• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

बागलुङमा लगानी गर्न निजी क्षेत्रको चासो

 

बागलुङ | साविक धौलागिरीका चार जिल्लाको केन्द्रमा राखेर निजी क्षेत्रले पर्यटकीय पूर्वाधारमा लगानी गर्नका लागि चासो दिएका छन् ।

पछिल्लो समय स्थापित धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा होटल, रिसोर्ट देखि केवलकार र मनोरेल सम्मका पूर्वाधारको आवश्यकता रहेको बताउदै निजी क्षेत्रले लगानीका लागि निरन्तर चासो दिएका हुन् ।

मुस्ताङ, म्याग्दी र पर्वतलाई समेत लाभ लिन सक्नेगरी बागलुङलाई केन्द्रमा राखेर ठूला पर्यटकीय पूर्वाधार बनाउन सकेमा थप पर्यटक भित्राउन सक्ने संभावना लगानी कर्ताले देखेका छन् ।

बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङको कालीगण्डकीको तीरदेखि ढोरपाटनको शिरसम्म लगानीको संभावना देखेर निजी क्षेत्रले निरन्तर चासो दिने र पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकन भ्रमण गर्ने क्रम जारी रहेको जानकारी दिनुभयो । यस अघि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले १५ करोड खर्चेर बागलुङ बजारमा होटल इला कम्फर्ट स्थापना गरिसक्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरूले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई समेटेर आफूहरु लगानी गर्न इच्छुक रहेको बागलुङको पञ्चकोट र मालिका मन्दिर दर्शन गरेपछि बताएका छन् । यहाँका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेर सम्भावित लगानी र पर्यटन प्रबद्र्धन, धार्मिक क्षेत्रको उत्थान समेत गर्ने योजना रहेको लगानीकर्ताले सुनाएका छन् ।

निजी क्षेत्रका लगानीकर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी, सुरज वैद्य र भास्कर राज राजकर्णिकार लगायतले हालै बागलुङको पञ्चकोट, बागलुङ बजार क्षेत्र र मालिका मन्दिर लगायतका क्षेत्रको भ्रमण गरेर लगानीको सम्भावना रहेको बताएका छन् ।

बागलुङ नगरपालिकाको पहलमा पर्यटकीय पूर्वाधारहरुको जुनसुकै क्षेत्रमा लगानी गर्नका लागि निजी क्षेत्रलाई बागलुङमा अवलोकन ल्याउने र योजनाहरुको जानकारी दिनेकाम भइरहेको छ ।

धार्मिक पर्यटनलाई जोडेर बागलुङमा लगानीको ठूलो संभावना रहेको र सन् २०२७ बाट लगानी गर्नका लागि अध्ययनको काम भइरहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले जानकारी दिनुभयो । यस्तै पूर्व अध्यक्ष सुरज वैद्यले पर्यटकीय क्षेत्रको संभावना, पर्यटकीय आगमनको संख्या, यातयातको अवस्था सबै हेरेर बागलुङ बजार क्षेत्रमा ठूला पूर्वाधार बनाउन सकेमा मुस्ताङ, म्याग्दी र पर्वतलाई समेत फाइदा पुग्न सक्ने देखिएको बताउनुभयो ।

‘‘हामीले बागलुङ बजार, लोकमार्ग र कालीगण्डकीको छेउबाट शालग्राम संग्रहालय, पञ्चकोट र मालिका मन्दिरलाई जोडेर धेरै पूर्वाधार बनाउने संभावना देखियो, अहिलेनै यो क्षेत्रमा लगानी गर्ने भन्ने छैन तर अर्बौको लागनी गरेर धार्मिक पर्यटक बढाउन केबलकार, मनोरेल, रिसोर्ट, होटल तथा अन्य साहसिक पर्यटकीय पूर्वाधारमा लगानी गर्न हामी तत्पर छौं” कुश कुमार जोसी भन्नुभयो “कालीगण्डकी क्षेत्रमा धर्मलाई जोडेर पूर्वाधार बनाउन सकेमा यहाँको अर्थतन्त्र माथी पुग्छ, केही न केही क्षेत्रमा हाम्रो लगानी हुन्छ ।”

चिसो हावापानी, हिमाल देखिने र सडक यातायातले जोडिएको पञ्चकोट जस्तो स्थानमा लगानी गर्न आफूहरु तत्पर रहेको निजीक्षेत्रले बताउदै अवलोकनमा आइरहेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले बागलुङ नगरपालिका भित्र बागलुङ बजार, शालग्राम संग्रहालय, पञ्चकोट, मालिका भगवती मन्दिर क्षेत्रलाई जोडेर ठूलो पर्यटकीय पूर्वाधार बनाउन सके कालीगण्डकी करिडो र लोकमार्गहुादै चिन र भारत आउजाउ गर्ने पर्यटकलाई बागलुङमा टिकाउन सकने बताउनुभयो । पर्यटकीय आर्कषकको गन्तव्य बन्ने बित्तिकै बागलुङको व्यवसायमा चहलपहल बढ्ने भएकाले पुर्व अध्यक्षहरूलाई बोलाएको उहाँको भनाइ छ ।

बागलुङ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहनु भएका नगर प्रमुख श्रेष्ठले बागलुङको व्यवसाय बढाउन ठूलो पूर्वाधारमा लगानी भित्राए स–साना व्यवसाय आफै चलायमान हुने बताउनुभयो ।

नगरपालिकाको अगुवाईमा पर्यटकीय क्षेत्रलाई डिजिटलमैत्री बनाउने लगायतका थुप्रै पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा नगरपालिकाले अग्रसरता लिएको नगरप्रमुख श्रेष्ठको भनाई थियो ।