुलुकमै कायापलट ल्याउने आशा थियो । त्यो दिन, महिनाहरु बित्दै जाँदा उही पुरानै नियति र निराशाका दिनहरु तर्फ उन्मुख छ । यसको ज्वलन्त उदाहरण मूलधारको मुख्य राजनीतिक शक्ति नेपाली कांग्रेसको पछिल्लो अवस्था र प्रवृत्ति काफी छ । जेनजी आन्दोलन पछि गत असोज २८ मा पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर अर्को साता सिंगापुर उडेका देउवा अहिले फेरि एकाएक पार्टी गतिविधिमा सक्रिय बन्न थालेका छन् । नेकपा एमालेमा पनि महाधिवेशनबाट केपी शर्मा ओली नै अध्यक्षमा निर्वाचित भएका छन् । एकीकरण पछि बनेको नेकपामा पनि प्रचण्ड, माधव नेपालहरु नै नेतृत्वमा छन् । अरु पुराना दलहरुमा पनि बदलिने कुनै खास संकेत छैन ।

पुराना राजनीतिक दल मध्ये जेनजी आन्दोलन पछि सुधार र सच्चाईको बाटोमा लाग्ने संकेत देखिएको पार्टी थियो नेपाली कांग्रेस । कारण थुप्रै भित्री÷बाहिरी तयारीपछि २८ असोजमा शेरबहादुर देउवाले कांग्रेस सभापतिको कार्यकारी भूमिका त्याग्ने स्पष्ट निर्णय दिएका थिए । देउवाले कार्यकाल थोरै बाँकी छँदाछँदै पनि जेनजी विद्रोहमार्फत् युवाहरुले देखाएको नेतृत्व परिवर्तनको आह्वानलाई सम्मान गर्ने संकेत अहिले सन्देहका रुपमा देखिन थालेको छ । २८ असोजको केन्द्रीय समितिको बैठकमा १३ पृष्ठको मन्तव्य दिएका देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई सुम्पिनुलाई महत्वपूर्ण भन्दै प्रशंसा र चर्चा गरिएका थिए । त्यही भएर हुनसक्छ, धेरैले त्यसलाई देउवाको बिदाइ मन्तव्यको रुपमा व्याख्या गरेका थिए । तर पछिल्लो केही हप्ताको गतिविधिले देखाउँछ, उनी ‘सक्रिय राजनीति’ मै छन् । मंगलबार शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीसँगको बैठकमा उनी स्वयंको सहभागिताले धेरैथोक भन्छ । जसमा जेनजी आन्दोलन अघि सम्म सत्ता सहकार्यमा रहेका नेकपा एमाले अध्यक्ष ओलीको धाप छ । दुई युवा नेता महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन नत्र विशेष महाधिवेशनको एजेन्डा सहित अघि बढ्दा कार्यवाहक सभापति खड्काले त्यसलाई रणनीतिक रुपमा मत्थर बनाउँदै देउवालाई कार्यकारी भूमिकामै क्रियाशील हुन र बनाउन थालेको देखिन्छ ।

जेनजी आन्दोलन पछि कांग्रेसमा देउवाले सक्रिय राजनीति त्यागेको, कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेको, महामन्त्रीद्धय थापा र शर्माले आन्दोलनको अपनत्व सहित गल्तीहरुमा आत्मआलोचना सहित अघि बढ्न खोजेको विषय सकारात्मक थियो । जेनजी विद्रोहसँगै पार्टीभित्र पुनर्गठन र नेतृत्व परिवर्तनको मागलाई कांग्रेसले आत्मसाथ गर्न खोजेको देखिन्थ्यो । तर, यो समयक्रमसँगै गलत सावित हुन थालेको छ । अढाइ महिना पुगनपुग हुँदा देउवामा सक्रिय राजनीति र पुनः सत्ता राजनीतिको भोक जागेको प्रतीत हुन्छ । कांग्रेसमा पुरानै पथमा हिँड्ने रहर जागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ पाएपछि देउवाको सक्रिय हुने मोह जागृत भएको कुरा छिपेको छैन । देउवाले लिखित मन्तव्यमा भनेको जस्तैः ‘नेपाली कांग्रेसले आफ्नो इतिहासमा आर्जित विश्वसनीयता पुर्नपुष्टि गर्नुपर्छ । नेपाली कांग्रेस पार्टीभित्र परिवर्तनको आवाजलाई कमजोर हुन दिए त्यो कांग्रेसजनका लागि मात्रै नभई देशकै लागि पनि दुर्भाग्य हुनेछ ।