• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

टुटफुटकै पुरानै पथमा नयाँ दल

सम्पादकीय
वर्षौदेखिको रजगजमा सक्रिय पुराना मूलधारका राजनीतिक दललाई जेनजी आन्दोलनका कारण ठुलो झड्का लाग्यो । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेको दुई तिहाई बहुमत प्राप्त सरकार ४८ घण्टाको अन्तरालमा ढलेन मात्रै, सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, शीर्ष नेताहरुको भागदौड भयो । आन्दोलनको उत्कर्षका बेला नभागेर बुढानिलकण्ठ स्थित घरमै रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री समेत रहेका आरजु राणा माथि रगताम्य हुने गरी अपमानजनक तबरले कुटपिट र दुव्र्यवहार भयो । पुरानो सत्ता ढल्यो । र, गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनकै बलमा मुलुकमा अन्तरिम सरकार बन्यो । उक्त आन्दोलन पश्चात पुराना राजनीतिक दलहरु सुध्रिएलान् या विस्तारै सकिने अवस्थामा पुग्लान् भन्ने सर्वत्र अनुमान थियो । तर, अहिले पुरानाहरु सच्चिने पथमा त छैनन् नै, नयाँ वैकल्पिक भनिएका दलहरु पनि पुरानै पथमा देखिन थालेका छन् ।

पछिल्लो चुनावबाट उदियमान शक्तिको रुपमा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शनिवार एकाएक तरंगित गर्ने दुखद खबर सार्वजनिक भयो । १२ दिन अघि देशभर उत्साह र सुखद तरंग फैलाउने गरी सार्वजनिक भएको रवि लामिछाने नेतृत्वको रास्वपा, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी अन्ततः एकताको दुई साता नबित्दै विभाजनमा पुगेको छ । सुसंस्कृत तथा परिवर्तनकामी राजनीतिक शक्तिहरूबिच बृहत् सहकार्यमार्फत मुलुकमा नयाँ वैकल्पिक राजनीतिक शक्तिलाई संस्थागत गर्ने भन्दै रास्वपाले पछिल्लो समय विभिन्न राजनीतिक समूह, दल तथा व्यक्तिहरूसँग संवाद र सहकार्यलाई तीब्रता दिएको थियो । काठमाडौं महानगरका मेयर बालेन शाह पनि रास्वपामा प्रधानमन्त्री बन्ने शर्तमा समाहित भए पछि यही क्रममा उज्यालो नेपाल पार्टीसँग पनि एकता गर्ने सहमति गरिएको थियो । जस अनुसार भौतिक योजना, उर्जा लगायतका मन्त्रालय सम्हालिरहेका उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङलाई उपसभापति बनाइएको थियो । यसबाहेक केन्द्रीय कार्यसमिति सदस्य र समानुपातिक तर्फ उम्मेदवार पनि तय गरिएको थियो । घिसिङ वर्तमान सरकारमा मन्त्री रहेकै बेला उपसभापति बनेपछि तीब्र आलोचना भए सँगै केही दिन अघि मात्रै राजीनामा दिन बाध्य भएका थिए । अहिले पार्टीलाई सम्माजनक पदाधिकारी, समानुपातिकमा यथोचित स्थान नदिएको, पार्टीको नाममा परिवर्तन लगायतका विषयमा मत बाझिएको बताइएको छ । यसले नयाँ दलहरु पनि उही पुरानै राजनीतिक दलमा देखिएको चरित्र र प्रवृत्तिकै पुनरावृत्तिमा केन्द्रित हुन थालेको प्रष्ट देखिन्छ ।

नयाँ गर्छु या नयाँ बन्छु भन्नु र सोही अनुसार व्यवहारिक रुपमा आफ्ना कार्यशैली, व्यवहार र आदर्शहरुलाई देखाउनु भिन्न भिन्न कुरा हो । नेपाली समाजको चरित्र जस्तो छ, हाम्रा नेताहरु पनि उस्तै हुनु नौलो विषय होइन या भनौ नेताहरु जस्ता छन्, हाम्रो समाज पनि त्यस्तै छ । यहाँ यसकारण क्षणभरमै भगवान पनि बनाइन्छन्, क्षणभरमै राक्षस पनि बनाइन्छ । आज जे जस्तो संकट, जटिलता र अस्थिरता पैदा भएको छ, त्यसको मुख्य कारक त पुराना राजनीतिक दलहरु हुन् नै । अझ पनि उनीहरु विगतका कमजोरी र दुखद घटनाहरु प्रति आत्मआलोचित छैनन्, सुधारिने तर्फ केन्द्रित छैनन् । यसको विकल्पमा नयाँ वैकल्पिक राजनीतिक दलहरु प्रति अहिले व्यापक आकर्षण त देखिन्छ । नयाँ दलहरुले केही राम्रा कुरा गरिरहेका पनि छन् । तर, पार्टी गठन, पुर्नगठनको अवस्था र गतिविधि हेर्दा बिडम्बनापूर्ण देखिन्छ । अहिले रास्वपासँग १२ दिन अघि उज्यालो पार्टीको एकता र अहिलेको विभाजन पनि यही नियतिबाट गुज्रेको छ । यो नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूको एकता र अभियानका लागि त दुर्भाग्यपूर्ण हो नै, समग्र देश र परिवर्तनका लागि पनि यो दुखद छ ।