• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

बागलुङ महोत्सवः व्यवसायमा आशाको सञ्चार

सम्पादकीय
यतिबेला देशभर मेला, उत्सव, महोत्सवको सिजन चलिरहेको छ । यो समयमै किन देशव्यापी रुपमा यति धेरै मेला, महोत्सवहरु हुन्छन् ? मुख्य त यो समयमा देशभरका किसानहरु खेतीबाली थन्काएर बसेका हुन्छन् । उनीहरु अरु महिनाको तुलनामा केही फुर्सदिला हुन्छन् । यसबारे कुनै महोत्सवमा लोकप्रिय गायिका विष्णु माझील लाइभ दोहोरीमा जवाफ फर्काउने क्रममा भनेको गीतको टुक्काले थप प्रष्ट पार्छ ।
पुसको महिना, छैन काम चाप चाप नि
गुन्द्री हाल्नी, हाई काड्नी घाम ताप्नी
फुर्सदिलो समय सँगै जाडो मौसम भए पनि मानिसहरु नाचगान गरेर न्यानोपनमा रमाउँछन् । कलाकारहरुका लागि त यो समय किसानका लागि असार भए जस्तै हो । नाम चलेका कलाकारलाई त दैनिक देश दौडाहा गरेर सांगीतिक प्रस्तुति दिन भ्याई नभ्याई छ ।

बागलुङमा परम्परागत मेलाको इतिहास त सयौं वर्ष पुरानो छ । तर, महोत्सवको आयोजना हुन थालेको दुई दशक हाराहारी भएको छ । अहिले बागलुङमा आठौं पटक महोत्सव भइरहेको छ । हरेक दुई दुई वर्ष अर्थात् एक वर्षको अन्तरालमा आयोजना हुने महोत्सवले बहुआयामिक अर्थ र महत्व राख्छ । ‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित महोत्सवसँगै गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला जोडिएकोे छ । महोेत्सवमा तयार पारिएका २०० बढी व्यापारिक स्टलहरु भरिभराउ भएका छन् । यसले महोत्सव मार्फत आयोजक बागलुङ उद्योग वाणिज्य संघले गर्न खोजेको धेरै कुरा बोल्छ । महोत्सवमा ‘मेड इन बागलुङ’ लगायत स्थानीय उत्पादनदेखि उद्यम, व्यापारको सम्भावना, बजारिकरणको पहल पनि गरिएको छ । उसो त पछिल्लो बागलुङ बजारकै भविष्य माथि चासो र चिन्ता अधिक छ । यहाँको व्यापार, व्यवसाय कैयन पलायन भइसकेका छन् । व्यापार व्यवसाय चलाइराखेकाहरु पनि धेरै चाहीँ निराश र हताश मनस्थितिमा देखिन्छन् । यस्तो बेलामा व्यावसायिक रुपमा नै चहल पहल हुने गरी महोत्सवले भूमिका खेल्छ । १० दिन सम्म चल्ने महोत्सवले कैयनको व्यवसाय, जीविका र दैनिकीमा उल्लेख्य टेवा दिन्छ ।

बागलुङ महोत्सव अहिले यस्तो बेलामा भएको छ, जुन हालै मात्र देशमा जेनजी आन्दोलन भएर उद्योग, व्यापार व्यवसाय क्षेत्र निराशामा छ । जसमा उत्साह र आशाको सञ्चार गराउने सामथ्र्य यस्ता उत्सव महोत्सवहरुले राख्दछ । महोत्सवलाई सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने औजारको रुपमा काम गर्न सक्छ । बागलुङ बजारका व्यवसायीलाई थोरै मात्रै भए पनि आशा र उत्साहको सञ्चार गराएको छ । यसका लागि बागलुङ उद्योग बाणिज्य संघ धन्यवादको पात्र छ । तर, बागलुङ बजार भित्रै महोत्सव जस्ता बृहत कार्यक्रम गर्ने सार्वजनिक स्थल नहुँदाको नियति दोहोरिरहेको छ । जसका कारण कहिले उपल्लाचौर त कहिले बाङ्गेचौरमा महोत्सव आयोजना गर्नुपरेको छ । यस महोत्सवले बागलुङ बजार चलायमान बनाइ राख्ने त्यस्तो सार्वजनिक स्थलको आवश्यकताबोध र सुनिश्चितताको बहस पनि जन्माएको छ । आयोजकका अनुसार महोत्सवमा ८ देखि १० लाख दर्शकले अवलोकन गर्नु, १० करोड माथिको आर्थिक कारोबार गर्ने उद्देश्य आफैमा महत्वपूर्ण कुरा हो । हाम्रा गाउँ घर र जिल्लामा आयोजित मेला–महोत्सवहरू केवल मनोरञ्जनका लागी मात्र कदापि होइनन्, यसलाई स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण आधारका रूपमा स्थापित गर्दै लैजान सके मात्रै यसको महत्व र सार्थकता बढ्दै जानेछ । स्थानीय उत्पादनको पहिचान, गुणस्तर, ब्रान्डिङ, बजारिकरण र अन्तर्राष्ट्रिय स्तर सम्म निर्यातको योजनालाई यस्ता मेला महोत्सवले जोड्ने पुलको काम गर्नुपर्छ । मेला–महोत्सवलाई केवल नियमितता र अस्थायी उत्सवमा सीमित नराखी जिल्लाको दीर्घकालीन आर्थिक रणनीति र भविष्यसँग जोड्न अपरिहार्य छ ।