• २०८३ आश्विन २२, बिहीबार
  • 2026 October 08, Thursday

स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण

बागलुङ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको बागलुङ नगरस्तरीय सम्मेलन तथा अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले ग्रामीण क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाले दिने सेवाले धेरै मानिसको जीवन बचेको बताउनु भयो ।

उहाँले राज्यले स्वास्थ्य स्वयंसेविकाको व्यवस्था गरेपछि मातृ मृत्युदर र शिशु मृत्युदर कम भएको बताउनु भयो । नगरप्रमुख श्रेष्ठले नेपालीहरुको औसत आयु वृद्धिमा पनि स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका गरेको उल्लेख गर्नु भयो । बागलुङ नगरपालिकाको आयोजना तथा प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको सहयोग र समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा नगरपालिकाको स्वास्थ्य शाखाद्धारा संचालित पोषण प्रवद्र्धन तथा विपन्न स्वास्थ्य सुधार कार्यक्रमको शुभारम्भ गरिएको छ ।

सोही अवसरमा हजार दिनका तीनजना आमालाई पोषणयुक्त खानेकुरा सहितको नाङ्लो प्रदान गरिएको थियो । कार्यक्रममा बागलुङ नगरपालिकाका १४ वडाका १ सय ९७ जना स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो ।

प्रदेश जनस्वास्थ्य कार्यलय, बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि स्वयंसेविकाले खेल्न सक्ने भूमिकाका बारेमा सहजीकरण गर्नु भएको थियो ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले गर्नु भएको थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, जनस्वास्थ्य कार्यलय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटा, धौलागिरी प्रादेशिक अस्पतालका डाक्टर किरण तिवारी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाललगायतले बोल्नु भएको थियो ।