आदर्श अनलाइन, बागलुङ
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ बागलुङ क्षेत्र नं. २ बाट नेकपा एमालेका केन्द्रीय सदस्य मञ्जु शर्मा चालिसेको नाम सिफारिस भएको छ ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटि, प्रतिनिधि सभा क्षेत्र नं. २ को आइतवार सम्पन्न बैठकले चालिसेको नाम सर्वसम्मत सिफारिस गरेको एमाले जिल्ला उपाध्यक्ष विष्णु भुषालले जानकारी दिनुभयो । क्षेत्रीय समन्वय कमिटिका संयोजक तथा जिल्ला उपसचिव करमती पुनको अध्यक्षतामा बसेको वैठकले उमेदवारका लागि दावी गरेकाहरुसंगको परामर्श पछि चालिसेको नाम एकल रुपमा सिफारिस गरेको हो ।
चालिसे २०७९ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट एमालेको उमेदवार रहनु भएको थियो । तत्कालिन गठबन्धनका उमेदवार देवेन्द्र पौडेलसंग थोरै मतले पराजित चालिसे हालै सम्पन्न एमालेको एघारौ महाधिवेशनबाट गण्डकी भुगोलमा महिलातर्फबाट केन्द्रीय सदस्य निर्वाचित हुनु भएको हो । नेपाली कांग्रेसमा विद्रोह गरेर एमाले राजनीतिमा सक्रिय चालिसेलाई एकल उमेदवारका रुपमा सिफारिस गरेपछि क्षेत्र नं. २ मा एमाले नेता कार्यकर्तामा उत्साह थपिएको संयोजक पुनले बताउनुभयो ।
नेकपा एमाले क्षेत्रीय समन्वय कमिटि क्षेत्र नं. २ ले शुक्रवार गलकोटमा राखेको उमेदवारहरुका आकांक्षीहरुबीचको छलफलमा विघटित प्रतिनिधिसभामा एमालेका समानुपातिक सांसद रहेका देवी प्रकाश भट्टचन र ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली सहितका १२ जनाले दावी गरेका थिए । भट्टचन र नेपाली सहित प्रदेश कमिटि सदस्यहरु भीम प्रसाद शेरचन (सुनिल), टंक प्रसाद पौडेल र तिलक उप्रेती, पूर्व प्रदेश कमिटि सदस्य याम बहादुर श्रीस, पूर्व जिल्ला उपाध्यक्ष लक्ष्मण पुन, पूर्व प्रदेश कमिटि सदस्य अमरसिंह घर्ति, जिल्ला कमिटि सदस्य युवराज महत, बागलुङ काठमाडौं सम्पर्क मञ्चका दलबिर भण्डारी, गलकोट नगर कमिटिका उपाध्यक्ष इश्वर बोहोराले उमेदवारका लागि दावी गर्नु भएको थियो ।
प्रारम्भिक छलफलमा धेरैले दावी गरे पनि क्षेत्रीय समन्वय कमिटिले एकल नाम सिफारिस गरेर निर्वाचनमा केन्द्रीत हुने वातावरण सिर्जना गरेको उपाध्यक्ष भुषालले बताउनुभयो ।
