बागलुङ । जेन जी आन्दोलनको जगमा बनेको वर्तमान अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकेको छ । सरकार निर्वाचन जसरी पनि गर्ने प्रतिवद्धताका साथ अगाडि बढेको छ भने दलहरु निर्वाचनका लागि पहिलो शर्त शान्ति सुरक्षा हो भन्दै आशंका व्यक्त गरिरहेका छन् ।
यद्यपी राजनीतिक दलहरुले प्रतिनिधिसभा निर्वाचन अन्तरगत समानुपातिकतर्फका उमेदवार सिफारिस गर्ने कार्यलाई अगाडि बढाइरहेका छन् ।
निर्वाचन आयोगले पुस १४ गते अपरान्ह ४ बजेभित्र समानुपातिकतर्फका उमेदवारको बन्दसूची पेश गर्न आव्हान गरेको छ । आयोगको आव्हान अनुसार नै राजनीतिक दलहरु यतिबेला समानुपातिकतर्फका उमेदवार छनोटमा सक्रिय छन् ।
निर्वाचन आयोगले निर्धारित समयसीमाभित्र मात्र बन्दसूची पेश गर्न आग्रह गर्दै समयपछि पेश गरिने बन्दसूची स्वीकार नहुने स्पष्ट पारेको छ । साथै राजनीतिक दलहरुले निर्वाचन कार्यक्रम अनुसार तयार गरेको बन्दसूची पेश गरिएको वा पेश नगरिएको विषयमा सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न समेत अनुरोध गरेको छ ।
यसैक्रममा बागलुङका राजनीतिक दलहरुले पनि समानुपातिक उमेदवारको नाम केन्द्रमा सिफारिस गर्दैछन् । कांग्रेस, एमाले लगायतका दलहरुले नाम पठाइसकेका छन् भने अन्य दलहरु प्रक्रियामा छन् । कसैले वैठकबाट त कसैले पदाधिकारीहरुबीच छलफल गरेर नाम केन्द्रमा पठाएका छन् ।
२०४६ को परिवर्तन पछि बागलुङको संसदीय राजनीति यहाँका मुख्य चार दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा कै वरिपरी घुमेको छ ।
२०४८ देखि २०७९ सम्म भएका सबै निर्वाचनमा यिनै चार दलका उमेदवारहरु विजयी भएका छन् । चुनावी तालमेल होस् वा गठबन्धन ? चुनाव जित्ने र राज्यको नीति निर्माण तहमा यिनै चार दललाई जनताले अवसर दिएका छन् । यो अवधीमा नेपाली कांग्रेसले ९ जना, एमालेले ३ जना, राजमोले २ जना र माओवादीले १ जनालाई संघीय सांसद बनाएको छ ।
प्रत्यक्ष निर्वाचित सांसदहरु मध्ये नेपाली कांग्रेसबाट २ जना, एमालेबाट एक जना र माओवादी केन्द्रबाट एकजना मन्त्री बन्न सफल भएका छन् । प्रत्यक्ष निर्वाचन मात्र होइन, समानुपातिकतर्फबाट पनि यिनै चार दलका नेताहरु राज्यको नीति निर्माण गर्ने तहमा पुगेका छन् । समानुपातिकतर्फबाट सांसद भएर मन्त्री बन्नेमा यि चारवटै पार्टीका एक एक जना नेता रहेका छन् ।
राजमो र माओवादी केन्द्रका तर्फबाट संघीय मन्त्री तथा एमाले र कांग्रेसबाट गण्डकी प्रदेशको मन्त्री बन्न सफल भएका छन् । समानुपातिक सांसद र मन्त्री बन्ने अवसर नेपाली कम्युनिष्ट पार्टी (साविक नेकपा माओवादी केन्द्र) का नेता दिनानाथ शर्मा, राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसी, नेपाली कांग्रेसका नेता मणिभद्र शर्मा कंडेल र नेकपा एमाले नेता कृष्ण पाठकले पाएका छन् ।
संयोग नै मान्नु पर्छ, बागलुङबाट समानुपातिक सांसद बनेर मन्त्री हुनेमा चार जना नै खसआर्य समुह (अन्य) बाट परेका छन् । पार्टीगत रुपमा पनि जिल्लाको संसदीय राजनीतिमा प्रभावशाली उपस्थिति जनाएका ४ वटै पार्टीबाट एक एक जना मन्त्री बनेका छन् । अर्को संयोग ४ जना मन्त्री भएकोमा शर्मा र पाठक अमलाचौर निवासी हुन् ।
२०६४ को संविधानसभा सदस्यमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य भएका नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्मा २०६८ मा डा.बाबुराम भट्टराईको मन्त्रीमण्डलमा शिक्षा मन्त्री भएका थिए ।
समानुपातिकबाट संविधानसभा सदस्य र शिक्षामन्त्री भएका शर्माले प्रत्यक्ष निर्वाचनमा अहिलेसम्म प्रतिस्पर्धा गरेका छैनन् । चुनावी प्रतिस्पर्धामा एकपटक पनि भाग नलिई संघीय सरकारको मन्त्री बन्ने भाग्यमानी नेतामा शर्मा पर्दछन् ।
शर्मालाई २०७१ चैतमा भएको बागलुङ क्षेत्र नं. १ को उपनिर्वाचनमा उमेदवार बनाउने निर्णय माओवादी केन्द्रले गरेको थियो । शर्मा उमेदवारी दर्ताका लागि काठमाडौंबाट बागलुङ त हिडे तर पोखराबाट यता आएनन्, विरामी भएको भन्दै उपचारमा लागेपछि माओवादी केन्द्रले कृष्ण बहादुर केसीलाई उमेदवार बनाएको थियो ।
३ पटकसम्म प्रत्यक्ष सांसद जितेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी पनि मन्त्री बन्ने समयमा भने समानुपातिक सांसद थिए । केसी २०७२ मा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री सहित सहकारी तथा गरिवी निवारण मन्त्री भए । २०५६, २०६४ र २०७९ मा प्रत्यक्षतर्फ विजयी भएका केसी २०७० मा राजमोको समानुपातिकतर्फको एक नम्बरमा परेका थिए । समानुपातिकबाट संविधानसभा सदस्य भएका केसीलाई एमाले र माओवादी केन्द्र सहितको गठबन्धन सरकारमा उपप्रधानसहित मन्त्री बन्ने अवसर मिल्यो ।
प्रत्यक्ष निर्वाचित हुदा मन्त्री बन्ने अवसर नपाएका केसी समानुपातिकतर्फबाट सांसद भएको समयमा बागलुङबाट पहिलो पटक उपप्रधानमन्त्री बन्न सफल भए । गाउँघरमा प्रचलनमा रहेको ‘राजग्रह लेखेको छ भने अवसर आउछ’ भन्ने कुरा केसीको हकमा पनि संयोग परेको देखिन्छ । सत्ता भन्दा पनि संसदको भण्डाफोर गर्ने नीति लिएको र संघीयताको विरोधमा रहेको राजमोबाट मन्त्री त्यो पनि उपप्रधान सहित हुने कुरा संयोग नै मान्नु पर्छ ।
समानुपातिकबाट सांसद बनेर मन्त्री बन्नेमा नेपाली कांग्रेसका नेता मणिभद्र शर्मा पनि पर्दछन् । कांग्रेसमा वैचारिक नेताको छवि बनाएका शर्मा २०४८ को आम निर्वाचनमा जिल्ला सभापति गोविन्द प्रसाद शर्मा कंडेल सांसद पदमा विजयी भएपछि कार्यवाहक सभापति भएका थिए । सत्तारुढ पार्टीको सभापतिको रुपमा कंडेलले प्रभावकारी रुपमा कांग्रेस हाँकेका थिए । राज्यका निकायहरुमा ‘जयनेपाल’ संस्कृति चलाएका शर्मा २०५१ देखि २०७४ सम्म भने संस्थापन बन्न सकेनन् ।
कांग्रेसले आफ्नै सरकार टिकाउन नसकेर २०५१ मा मध्यवधीमा गएपछि उनी आफै टिकटको दावेदार भए, तर टिकट नपाएपछि गोविन्द प्रसाद कंडेल जिताउने अभियानमा निष्क्रिय भएपछि उनी राजनीतिमा पछि पर्दै आएका थिए ।
२०५४ मा जिल्ला विकास समितिको सभापतिमा उमेदवार भए, २०६४ को संविधानसभा सदस्य निर्वाचनमा क्षेत्र नं.२ बाट उमेदवार भए । दुवै पटक राजमोका उमेदवारबाट उनी पराजित भए । सभापतिमा लिल बहादुर थापा र संविधानसभा सदस्यमा चित्र बहादुर केसीसंग उनी पराजित भएका थिए । २०५१ पछि बागलुङ कांग्रेसमा सदाबहार प्रतिपक्षी जस्ता बनेका कंडेल २०७४ मा समानुपातिकतर्फबाट गण्डकी प्रदेशसभा सदस्य भए । कृष्णचन्द्र नेपाली मुख्यमन्त्री भएको समयमा उनी गण्डकी प्रदेशको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भए ।
२०४८ को आम निर्वाचनमा बागलुङ क्षेत्र नं. २ बाट उमेदवार बनेका एमाले नेता कृष्ण पाठक २०७९ मा समानुपातिकतर्फबाट गण्डकी प्रदेशसभाको सदस्य भए । अहिले उनी गण्डकी प्रदेश सरकारको स्वास्थ्यमन्त्री छन् । युवा उमेरमै संसद सदस्य पदका लागि निर्वाचन लडेका पाठक २०५४ को स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको सदस्य (इलाका सदस्य) भए । त्यसयता निर्वाचनमा सहभागी नभएका पाठक निरन्तर राजनीतिमा सक्रिय भए पनि लाभको पदमा पुग्न सकेका थिएनन्, पछिल्लो पटक उनलाई पार्टीका अध्यक्ष र गण्डकीका नेता खगराज अधिकारीको निरन्तरको साथ काम लागेको छ । बागलुङबाट संघीय तथा प्रदेशसभामा समानुपातिकबाट सांसद पदमा अवसर पाउने नेताहरुमा कांग्रेसबाट संघमा रत्ना शेरचन तथा प्रदेश सभामा मणिभद्र शर्मा कंडेलसंगै कोपिला बोहोरा, चम्पादेवी खड्का र दिलमाया पौवी छन् ।
नेकपा एमालेबाट २०७० मा नर बहादुर थापा र महेन्द्र शेरचन, २०७४ मा मन कुमारी केसी जिसी, २०७९ मा देवी प्रकाश भट्टचन संघीय सांसद बनेका थिए भने प्रदेशसभामा २०७९ मा पाठकसंगै लिल बहादुर थापा मगर, गोविन्द बहादुर नेपाली र बिना थापा रहेका छन् । एमालेबाट समानुपातिक सांसद बनेकी बिना थापा गण्डकी प्रदेशसभामा उपसभामुख छिन् ।
राजमोबाट चित्र बहादुर केसी बाहेक मिना पुन संघीय सांसद बनिन् । गण्डकी प्रदेशसभामा पियारी थापा समानुपातिक सांसद भएकी थिइन । राजमोबाट राष्ट्रियसभा सदस्यमा राजेश विश्वकर्मा रहेका छन् ।
यस्तै नेपाली कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) बाट दिनानाथ शर्मासंगै क्याप्टेन पूर्ण बहादुर राना र केशरी घर्ति संघीय सांसद तथा दिलमाया रोका प्रदेश सांसद बनिन् । वर्तमान गण्डकी प्रदेशसभामा कुसुम बुढा सदस्य छिन् ।
ऐतिहासिक जनआन्दोलन २०६२÷०६३ पछि राज्यका नीति निर्माण तहमा सबै सामाजिक समूहको उचित प्रतिनिधित्व सुनिश्चित गर्न, कमजÞोर वर्ग, महिला, अल्पसंख्यक, जातीय, भाषिक र धार्मिक विविधता भएका समुदायको समावेश गर्न मद्दत पुर्याउने उद्देश्यका साथ समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको थियो ।
समानुपातिक व्यवस्था कायम भएपछि राजनीतिक दलहरुले विभिन्न समुदाय र भुगोलमा पछि परेका, राजनीतिमा महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई समानुपातिक कोटाबाट संसदमा सहभागिता गराउन थालेका हुन् ।
चुनाव महंगो बन्दै जानु, चुनावी प्रतिस्पर्धामा भाग लिन कठिन भएकाहरुलाई समानुपातिकतर्फबाट सांसद बनाएर राज्यका नीति निर्माणमा सहभागी गराउने काम विगत २ दशकदेखि बन्दै आएको छ ।
यद्यपी राजनीतिक दलबाट समानुपातिक सांसद बनाउनका लागि गरेका विभिन्न गलत क्रियाकलापका कारण समानुपातिक प्रणालीलाई नै बद्नाम समेत बनाएको छ । दलहरुका मुख्य नेताहरु नै समानुपातिकमा बस्ने, नेताका परिवार, नेताका आसेपासे, नेताको जिउ हजुरी गर्ने तथा पार्टीलाई चुनावका लागि प्रशस्त रकम उपलब्ध गराउनेहरु समेत समानुपातिक सांसद बन्ने गरेको गुनासो दलहरु भित्रै व्यापक छ ।
समानुपातिक सांसद चयन गर्दा अवसरबाट वञ्चित भएकाहरु तथा विज्ञहरुलाई प्राथमिकता दिनु पर्नेमा पैसावालाहरुलाई प्राथमिकता दिने गरेका चर्चा परिचर्चा व्यापक नै छ ।
एउटा कार्यकाल एउटा दलबाट समानुपातिक सांसद बनेको व्यक्ति अर्को पटक अर्को दलबाट समानुपातिक सांसद बनेका उदाहरणहरु पनि सतहमा छन् ।
समानुपातिक प्रतिनिधित्वको विषयलाई बद्नाम गराउने काम रोक्नका लागि पार्टीका इमान्दार नेता कार्यकर्ताको दवाव र जनताको खबरदारी आवश्यक छ ।
