• २०८३ मंसिर २, मंगलवार
  • 2026 November 17, Tuesday

एमालेको निर्वाचन अभियान : जेनजी युवाहरुसंग सम्वाद गर्ने

  • २०८२ माघ १०, शनिबार

बागलुङ । नेकपा एमालेले बागलुङ क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा जेनजी युवाहरुका बीच अन्तरसम्वाद तथा विचार विमर्श गर्ने भएको छ । जेन जी युवाहरुसंगको अन्तर सम्वादका लागि धौलागिरी बहुमुखी क्याम्पसका स्ववियू सभापति आष्मिन शेखलाई जिम्मेवारी दिइएको छ । मुष्लिम समुदायबाट प्रतिनिधित्व गर्ने शेख धौलागिरी बहुमुखी क्याम्पसको पहिलो महिला स्ववियू सभापति पनि हुनुहुन्छ । शेख सभापति रहेको स्ववियूका पूर्व सभापति हिरा बहादुर केसी यतिबेला एमालेको तर्फबाट बागलुङ क्षेत्र न. १ मा एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ ।

जेन जी उमेर समुहमा प्रवेश गर्दै गर्दा राजनीतिमा लागेका केसीसंग जेन जी युवाहरुको सम्वाद गराउने जिम्मेवारी एमालेले जेन जी समेत रहेकी स्ववियू सभापति शेखलाई दिएको हो । नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ क्षेत्रीय समन्वय कमिटिको बिहीवार सम्पन्न वैठकले जेन जी युवाहरुका बीचमा नेकपा एमालेका सन्दर्भमा छलफल गर्ने योजना बनाएको हो । बैठकले निर्वाचनमा जनपरिचालनको संयोजन गर्ने जिम्मेवारी जिल्ला सचिवालय सदस्य बाबुलाल शाक्यलाई दिएको क्षेत्रीय समन्वय कमिटिका संयोजक धन बहादुर परियारले जानकारी दिनुभयो । आसन्न निर्वाचन निष्पक्ष, भयरहित, प्रभावकारी र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि सबै वडा तथा टोल सुुरक्षा दस्ता निर्माण र परिचालन गर्नका लागि शाक्यलाई जिम्मेवारी दिइएको परियारले जानकारी दिनुभयो । क्षेत्र नं. १ मा निर्वाचन परिचालन गर्नका लागि केन्द्रीय सदस्य डा.सूर्य पाठक संयोजक तथा जिल्ला सचिव गणेश बहादुर थापा मगर सदस्य सचिव रहेको १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।

निर्वाचन परिचालन कमिटिका सदस्यहरुमा पूर्व केन्द्रीय सदस्य र पूर्व सल्लाहकार परिषदका सदस्यहरु, गण्डकी प्रदेश कमिटिका सदस्यहरु, जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरु, पालिका कमिटिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटिका सल्लाहकारहरु, पूर्व पदाधिकारीहरु, प्रदेश तथा जिल्ला कमिटिका पूर्व सदस्यहरु, वडा कमिटिका पदाधिकारीहरु, जनवर्गीय संगठनका केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा कमिटिका पदाधिकारी तथा सदस्यहरु रहेका छन् ।

निर्वाचन परिचालन अनुगमन र सुझावका लागि जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य मन कुमारी केसीको संयोजकत्वमा केन्द्रीय सदस्यहरु लिल बहादुर थापा मगर, डा.सूर्य पाठक, गोविन्द नेपाली र सावित्रा राना, निवर्तमान केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा र कृष्ण केसी, पूर्व जिल्ला अध्यक्षहरु जनक पौडेल र श्रीप्रसाद शर्मा, संविधानसभा सदस्य नर बहादुर थापा र गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक रहेको एमाले जिल्ला सचिव गणेश बहादुर थापाले जानकारी दिनुभयो । एमालेले निर्वाचनका लागि क्षेत्र नं. १ का चार वटा पालिकाको संयोजन गर्नका लागि संयोजक र सदस्य सचिव तोेकेको छ । बागलुङ नगरपालिकामा प्रदेश कमिटि सदस्य ध्रुव बहादुर केसी संयोजक र नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्मा सदस्य सचिव, काठेखोला गाउँपालिकामा प्रदेश कमिटि सदस्य अमर बहादुर थापा संयोजक र पालिका कमिटि अध्यक्ष डिल बहादुर कार्की सदस्य सचिव, जैमिनी नगरपालिकामा प्रदेश कमिटि सचिवालय सदस्य लिला राना संयोजक र पालिका कमिटि अध्यक्ष देवेन्द्र रेग्मी सदस्य सचिव, बरेङ गाउँपालिकामा प्रदेश कमिटि सदस्य सञ्जाल शर्मा संयोजक र पालिका कमिटि अध्यक्ष झोम बहादुर थापालाई सदस्य सचिवको जिम्मेवारी दिएको छ ।

निर्वाचनको प्रचार प्रसारका लागि प्रेस चौतारी बागलुङलाई संयोजनको जिम्मेवारी दिइएको छ । पार्टीका जनसंगठनहरुलाई समन्वय गरी परिचालन गर्नका लागि जिल्ला सचिवालय सदस्य नेत्र बिष्टलाई, क्षेत्रीय निर्वाचन परिचालन सम्पर्क कार्यालय व्यवस्थापनको जिम्मेवारी कार्यालय सचिव चन्द्रमणी उपाध्यायलाई दिइएको छ । जिल्ला उपसचिव तथा क्षेत्रीय समन्वय कमिटिका संयोजक धन बहादुर परियारलाई जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय लगायत सरोकारवाला कार्यालयहरुसंग समन्वयको जिम्मेवारी तोकिएको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ क्षेत्रीय समन्वय कमिटिको निर्णय अनुसार सबै पालिकामा निर्वाचन सम्बन्धी योजना निर्माण गरी जिम्मेवारी तोक्नका लागि बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा माघ १० गते शनिवार, जैमिनी नगरपालिकामा माघ १२ गते सोमबार र बरेङ गाउँपालिकामा १३ गते मंगलवार पालिका कमिटिको वैठक बस्नका लागि निर्देशन गरिएको संयोजक परियारले जानकारी दिनुभयो ।

  • २०८२ माघ १०, शनिबार