बागलुङ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. १ का लागि एमालेबाट एकजनाको मात्र नाम सिफारिस गर्नका लागि कार्यदल गठन भएको छ ।
नेकपा एमाले निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं. १ को शुक्रवार सम्पन्न वैठकमा ८ जनाले उमेदवार बन्न दावी प्रस्तुत गरेका छन् । ८ जनाबाट सकेसम्म एक जना मात्र, एकजनाको मात्र संभव नभएमा एक महिला सहित ३ जनाको नाम पठाउन लागि संयोजन गर्न र्कादल गठन गरिएको हो ।
कार्यदलको संयोजकमा निर्वाचन क्षेत्रीय कमिटि क्षेत्र नं. १ का संयोजक तथा जिल्ला उपसचिव धन बहादुर परियार तथा सदस्यहरुमा संघीय क्षेत्र नम्बर एक अन्तरगतका ४ वटा पालिकाका अध्यक्ष र जिल्ला कार्यालय सचिव रहेका छन् ।
बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्मा, काठेखोला गाउँपालिका कमिटिका अध्यक्ष डिल बहादुर कार्की, जैमिनी नगरपालिका कमिटिका अध्यक्ष देवेन्द्र रेग्मी, बरेङ गाउँपालिका कमिटिका अध्यक्ष झोम बहादुर थापा तथा जिल्ला कार्यालय सचिव चन्द्रमणी उपाध्याय सहित ६ सदस्यीय कार्यदलले पुस २० गतेसम्म छलफल गरेर सहमतिमा नाम पठाउने तयारी गरेको छ ।
यतिबेला प्रतिकूल अवस्था छ, यस्तो बेलामा सकेसम्म एक जना मात्र उमेदवारको नाम पठाउने, उमेदवार हुन चाहने व्यक्तिको नाम केन्द्रमा पठाउने र नेता कार्यकर्ताहरु निर्वाचनका लागि गाउँ पस्ने गरी अगाडि बढौ भन्ने आम कार्यकर्ता र शुभेच्छुकहरुको चाहना छ, हामी त्यसै अनुसार सकेको प्रयत्न गर्दैछौ, कार्यदलका संयोजक धन बहादुर परियारले भन्नुभयो,–‘उमेदवार हुने चाहना गर्नु भएका नेताहरुले आफ्नो दावी छोड्नु भएन, माथि पठाएपछि मेरै आइहाल्छ भन्ने तरिकाले अगाडि बढ्नु भयो भने हामी सल्लाह गरेर नाम पठाउछौ ।’
सकेसम्म एक जना पठाऔ भन्नेमा नै छलफल भैरहेको छ, भएन ३ जना पठाउछौ, त्यो पनि सकिएन भने चाहना गरेका ८ जनाको नाम नै पठाउनु पर्ने हुन्छ, परियारले भन्नुभयो । एमालेको हालै सम्पन्न केन्द्रीय सचिवालय वैठकले पुस २० गते भित्र प्रत्यक्षतर्फ उमेदवारका लागि सिफारिस गर्न निर्देशन गरेको छ ।
केन्द्रीय सचिवालयले कम्तिमा एक जना महिला सहित ३ जनाको नाम पठाउन निर्देशन गरेको छ ।
उमेदवारका लागि दावी प्रस्तुत गर्नेहरुमा नेकपा एमालेका केन्द्रीय सदस्यहरु मन कुमारी केसी जिसी र डा.सूर्य पाठक, निवर्तमान केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, जिल्ला अध्यक्ष हिरा बहादुर केसी, पूर्व जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा, प्रदेश कमिटि सदस्यहरु गिता शर्मा र सञ्जय कुमार श्रेष्ठ तथा बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्मा रहनु भएको छ ।
उमेदवारमा दावी गरेकाहरु मध्ये ७ जना वैठकमा नै उपस्थित रहनु भएको थियो, केन्द्रीय सदस्य डा.सूर्य पाठक हाल जापान हुनुहुन्छ, उहाँले जापानबाटै उमेदवारीका लागि निवेदन पठाउनु भएको थियो, संयोजक परियारले भन्नुभयो ।
उमेदवार हुन चाहने व्यक्तिहरु स्वयं उपस्थित हुनु पर्ने आवाज वैठकमा उठेको थियो । बैठकमा एमाले बागलुङबाट समानुपातिकमा १४ जनाको नाम सिफारिस भएको विषयमा आदर्शसञ्चार डटकममा प्रकाशित समाचारका बारेमा पनि व्यापक छलफल भएको वैठकका एक सहभागीले बताए ।
एमालेले यस पटक समानुपातिकमा उमेदवार सिफारिसका लागि वैठक आयोजना गरेको थिएन, पार्टी महासचिव शंकर पोखरेलले जिल्ला अध्यक्ष र प्रदेश अध्यक्षहरुलाई समानुपातिकतर्फ उमेदवार हुन चाहनेहरुको नाम टिपाउन निर्देशन गरेको र सोही अनुसार जिल्ला अध्यक्ष, अन्य पदाधिकारी, पूर्व इन्चार्ज लगायतले इच्छुकहरुसंग समन्वय गरेर नाम पठाएका थिए ।
१४ जनाको नाम केन्द्रीय कार्यालयमा दर्ता भएको विषयमा आदर्शसञ्चार डटकममा समाचार प्रकाशित भएपछि मात्रै आफुहरुले जानकारी पाएको भन्दै कमिटिका सदस्यहरुले गुनासो गरेका थिए ।
