• २०८३ आश्विन १६, शुक्रबार
  • 2026 October 02, Friday

मृगौला प्रत्यारोपणमा आर्थिक अभाव भएपछि पीडितद्वारा सहयोगको अपिल

बागलुङ । मृगौलामा समस्या देखिदा मनिषा १७ वर्षकी थिइन् । उनी १२ कक्षमा पढ्थिन । औषधी खाएर निको हुन्छ भनेको समस्या बल्झिदा बल्झिदै मृगौला प्रत्यारोपण गर्नु पर्ने अवस्थामा पुगेको छ ।

बागलुङ नगरपालिका १ की मनिषा बोसेलले मृगौलामा समस्या देखिएर औषधी खान थालेको ७ वर्ष भयो । डायलायसिस गराउन थालेको ४ वर्ष भयो । सामान्य आर्थिक अवस्था भएका मनिसाका परिवार यतिबेला उनको उपचार गराउँदा गराउँदै विपन्न भएका छन् ।

स्वास्थ्य समस्याकै बिचमा स्नातक भर्ना भएकी मनिसाले रोगसँग लड्दा पढाईलाई निरन्तरता दिन सकिनन् । स्वास्थ्यले मात्र होइन् अर्थ पनि नभ्याएपछि बाच्नेसँगै पढ्ने पनि मनिषाका लागि सघर्ष बन्दै छ ।

मनिषालाई चिकित्सकले मृगौला प्रत्यारोपणको सुझाव दिएका छन् । आमा मिना बोसेल मृगौला दिन तयार हुनुहुन्छ । तर, चेकजाँच, प्रत्यारोपण र त्यसपछिको रेखदेखका लागि बोसेल परिवारसँग पैसा छैन् । रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा समेत मिडियाको माध्यमबाट आपिल गरि पैसा संकलन गरेर उपचार सम्भव भएको समाचार सुनेका बोसेल परिवारले बागलुङमा पत्रकार सम्मेलन गरेर सहयोगको अपिल गरेका छन् ।

मनिषा जस्तै धौलागिरी अस्पताल बागलुङमा डायलायसिस गराई रहेका जैमिनी नगरपालिका ७ धुल्लुका ३९ वर्षीय कमल नेपालीको पनि समस्या उस्तै छ । आर्थिक अवस्था कमजोर रहेका कमललाई मृगौलामा समस्या देखिएको ४ वर्ष पुग्यो । श्रीमती छोराछोरी र आमाबुबाको समेत जिम्मेवारी रहेका कमलालाई चिकित्सकले मृगौला प्रत्यारोपणको सुझाव दिएका छन् । श्रीमतीले मृगौला दिन तयार भएपनि आर्थिक अवस्था कमजोर हुँदा कमलले चेकजाँचको समेत प्रक्रिया अगाडी बढाउन सकेका छैनन् ।

धौलागिरी अस्पतालमा हप्ताको दुइ दिन निशुल्क डायलायसिस गर्दै आएका कमललाई सरकारले दिने मासिक ५ हजार रुपैयाँ सहयोगी भएपनि साध्य हुन सकेको छैन् । मृगौला म्याच गर्नेदेखि प्रत्यारोपण गर्नेसम्मको प्रक्रियाका लागि चिकित्सकले न्यूनतम २० लाख खर्च हुन्छ भनेका छन् । तर, कमलसँग निशुल्क डायलायसिस गर्न अस्पताल आउने जाने भाडा समेत छैन् ।

धौलागिरी अस्पताल बागलुङमा ७० जनाले नियमित डायलायसिस गराई रहेका छन् । केही अझै पालोको पर्खाइमा छन् । नेपाल सरकारले मृगौलाका विरामीलाई मासिक ५ हजार रुपैयाँ सहित डायलायसिस सेवा निशुल्क दिएको छ । मृगौलाले काम गर्न छाडेपछि कि नियमिति डायलायसिस गर्नु पर्छ कि मृगौला प्रत्यारोपण गर्नु पर्छ ।

आर्थिक अवस्था कमजोर भएका विरामीका लागि सरकारले दिएको डायलायसिससँगै ५ हजार रुपैयाँ प्रत्यारोपणका लागि प्रयाप्त नहुँदा सहयोगको अपिल गर्नुपर्ने बाध्यता भएको कमलले बताउनु भयो ।