• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

स्वास्थ्य बीमा, सेवा प्रदायक र समस्या

सम्पादकीय

नेपालको बिडम्बना भन्नुपर्छ कि मानिसको आधारभुत आवश्यकता मध्येको शिक्षा, स्वास्थ्य जस्ता विषय निकै महँगो छ । सामान्य नागरिकको त स्वास्थ्यमा सहज पहुँच छैन । कुनै जटिल प्रकारको रोग लाग्यो भने घर खेत हुने बिडम्बनापूर्ण अवस्था छ । ऋण धन, घर खेत गरेर पनि उपचार खर्च जुटाउन नसक्नेहरु ‘भगवान भरोसा’मा बाँच्नुपर्ने अवस्था छ । उसो त ऋण धन गरेरै आफ्ना मान्छेको उपचार गर्नेहरु उपचार बिफल भए जीवनमरणकै दोसाधमा बाँच्नु पर्ने कहाली लाग्दो अवस्था बिद्यमान छ । यही कारण नेपाल सरकारले स्वास्थ्य बीमाको अवधारणा त ल्यायो तर, त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा बीमा कार्यक्रम आफै थला पर्ने भय र सन्त्रासका बिचमा छ ।

स्वास्थ्य बीमामा पहिले जुन आकर्षण थियो, आजको दिनमा त्यो छैन । आखिर किन त ? यसका पछाडि धेरै कारण छन् । पाँच वर्ष भित्र सबै नागरिकलाई समेट्ने लक्ष्यसहित आर्थिक वर्ष २०७१÷७२ मा स्वास्थ्य बीमा कार्यक्रम ल्याउँदा स्वास्थ्यमा सर्वव्यापी पहुँच पु¥याउने यसको पवित्र उद्देश्य थियो । यसका साथै आर्थिक कठिनाइ बिना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने थियो । यही अभियान अन्तर्गत ११ वर्षमा यो कार्यक्रम सबै जिल्लामा विस्तार त भएको छ । तर, कुल जनसंख्या मध्ये १ करोड २ लाख जना (३५ प्रतिशत) मात्रै बीमामा आबद्ध भएका छन् । यसलाई अझ नियालेर हेर्ने हो भने सक्रिय जनसंख्याको २१ प्रतिशत (६८ लाख ४५ हजार) नागरिक मात्रै बीमा कार्यक्रममा आबद्ध छन् । यसको अर्को निराशाजनक पाटो यो पनि छ कि गत मंसिर मसान्तसम्म नवीकरण गर्नेको संख्या जम्मा ५४ लाख ६१ हजार मात्रै छ । उसो त बीमा कार्यक्रम मार्फत् सेवा प्रवाह गरिरहेका अस्पतालहरुले लाखौं रकम भुत्तानी पाइरहेका छैनन् । अर्कोतर्फ बीमा गरेकाहरुले सेवा लिँदा झञ्झट र सास्ती बेहोर्नु परेको गुनासो तीब्र छ । नागरिकले सेवा पाउन नसक्दा सर्वसुलभ भनिएको स्वास्थ्य बीमामाथि नै प्रश्न उठिरहेको छ ।

स्वास्थ्य बीमा हाम्रो जस्तो देशका लागि अपरिहार्य कार्यक्रम हो । यो कार्यक्रमलाई थप प्रभावकारी बनाएर दुरदराजका नागरिकसम्म सर्वसुलभ स्वास्थ्यको पहुँच पु¥याउन सरकार र नागरिक सबैको साझा दायित्व हो । तर, बीमा कार्यक्रममा एकपछि अर्को समस्याहरु देखिन थालेको छ । एकातिर बीमा कार्यक्रममा आकर्षण घट्दो छ, जसका कारण बीमामा आवद्ध भएकालाई हरेक वर्ष नवीकरण गराएर टिकाउन र बीमा कार्यक्रम बाहिर रहेकाहरुलाई थप्न चुनौतीपूर्ण बन्दै गएको छ । बीमा बोर्डले स्वास्थ्य बीमाबाट १२८४ प्रकारका औषधि पाइने दाबी गरे पनि फार्मेसीहरुमा बीमा कार्ड देखाउँदा अधिकांश औषधि नपाइने अर्को बिडम्बना छ । बीमा गरेकाहरु सामान्य चेकजाँचका लागि पनि घन्टौं पालो पर्खिनु पर्ने तर नगदमा उपचार सेवा लिनेहरुले सहज, शीघ्र र गुणस्तरीय सेवा पाउने अवस्था कायमै राख्ने हो भने बीमा थप निश्प्रभावी बन्ने निश्चित छ । स्वास्थ्य बीमा गरेकाहरूलाई सेवा प्रदायकले हेर्ने दृष्टिकोणमै व्यापक समस्या देखिएको छ । यसलाई सरकारले समयमै हल नगर्ने, स्वास्थ्य बीमाको पहुँच र महत्वलाई बढाउँदै नलैजाने हो भने त्यसले भोलिका दिनमा समस्या जटिलता थप बढ्ने निश्चित छ । अतः सरकारले समयमै स्वास्थ्य जस्तो संवेदनशील विषयमा निकै अर्थ र महत्व राख्ने स्वास्थ्य बीमाको बिद्यमान समस्या र चुनौतीहरु समाधानका लागि तत्काल यथोचित पहलकदमी लिनुपर्छ ।