बागलुङ । गाउँघरमा कुनै वस्तु आफैमा अडिन सकेन भने टेको लगाउने चलन छ । विशेष गरी लहरे तरकारीलाई वर्षे सिजनमा थाँक्रो अर्थात टेको लगाइन्छ ।
तरकारी टेको लगाएको जस्तै नेपालको राजनीतिमा पनि टेको लाएरै भएपनि सत्तामा पुग्ने प्रचलन लामै समयदेखि चल्दै आएको छ ।
बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु आफ्नो दलको एजेण्डा सहित जनताका बीचमा जाने र चुनावी प्रतिस्पर्धा गर्नु पर्नेमा गठबन्धन÷तालमेल गर्ने संस्कारले निरन्तरता पाएको छ ।
चुनाव अगाडि नै गठबन्धन गरेर निर्वाचन लड्ने र परिणाम आएपछि चुनावी गठबन्धनलाई छोडेर अर्कै गठबन्धन गरेर सरकार बनाउने लगायतका क्रियाकलाप पनि सतहमै छन् ।
गठबन्धनको संस्कृति बागलुङमा अलिक पुरानो नै छ । बहुदलको आगमनसंगै बामपन्थी तालमेल वा अन्य विभिन्न बहानामा गठबन्धन गर्ने गरिएको छ । बागलुङ भुगोलको हिसावले नेपालको नक्सा आकारको सुन्दर जिल्ला हो । बागलुङको संस्कृति लगायत विभिन्न क्षेत्रले सिंगो देशलाई आकर्षित गर्दछ । यहाँको राजनीति पञ्चायत कालमा पनि चर्चामै थियो । पञ्चायतकालमा बागलुङका नेताहरु तेजेन्द्र बहादुर खड्का र ओमकार प्रसाद गौचन राज्यमन्त्रीसम्म भएका थिए । उनीहरु बाहेक तेजाव गौचन, कुलराज शर्मा, जित बहादुर कुँवर, रणसिंह थापा लगायतका नेताहरु त्यो बेला चर्चामा रहने गर्दथे ।
२०४६ सालको परिवर्तनपछि कांग्रेसको होल्ड रहेको बागलुङमा पछिल्लो समय कांग्रेस विस्तारै रक्षात्मक बन्दै गएको छ । २०४८ साल र २०७० सालमा यहाका ३ वटै संसदीय निर्वाचन क्षेत्रमा क्लीनस्वीप गरेको कांग्रेस २०७९ मा गठबन्धन गरेर पनि संघीय सांसदमा उमेदवार नै दिन नसक्ने अवस्थामा पुग्यो ।
यसरी हेर्दा बहुदल आगमनपछिको बाघ पार्टी कांग्रेस साढे तीन दशकको राजनीतिक यात्रामा थाँक्रो तर्थात टेको लगाएर मात्रै निर्वाचन लड्न पर्ने अवस्थामा पुगेको छ । पछिल्लो साढे तीन दशकमा बागलुङको राजनीतिमा कांग्रेस र कम्युनिष्टकै बाहुल्यता रहे पनि यिनीहरु सबै टेकोकै बलमा चुनाव लड्न पर्ने वाध्यतामा पुगि सकेका छन् । यो अवधीमा बामपन्थी शक्ति मध्ये सबै भन्दा बढी अवसर राष्ट्रिय जनमोर्चाले लिएको छ ।
२०४८ को आम निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनमोर्चाले २०५१ पछि लगातार जस्तै संसद र जिल्ला विकास समिति तथा जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गरेको छ । २०७० को निर्वाचनमा प्रत्यक्षतर्फ सांसद नभए पनि समानुपातिकतर्फ राजमोका सांसद रहेका थिए ।
२०४६ को परिवर्तन पछि बागलुङमा सबै भन्दा बलियो शक्तिका रुपमा उदाएको कांग्रेसले बहुदल आगमन पछि भएका ७ वटा निर्वाचनमा ९ जनालाई सांसद बनाएको छ । नेपाली कांग्रेसबाट मिन बहादुर खत्री २ पटक तथा गोविन्द प्रसाद शर्मा कंडेल, ओमकार प्रसाद गौचन, टंक प्रसाद शर्मा कंडेल, निरज पुन, प्रकाश शर्र्मा पौडेल, ज्ञान कुमारी छन्त्याल र हरि बहादुर खड्का एक एक पटक सांसद बन्न सफल भएका छन् । २०७० मा सांसद भएका हरि बहादुर खड्काको निधन भएपछि २०७१ चैतमा भएको उपनिर्वाचनमा खड्का पत्नी चम्पादेवी खड्का विजयी भएकी थिइन ।
नेपाली कांग्रेसबाट २०४८ र २०५१ मा २ पटक विजयी हुने सांसद मिन बहादुर खत्री रहेका छन् । नेपाली कांग्रेसबाट सांसद भएका मध्ये गोविन्द कंडेल, ओमकार प्रसाद गौचन, हरि बहादुर खड्का र ज्ञान कुमारी छन्त्यालको निधन भइसकेको छ । निरज पुन, प्रकाश शर्मा पौडेल र चम्पादेवी खड्का अहिले पनि राजनीतिमा सक्रिय छन्, खड्का पार्टी केन्द्रीय समिति सदस्य छिन् । टंक प्रसाद शर्मा कंडेल र मिन बहादुर खत्री राजनीतिमा त्यति सक्रिय देखिदैनन् ।
स्मरणीय कुरा के छ भने २०४८ मा संसद र २०४९ मा जिल्ला विकास समिति एकलौटी जितेको पार्टी नेपाली कांग्रेस २०७४ मा प्रतिस्पर्धामा विजय हुन सकेन भने २०७९ मा गठबन्धन गर्दा ४ वटा प्रदेश सांसद लिएर संघीय सांसद राष्ट्रिय जनमोर्चा र नेकपा माओवादी केन्द्रलाई दिन वाध्य भयो । नेपाली कांग्रेसपछि बागलुङको संसदीय निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई मतदाताले अवसर दिएका छन् । क्षेत्र नं. १, २ र ३ मा गरी राष्ट्रिय जनमोर्चाले ५ पटक निर्वाचन जितेको छ । ३ पटक चित्र बहादुर केसी र २ पटक परी थापा सांसद पदमा विजयी भएका छन् । चित्र बहादुर केसी एक पटक संघीय सरकारको उपप्रधान एवम् सहकारी तथा गरिवी निवारण मन्त्री पनि भए । राष्ट्रिय जनमोर्चाबाट २०५१ र २०५६ मा क्षेत्र नं. ३ बाट विजयी परी थापा २०६४ को संविधानसभा निर्वाचनमा नेकपा एकीकृत भएका थिए, हाल उनी बागलुङको राजनीतिमा गुमनाम जस्तै छन् ।
राष्ट्रिय जनमोर्चाले २०५१ मा एमालेसंग मिलेर क्षेत्र नं. २ मा चित्र बहादुर केसी र ३ मा परी थापालाई उमेदवार बनाएको थियो, केसीलाई कांग्रेसका मिन बहादुर खत्रीले पराजित गरेका थिए ।
२०६४ को संविधानसभा निर्वाचनमा राजमो एक्लै चुनाव लडेर क्षेत्र नं. २ बाट केसीलाई विजयी बनाएको थियो । त्यस यता राजमोको शक्ति क्रमश कमजोर हुदै गएको छ । २०७९ मा गठबन्धन गरेर एउटा क्षेत्र त जितेको छ, तर एक्लै चुनावमा गएर प्रतिस्पर्धा गर्ने अवस्था क्रमश कमजोर हुदै गएको छ ।
नेपालका कम्यनिष्टहरु टुटफुटकै कारण आज लथालिंग अवस्थामा छन्, मुलुकमा समाजवाद ल्याउने परिकल्पनाका साथ जनताका बीचमा प्रतिस्पर्धामा उत्रेका बामपन्थी शक्तिहरु एक हुने त कुरा छोडौ आफैले पूँजिपति वर्गको पार्टी घोषणा गरेको कांग्रेस र पुर्नउत्थानवादी भन्ने गरेको राप्रपासंग समेत मिलेर चुनाव लड्ने, सरकार बनाउने अवस्थामा पुगेका छन् ।
२०४८ सालको आम निर्वाचनमा बागलुङका तीन वटै निर्वाचन क्षेत्रमा उमेदवार उठाएको एमालेले २०५१ र २०५६ राजमोसंग तथा २०६४ मा नेकपा एकीकृतसंग चुनावी तालमेल गरेको थियो । २०५१ मा क्षेत्र नं. १ मा गोविन्दराज अधिकारी र २०६४ मा सोही क्षेत्रबाट रामजीप्रसाद शर्मा विजयी भएका थिए । २०७० मा एक्लै चुनाव लडेको एमालेले तीन वटै क्षेत्रमा र २०७९ मा दुइ क्षेत्र रहेको जिल्लामा जित हासिल गर्न सकेन । २०७४ मा बामपन्थी गठबन्धन गरेर क्षेत्र नं. १ मा डा.सूर्य पाठक विजयी भए ।
एमालेबाट विजयी भएका गोविन्द अधिकारी र राजमीप्रसाद शर्माको निधन भइसकेको छ । एमालेको दुर्भाग्य नै भन्नु पर्छ दुवै नेताहरुको अन्तिम श्रद्धाञ्जली कार्यक्रम एमालेले गर्न पाएन । अधिकारीको निधन हुदा उनी नेकपा मालेमा थिए भने शर्मा नेकपा एकीकृत समाजवादीमा आवद्ध थिए ।
एमालेबाट संघीय सांसद बनेका पाठक हालै सम्पन्न एमालेको ११ औ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
बागलुङको संघीय संसदको नतिजा हेर्दा अलि कमजोर अवस्थामा नेकपा माओवादी केन्द्र देखिन्छ । अहिले नेपाली कम्युनिष्ट पार्टी बनेको साविकको नेकपा माओवादी केन्द्रले २०४८ सालमा संयुक्त जनमोर्चाको तर्फबाट उमेदवारी दिएको थियो । त्यसपछि सशस्त्र संघर्षमा लागेको माओवादीले २०६४ र २०७० मा एकल उमेदवारी दिएको थियो । दुवै निर्वाचन माओवादीका लागि अनुकुल भएनन् । २०७४ मा बामपन्थी गठबन्धनबाट क्षेत्र नं. २ को सांसद बनेका देवेन्द्र पौडेल २०७९ मा कांग्रेस सहितको ५ दलीय गठबन्धनबाट पुनः सांसद बन्ने मौका पाए ।
बागलुङबाट सांसद हुने मध्ये बामपन्थी नेताहरु चित्र बहादुर केसी उपप्रधान सहितको मन्त्री, देवेन्द्र पौडेल शिक्षा मन्त्री र राजमीप्रसाद शर्मा उर्जा राज्यमन्त्री बन्न सफल भएका थिए । नेपाली कांग्रेसबाट मिन बहादुर खत्री वन तथा भूसंरक्षण सहायक मन्त्री र चम्पादेवी खड्का सहकारी तथा गरिवी निवारण राज्यमन्त्री बनेकी थिइन । माओवादी नेता दिनानाथ शर्मालाई २०७१ को उपनिर्वाचनमा उमेदवार बनाएर पठाएको थियो, तर उनी पोखराबाट बागलुङ नै आएनन्, उमेदवार पनि बनेनन्, पछि समानुपातिक सांसद बनेर शिक्षामन्त्री भए ।
झट्ट हेर्दा यो इतिहास हो । बहुदलीय व्यवस्थाको पुनस्थापनापछिका ७ वटा निर्वाचनमा बागलुङबाट संसदमा प्रतिनिधित्व गर्ने दलहरु र तिनका उमेदवारहरुको अवस्था हेर्दा मुख्य चार दललाई जनताले पटक पटक मतदान गरेका छन् । तर के जनताले मत दिएर जिताएका प्रतिनिधिहरु सबैले जनताको अपेक्षा, चाहना र भावना अनुसार काम गरेका छन् त ? राजनीतिक दलहरु जनताको काम, आफ्नो संगठन निर्माण भन्दा पनि सत्ताका लागि टेको अर्थात गठबन्धनकै भर पर्ने अवस्था झन भन्दा झन बढीरहेकै छ ।
२०४८ र २०७० मा एक्लै ३ वटा क्षेत्रमा विजय प्राप्त गरेको नेपाली कांग्रेस क्रमश बामपन्थी दलहरुको आड लागेर निर्वाचनमा जानु पर्ने अवस्थामा पुगेको छ । कुनै दिन बागलुङमा कांग्रेसको एकछत्र राज थियो, तर आजको दिनमा चुनाव आयो कि ? कांग्रेसलाई समेत टेको कता खोज्ने हो भन्ने पिरलो देखिन्छ । २०४८, २०७० र २०७९ मा एकल उमेदवारी दिएको एमालेले अन्य ४ वटा निर्वाचनमा बामपन्थी तालमेल गरेर मात्रै विजय प्राप्त गरेको छ । राष्ट्रिय जनमोर्चाले २०६४ मा एक पटक एक्लै र अन्य ४ पटक तालमेल गरेर तथा साविकको माओवादीले त २ पटक नै गठबन्धनबाट मात्र संघीय सांसद जितेको छ ।
संघीय संरचना अन्तरगत प्रदेश सभाका लागि भएका दुइ वटै निर्वाचनमा गठबन्धन गरेरै दलहरु विजयी भएका छन् । २०७४ को निर्वाचनमा बामपन्थी गठबन्धनबाट बागलुङ क्षेत्र नं. १ (क) मा एमालेका इन्द्रलाल सापकोटा, १ (ख) मा राजमोका कृष्ण थापा, क्षेत्र नं. २ (क) मा माओवादीका चन्द्र बहादुर बुढा मगर तथा २ (ख) मा राजमोका टेक बहादुर घर्ति विजयी भए । घर्तिको निधन पछि भएको उपनिर्वाचनमा राजमोकै खीम बिक्रम शाही विजयी भए ।
यस्तै २०७९ को प्रदेश सभा सदस्यमा कांग्रेस, माओवादी लगायतको गठबन्धनबाट चार जना नै नेपाली कांग्रेसबाट विजयी भए । क्षेत्र नं. १ (क) बाट दिपेन्द्र बहादुर थापा, (ख) बाट डिल्लीराम सुवेदी तथा क्षेत्र नं. २ (क) बाट जीत शेरचन र (ख) बाट द्रोण कुवर विजयी भए ।
संघीय र प्रदेशसभा निर्वाचन बाहेक स्थानीय तह अन्तरगत जिल्ला विकास समिति र हालको जिल्ला समन्वय समितिमा पनि बागलुङका दलहरुको गठबन्धन मोह उत्तिकै देखिन्छ । पालिका र वडातहसम्म गठबन्धन गरेरै निर्वाचन लड्ने प्रचलन पछिल्लो समय अलि बढी नै देखिएको छ ।
२०४९ को स्थानीय निर्वाचनमा सभापतिमा गोपाल प्रसाद सापकोटा र उपसभापति डिलेन्द्र बहादुर राम्जाली सहित जिल्ला विकास समितिमा बहुमत नेपाली कांग्रेसले जितेको थियो । २०५४ मा एमाले र राजमोको तालमेलबाट सभापति राजमोका लिल बहादुर थापा र उपभासभापति एमालेका मोहनलाल शर्मा सहित बहुमत बामपन्थी गठबन्धनले जितेको थियो । त्यसयता २०७४ सम्म स्थानीय तहको निर्वाचन भएन ।
२०७४ मा भएको निर्वाचन अन्तरगत जिल्ला समन्वय समितिमा पनि बामपन्थी गठबन्धनले विजय प्राप्त गरेको थियो । प्रमुखमा राजमोका राजेन्द्र ढुंगाना र उपप्रमुखमा एमालेका विष्णु प्रसाद भुषाल थिए भने २०७९ को स्थानीय तह निर्वाचनबाट कांग्रेस बामपन्थी गठबन्धनका नेताहरु विजयी भए । प्रमुखमा राजमोका अमर बहादुर थापा र उपप्रमुखमा नेकपा एसका होमनाथ सापकोटा विजयी भएका थिए ।
बागलुुङका १० वटा पालिकाहरुको अवस्था हेर्दा पनि अधिकांशमा गठबन्धन भएकै दलको जित हुने अवस्थाका कारण पनि दलहरु संगठन निर्माण, पार्टीको शक्ति बढाउने भन्दा पनि चुनावका बेला को संग गठबन्धन गर्दा सुरक्षित भइन्छ भन्नेमा बढी लागेको देखिन्छ । यसरी हेर्दा बागलुङको राजनीतिमा संसदमा नेपाली कांग्रेस, राजमो, एमाले र माओवादीको प्रतिनिधित्व देखिन्छ भने जिल्ला विकास समिति र जिल्ला समन्वय समितिमा राजमो र नेपाली कांग्रेसले प्रमुख पाएको अवस्था छ ।
बागलुङको राजनीतिमा बहुदलीय व्यवस्था अन्तरगत एक्ला एक्लै निर्वाचन लड्ने भन्दा पनि गठबन्धन गरेरै प्रभुत्व जमाउने अवस्था विद्यमान छ । जुन शक्ति तेस्रो बन्छ, उसैले महत्वपूर्ण पद प्राप्त गर्ने विगतको अवस्था अहिले पनि विद्यमान छ यद्यपी पछिल्लो जनमत हेर्दा पुराना दलहरुको गठबन्धन मै चुनौती थपिएको छ ।
अब निर्वाचनको दौडधुप शुरु हुदै गर्दा दलहरुले कतातिर गठबन्धन गर्छन् र हाम्रो अवस्था के हुन्छ भन्ने विषयमा अन्यौलग्रस्त छन् । पछिल्लो निर्वाचनमा एक्लै प्रतिस्पर्धामा गएको एमाले अबको बलियो शक्ति हो कि ? भन्ने अवस्था निर्वाचनको परिणामले देखाउछ, यद्यपी पछिल्लो जेन जी आन्दोलनपछि एमालेप्रति पनि केही आशंकाहरु देखिएका छन् । कांग्रेस सहितको सहभागितामा एमाले नेतृत्वको सरकार रहेकै समयमा जेन जी आन्दोलनमा भएको सरकारी हस्तक्षेप र युवा जनशक्तिको मृत्युका कारण यि दुवै दलप्रति जनताको अभिमत के हुन्छ ? यसै भन्न सकिने अवस्था छैन ।
छुट्टा छुट्टै निर्वाचनमा प्रतिस्पर्धा गर्दा बागलुङमा अहिले पनि नेपाली कांग्रेस र नेकपा एमालेका बीच प्रतिस्पर्धा हुने अवस्था छ । तर पछिल्लो निर्वाचनमा घण्टी चुनाव चिन्ह भएको राष्ट्रिय स्वतन्त्र पार्टीले मुख्य दलहरुलाई चुनौती दिएको छ । दल दर्ता भएको ६ महिना भित्रै भएको निर्वाचनमा रास्वपाका उमेदवारले उल्लेख्य मत पाएपछि र पछिल्लो समय स्वदेश तथा विदेशमा रहेका मतदाताहरुले विकल्पको खोजी गर्न थालेपछि पुराना दलहरुका लागि जोखिम बढ्दै गएको छ ।
शुरुदेखि नै आफ्नो चुनाव चिन्हमा मात्र प्रतिस्पर्धा नगरेका कारण बामपन्थी दलहरु जसरी अरुको टेको लगाएर मात्रै चुनाव जित्ने अवस्थामा छन्, विचार नै फरक भएका बामपन्थीहरुसंग गठबन्धन गरेका कारण नेपाली कांग्रेस पनि यतिबेला रक्षात्मक बन्दै गएको छ । कांग्रेस एक्लै निर्वाचनमा होमिन नसक्ने अवस्था सिर्जना हुनु नेतृत्वको कमजोरी भएको स्वयं काग्रेस कार्यकर्ताहरु बताउछन् ।
अब हुने निर्वाचनमा गठबन्धन कसरी हुन्छ, नयाँ शक्तिका रुपमा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका कसरी अगाडि बढ्छ भन्ने कुराले नै बागलुङको संसदीय राजनीतिको अंक गणित निर्भर हुनेछ ।
तर, जनताले गठबन्धनलाई खासै रुचाएका छैनन् भन्ने कुरा पनि दलका नेताहरुले राम्रोसंग बुझ्न जरुरी छ । ५ दलीय गठबन्धन हुदा ति गठबन्धन गर्ने दलका कार्यकर्ताले अन्यत्र मत दिएको विषय पनि दलका नेताहरुका लागि चुनौती नै छ । चुनावमा गठबन्धन गर्ने प्रचलन बागलुङमा एमाले र राजमोले शुरु गरेका हुन् भन्दा अत्युक्ती हुदैन, गठबन्धनले दल बलियो होइन, परनिर्भर बन्छ भन्ने कुरा पनि बागलुङकै राजनीतिबाट बुझ्न सकिन्छ ।
यतिबेला नयाँ शक्तिहरु जनताको बिचमा निर्धक्क संगठन गर्न र आफुलाई सहयोग गर्न आव्हान गर्दै हिडेका छन् । उनीहरुलाई हामी नयाँ हौ, पुरानाले भन्दा राम्रो गर्छौ मात्रै भन्दा हुने अवस्था छ भने पुराना दलहरुले साढे तिन दशकको उपलब्धी गुणगान र कमजोरीको समेत जवाफ दिनु पर्ने अवस्था छ । अझै एमाले र कांग्रेसलाई त जेन जी आन्दोलनको बारेमा समेत थप प्रश्न गर्न मतदाता तम्तयार भएर बसेका छन् ।
