बागलुङ । प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार हिरा बहादुर केसीले मतदाताहरुलाई तेस्रो पटक निर्वाचनमा होमिएकोले मतदाताबाट न्याय पाउने विश्वास व्यक्त गर्नु भएको छ । नेकपा एमाले बागलुङ नगर कमिटिले चुनाव परिचालनका लागि योजना निर्माण गर्न शनिवार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै केसीले मतदाताहरुलाई यस पटक मनको कुरा सुनेर मत दिन अपिल गर्नु भएको हो । तेस्रो पटक चुनावमा होमिएको छु, जेनजी उमेरमै राजनीतिमा होमिएर निरन्तर यही भूगोलमा सक्रिय छु, राजनीतिक जिवनमा थुप्रै चुनौतीको सामना गर्दै अगाडि बढ्ने क्रममा एमालेका तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएको छ, केसीले मतदातालाई भन्नुभयो,–‘दुइ पटक थोरै मतले पराजित भएको छु, यस पटक मत दिने बेलामा मनको सुनेर साथ दिनु हुनेछ भन्नेमा विश्वस्त छु ।’मतदाताले यसपटक अरुका कुरा होइन, आफ्नो मनको कुरा सुनेर साथ दिने अपेक्षा गरेको बताउनुभयो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका हरि बहादुर खड्कासंग र २०७९ को गण्डकी प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसकै दिपेन्द्र बहादुर थापा मगरसंग पराजित भएका केसी तेस्रो पटक चुनावी मैदान उत्रनु भएको छ ।
स्थिरता, रुपान्तरण र समृद्धिसंग राजनीतिलाई जोड्नका लागि निरन्तर सक्रिय रहदै आएका केसीले पटक पटक निर्वाचनमा पराजित भएको एउटा युवालाई संसदमा गएर बागलुङको विकास र समृद्धिका बारेमा आवाज उठाउने अवसर प्रदान गर्न मतदाताहरुलाई आव्हान गर्नु भयो । हिरा केसीले दुइ पटक चुनावमा पराजित भएर पनि तेस्रो पटक चुनावमा होमिनु भएको छ, एक पटक मत दिएर न्याय गर्नु पर्छ भन्ने सन्देश घर घरमा पु¥याउन उहाँले पार्टीका नेता कार्यकर्ताहरुलाई आव्हान गर्नु भयो ।
विगतमा पार्टीका तर्फबाट र व्यक्तिगत रुपमा आफ्नो तर्फबाट केही कमी कमजोरी भएका छन् भने छलफल गरौ, हामी सच्याउन तयार छौ, आगामी दिनमा मुलुकसंगै बागलुङको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सबैसंग सहकार्य गरेर अगाडि बढ्छु, केसीले भन्नुभयो । वैठकले नगर कमिटिका पदाधिकारी सदस्यहरु, पार्टीमा विगतमा योगदान गरेका र हाल निष्क्रिय रहेका नेताहरु, समर्थक शुभेच्छुक सबैलाई सक्रियताका साथ मतदाताको घर घरमा पुगेर एमालेले विगतमा गरेका जनपक्षीय काम र उमेदवार हिरा बहादुर केसीको प्रतिवद्धताका बारेमा जानकारी गराउने निर्णय गरेको छ । प्रत्येक पार्टी सदस्यले प्रत्येक दिन मतदातासंग भेटघाट गर्ने, छलफल गर्ने र सांझ एक घण्टा पालिका कमिटिसंग सम्वाद गर्ने, प्रचार अभियानलाई प्रभावकारी बनाउने, १५ गतेभित्र सबै वडामा निर्वाचन परिचालन कमिटि गठन गर्ने, सम्पर्क कार्यालय सञ्चालन गर्ने लगायतका निर्णय गरिएको एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकामा चुनाव परिचालनका लागि क्षेत्रीय समन्वय कमिटिले प्रदेश कमिटि सदस्य ध्रुव बहादुर केसी संयोजक तथा नगर कमिटि अध्यक्ष शर्मा सदस्य सचिव रहेको पालिका स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।