सम्पादकीय
मुुलुकको पुरानो प्रजातान्त्रिक पार्टी हो नेपाली कांग्रेस । त्यही पुरानो इतिहासको जगमा उभिएको दलका कारण यस पार्टीले पटक–पटक सत्ताको बागडोर सम्हाल्यो । तर, सरकारको पटक–पटक सत्ता आरोहणबाट पनि नागरिकलाई अपेक्षाकृत सेवा प्रवाह गर्न सकेन । कहिले कुन कम्युनिष्टसँग त कहिले कुन दलसँग सत्ताकै लागि मिलिभगत गर्दै सत्ताकै वरिपरि ररिरहेकाले नागरिकमा निराशा र अक्रोश बढ्दै गयो । गत भाद्र २३ र २४ को जेनजी आन्दोलनसम्म आइपुग्दा त नेपाली कांग्रेस मात्र होइन, सबै पुराना राजनीतिक दल र नेताहरु इतिहासकै कठिन संकट र जटिल मोडमा पुगे । त्यसबेला त यी पुराना राजनीतिक दल र नेताहरुको समय सकिएको विश्लेषण र अनुमान गरिएको थियो । यद्यपि, कतिपय सच्चिएर, कतिपय सच्चिने बाचा र पाठ सहित अघि बढिरहेका छन् ।
यही अभियानको अनुक्रममा नेपाली कांग्रेसको विशेष महाधिवेशन शनिवारदेखि काठमाडौंमा सुरु भएको छ । विशेष महाधिवेशनले नेपाली कांग्रेस पार्टी विभाजनमै पुग्छ कि भन्ने भय र सन्त्रास पनि एकातिर छ भने अर्कोतर्फ विशेष महाधिवेशन पक्षधरको नेतृत्व गर्दै आएका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले भने पार्टी फुट्ने परिस्थितिमा बरु आफूले विष पिउने तर पार्टी विभाजन हुन नदिने बतासकेका छन् । यसर्थ पनि यो विशेष महाधिवेशन पार्टी फुट भन्दा पनि जेनजी आन्दोलन पश्चात सिर्जित परिस्थिति अनुसारको नीति र नेतृत्व नै मूल एजेण्डा हो । महाधिवेशनको भव्य उद्घाटन समारोहमा पनि त्यही कुरा नेताहरुले मुखरित गरिरहेका छन् । कांग्रेसको विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४८८ जना (५४.५८) प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी विशेष महाधिवेशन आयोजित छ । यसमा कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुक मात्र होइन, सिंगो देशले नै कस्तो नीति, निर्देश गर्छ भन्ने चासो र चिन्ता व्यापक देखिएको छ ।\
नेपाली कांग्रेसले खासगरी जेनजी आन्दोलन पछि मुख्य राजनीतिक पार्टीका हिसाबले जे जस्तो पहलकदमी लिनुपथ्र्यो, आन्दोलनलाई स्वीकार गर्ने, समीक्षा गर्ने र भावी रणनीति तयार गर्ने विषयमा कांग्रेस नेतृत्व फेरि सत्ताकै खेलमा मुख मिठ्याएर मुकदर्शक प्रायः बनिरह्यो । तर, दोस्रो तहका महामन्त्रीद्धय गगन र विश्वप्रकाश शर्माहरुले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावना अनुरुपको नीति निर्माण गर्नका लागि विशेष निर्णय लिनु अपरिहार्यता ठाने । जसको फलस्वरुप विशेष महाधिवेशन अनेकन शंका, उपशंका र संशयका बाबजुद आयोजना भएको छ । भलै कांग्रेस संस्थापन पक्ष यसमा सहभागी भएको छैन । यसलाई कांग्रेस केन्द्रीय समिति वैठकको निर्णय विपरित असान्दर्भिक वा औचित्यहिन भनिरहेका छन् । अब आइतबार हुने बन्द सत्रले के निर्णय गर्छ ? त्यो महत्वपूर्ण हुनेछ नै । समग्रमा यस विशेष महाधिवेशनले विधानको जगमा नेपाली कांग्रेस पार्टीलाई जीवन्त बनाउन भूमिका खेल्नेछ । विशेष महाधिवेशन बदलिएको समयको कांग्रेस र बदल्नुपर्ने देशका लागि अपरिहार्य कदम हो । यसका लागि गगन विश्वप्रकाश शर्माहरुले गरेको साहस र देखाएको दृढता स्वागतयोग्य छ । पुरानो जति सबै ‘खराब’ भन्ने भाष्य जबरजस्त स्थापित गर्ने प्रयास भइरहेको बेला पुराना भित्र पनि असल छन्,असल सत्कर्म गर्न आन्तरिक र बाह्य रुपमा संघर्षरत छन् भन्ने उदाहरण उनीहरुले देखाएका छन् । अहिलेको ‘खुरापाती’ राजनीतिमा उनीहरु जित्लान्, हार्लान् तर, एक सुन्दर मानक भने उनीहरुले तयार गरे । यसैगरी खराब पात्र र प्रवृत्तिका विरुद्ध सबैतिर एकाकार हुन जरुरी छ ।
