• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

सुन्तला गाउँका रूपमा चिनिएको सिगानाका किसानले भित्राए चार करोड

बागलुङ : सिगाना अर्थात ‘सुन्तला गाउ’ँ । सुन्तला गाउँका रुपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्षेनी सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन् ।

गत वर्ष रु. पाँच लाखमा धादिङको व्यापारीलाई सुन्तला बगैचा जिम्मा लगाउनुभएको अनन्त खड्काले यस पटक भने सातलाख ५० हजारमा सुन्तला बगैचा एकमुष्ट बिक्रि गर्नुभयो । यस वर्ष सुन्तला गाउँ सिगानामा रु. चार करोड रकम भित्रिएको छ ।

खड्काले यस वर्ष उत्पादनसंगै सुन्तलाको मुल्य राम्रो पाएको भन्दै खुसी व्यक्त गर्नुभयो । खड्काले आफूजस्ता एक सय भन्दा बढी किसानले एक लाख देखि सात लाख सम्म रकम गाउँ भित्राएको बताउनुभयो । अन्य किसानले समेत धेरै थोरै रकम भित्राउदै आएका छन् ।

सुन्तला उत्पादनको तथ्याङ्क भने वडा कार्यालयले नभई गाउँको गणेश कृषि सहकारीले राख्दै आएको छ ।

सिगानाका सुन्तला स्वादिष्ट हुने भएकाले यहाँका सुन्तलाको बजार पोखरा, काठमाण्डौ र चितवनमा छ । कोदो फल्ने बारी र धान फल्ने खेत मासेर यहाँका किसानले २०५० साल यता व्यावसायिक सुन्तलाखेतिमा लागेका सिगानाका किसान अहिले समेत धमाधम सुन्तला खेति विस्तारमा छन् । सिगानामा अबको पाँच वर्षमा गाउँनै ढाकिनेगरी सुन्तलाखेति विस्तार भइरहेको छ ।

सिगानाको बेसी, पात्ले, पाखाबारी, बाँस्बोट र सायकोटमा अहिले समेत धान र बारीमा सुन्तला लगाउने क्रम जारी रहेको छ ।

गत वर्ष सुन्तला बिक्री रु.३ करोड ५० लाख भित्राएका बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष चार करोड रकम भित्राएका छन् । यस वर्ष सिगानामा उत्पादन भएको सुन्तला सुन्तला निकासी भइसकेको छ ।

सिगानामा समग्रमा रु.५० लाखको सुन्तला उत्पादनमा गत वर्षको तुलनामा वृद्धि भएको स्थानीय अगुवा शिव कुमार खड्काले बताउनुभयो । उहाँले सहकारीमार्फत सुन्तलाखेती विस्तार गर्दै अनुदानमा सुन्तलाका बिरुवा समेत वितरण गर्दै आएको जानकारी दिनुभयो । “यस वर्ष सिगानामा सुन्तला उत्पादनमा वृद्धि भएको छ, गत वर्ष छिट्टै सुन्तला बिक्री भएको थियो, मौसम राम्रो र रोग नलागेका कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो” । सिगानाका किसानले बोटबाटै सुन्तला बिक्रि गर्ने गरेका छन् । यहाँका सुन्तलाको स्तरीकरण गरेर फरक–फरक मुल्यमा ठेकेदारले पोखरा सहितका अन्य बजारमा पठाउने गरेको छ । सिगानामा गणेश कृषि व्यावसायिक सहकारी मार्फत सुन्तलाको वर्षेनी तथ्याङ्क समेत संकलन गरिदै आइएको छ । वडा कार्यालयले सुन्तलाको तथ्याङ्क समेत राख्न नसकेको भन्दै गणेश कृषि सहकारी सिगानाका अध्यक्ष राम बहादुर खड्काले गत वर्षदेखि सिगानाको सुन्तलाको तथ्याङ्क संकलन गर्ने कार्य थालिएको र यो वर्ष चार करोड बढी रकम सुन्तला बिक्रीबाट सिगाना भित्रिएको बताउनुभयो ।

सिगानामा २५० भन्दा बढी किसानको सानोदेखि ठूलो सुन्तला बगैचा रहेको छ । यस वर्ष सिगानाका ४०० नयाँ बोटले सुन्तला उत्पादन दिन शुरु समेत गरेका छन् ।

सिगाना गाउँको साविक ३, ४, ५ र ७ वडामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ । यहाँका अधिकांश किसान सहकारीमा आवद्ध छन् र वार्षिक रुपमा सुन्तला उत्पादन बढीरहेको र यहाँका किसानले खेत र बारीमा धमाधम सुन्तला लगाउने क्रम जारी रहेको छ । पूर्व वडाअध्यक्ष तथा सुन्तला किसान जित बहादुर जिसीले जानकारी दिनुभयो ।

यहाँका टोप बहादुर खड्का, राम प्रसाद गौतम, राधा खड्का र गंगा केसीलगायतका किसानले पोखरा, चितवन, नारायणगढ र धादिङ व्यापारीमार्फत सुन्तलाको बजारीकरण गर्दै आएका छन् । बगैँचा विस्तार र मलजलका कारण सुन्तला उत्पादन फष्ठाउदै गरेको पाइएको छ । सिगानामा ४० हजार सुन्तलाका बोट रहेको आकलन छ ।