• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

नेकपा बागलुङले गर्याे निर्देशन विपरित एकै परिवारका दुइ उमेदवार सिफारिस

बागलुङ । बागलुङ क्षेत्र नं. २ बाट २ पटक सांसद जितेर शिक्षामन्त्री समेत भएका नेपाली कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेल आगामी निर्वाचनका लागि क्षेत्र नं. १ बाट उमेदवार सिफारिस हुनु भएको छ ।

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी बागलुुङले पौडेललाई क्षेत्र नम्बर एकबाट प्रत्यक्षतर्फ उमेदवारका रुपमा सिफारिस गरेको हो ।

२०७४ को संघीय निर्वाचनमा क्षेत्र नं. २ बाट बामपन्थी गठबन्धन र २०७९ मा बाम प्रजातान्त्रिक गठबन्धनबाट उमेदवार भई दुवै पटक सांसद पदमा विजयी तथा एक पटक शिक्षामन्त्री बनेका पौडेललाई यस पटक क्षेत्र नं. १ को उमेदवारका रुपमा सिफारिस गरिएको नेकपा बागलुङले जनाएको छ ।

विभिन्न डेढ दर्शन पार्टी एकीकरण गरेर बनेको नेकपा बागलुङको शनिवार गलकोटमा सम्पन्न बैठकले नेतृ बलावती शर्मालाई क्षेत्र नं. १ बाट समानुपातिक उमेदवार सिफारिस गरेको छ । ब्रम्हाणतर्फबाट शर्मालाई समानुपातिक उमेदवार सिफारिस गरिएको नेकपाले जनाएको छ ।

नेकपाले उमेदवार छनोटका लागि पठाएको विशेष परिपत्र अनुसार एकाघरबाट दुइ जना व्यक्तिलाई उमेदवार सिफारिस गर्न नसकिने मापदण्ड रहेको भए पनि देवेन्द्र पौडेल र उहाँकी पत्नी नेतृ बलावती शर्माले उमेदवारका लागि इच्छा व्यक्त गर्नु भएकाले पौडेललाई प्रत्यक्ष र शर्मालाई समानुपातिक तर्फ पार्टी केन्द्रको तजविजका लागि आवश्यक जानकारी साथ सिफारिस गरिएको नेकपामा आवद्ध चार घटकका तर्फबाट केन्द्रीय कार्यालयमा पठाइएको जानकारीमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एस सहितका पार्टीहरु मिलेर बनेको नेकपाका तर्फबाट पिंगलराज गौतम, प्रकाश घर्ति, एक बहादुर केसी र बाबुकाजी केसीले केन्द्रलाई पठाएको पत्रमा एकै परिवारका दुइ जनाको विषयमा केन्द्रको तजवीजका लागि अनुरोध गरिएको छ ।

पौडेलसंगै प्रत्यक्षमा क्षेत्र नं. १ बाट २०७० सालको निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रका उमेदवार कृष्ण बहादुर केसी, बाबुकाजी केसी, पिंगलराज गौतम, चिनीमाया काला मगर र कुलचन्द्र शर्मालाई सिफारिस गरिएको छ ।

यस्तै क्षेत्र नं. २ बाट प्रत्यक्षतर्फ नेकपा नेताहरु ज्ञामनाथ गैर (अनिल), कमल प्रसाद घिमिरे, हर्क थापा, केशरी घर्ति मगर, चन्द्रलाल अर्याल, युवातर्फ दिवश खत्री र जेन जी तर्फ अविशेक जंग श्रीपालीलाई सिफारिस गरिएको छ ।

यस्तै नेकपाले समानुपातिकतर्फ क्षेत्र नं. १ बाट जनजातीतर्फ चेत बहादुर पुन (चिरण), ब्रम्हाणतर्फ बलावती शर्मा र सीता शर्मा, क्षेत्रीतर्फ ज्ञानी कुमारी थापा, जनजातीतर्फ गगन बहादुर पुन, दलिततर्फ टिका कुमारी विश्वकर्मा, जनजातीतर्फ निर्मल बहादुर श्रेष्ठ र युवा तथा वेपत्ता परिवारको तर्फ आरती शमालाई सिफारिस गरेको छ ।

क्षेत्र नं. २ बाट समानुपातिकतर्फ जनजातीमा निल बहादुर पुन, दलित, सहित परिवार तथा घाइते अपाङ्ग योद्धातर्फ मेख बहादुर वि.क, अल्पसंख्यकर्फ केशर छन्त्यल र गंगा बहादुर भुजेल, दलिततर्फ झक प्रसाद वि.क., दलित महिलातफृ मन कुमारी विक तथा युवातर्फ अनिल वि.क.लाई सिफारिस गरेको छ ।

नेकपाको वैठकले माघमा हुन गैरहेको राष्ट्रिय सभा सदस्यका लागि पदम बहादुर पुन र रुद्र प्रसाद शर्मालाई उमेदवार सिफारिस गरेको छ ।