• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

‘संगठनात्मक एकता’ नै कांग्रेसको सबल पक्ष हो : संयोजक पौडेल

  • २०८२ माघ २०, मंगलवार

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुदैछ । मुलुक निर्वाचनमय भएको छ । राजनीतिक दलहरु यतिबेला मतदाताको घरदैलोमा मत माग्दैछन् । यद्यपी दलहरुको मत माग्ने तौर तरिका, निर्वाचन परिचालनको परिपाटीमा खासै फरकपन देखिदैन । प्रक्रिया पुरानै सही, दलहरु चुनाव केन्द्रीत भएका छन् । सबै राजनीतिक दलहरुले निर्वाचन परिचालन समिति गठन गरी प्रचार अभियानलाई तिव्रता दिनुका साथै व्यवस्थापनको कामलाई समेत प्रभावकारी बनाउदै गएका छन् । नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ मा युवा नेता भीम श्रीसलाई उम्मेदवार बनाएको छ । बागलुङ क्षेत्र नं. १ मा प्रमुख राजनीतिक दलहरुले निर्वाचन परिचालनका लागि गठन गरेका समितिहरुका गतिविधि के कसरी अगाडि बढीरहेका छन् ? कांग्रेस उम्मेदवारलाई जिताउने अभियानको कमाण्डर (निर्वाचन परिचालन समितिको संयोजक) बनेका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलसंग आदर्शसञ्चार अनलाईनले निर्वाचन परिचालन लगायतका विषयमा गरेको सम्वाद यहाँ प्रस्तुत गरिएको छ ।

चुनाव परिचालनका लागि के कसरी अगाडि बढ्दै हुनुहुन्छ ?
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ मा सुदृढ संगठनात्मक संरचना, जनमुखी सोच र परिणाममुखी रणनीतिमा आधारित चुनावी अभियान सञ्चालन गरिरहेको छ । मेरो संयोजकत्वमा ५०१ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गरिएको छ, जसले वडास्तर, टोलस्तर र मतदान केन्द्रसम्म पार्टीको संरचनालाई सक्रिय बनाएको छ । अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गरी स्पष्ट जिम्मेवारी बाँडफाँड गरिएको छ ।

चुनावी अभियानको केन्द्र भागमा मतदातासँग प्रत्यक्ष संवाद रहेको छ । यसका लागि घरदैलो कार्यक्रम, मतदाता भेटघाट, अन्तरक्रिया, समूहगत छलफल तथा विषयगत संवादलाई प्राथमिकताका साथ अघि बढाइएको छ । पार्टीका उम्मेदवारसहित स्थानीय नेता–कार्यकर्ता प्रत्येक वडामा पुगेर स्थानीय आवश्यकता, समस्या र मतदाताको अपेक्षालाई प्रत्यक्ष रूपमा सुन्ने र समाधानका प्रतिबद्धता व्यक्त गर्ने काममा जुटिरहेका छन् । विकास, राजनीतिक स्थायित्व, सुशासन, संविधान तथा लोकतन्त्रको रक्षा, जनमुखी कानुन निर्माण जस्ता विषयहरू अभियानका प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिएका छन् ।

संगठनात्मक रूपमा जिल्लामा निर्वाचन परिचालन कार्यालय, पालिकामा पालिका सम्पर्क कार्यालय र वडामा वडा सम्पर्क कार्यालय स्थापना गरी सम्पर्क, समन्वय र परिचालनलाई तीव्र बनाइएको छ । पार्टीको स्थानीय बुथ कमिटीदेखि भातृ तथा शुभेच्छुक संस्थाका तल्लो तहसम्म सम्पूर्ण संयन्त्रलाई सक्रिय रूपमा परिचालन गरिएको छ । साथै नेता–कार्यकर्ता, क्रियाशील सदस्यहरूको व्यापक परिचालन, प्रचार–प्रसार सामग्रीको उत्पादन तथा वितरण, संवाद कार्यक्रम र उम्मेदवारसहितका घरदैलो कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

“बद्लियो कांग्रेस, बदल्छौं देश” भन्ने मूल नाराका साथ, स्वच्छ छवि भएका, अव्वल, युवा र पढेलेखेका उम्मेदवारलाई समयको मागअनुसार नवीन सोचसहित प्रतिनिधिसभामार्फत देशको नेतृत्वमा अघि बढाउने दृढ अठोटका साथ नेपाली कांग्रेस चुनावी मैदानमा होमिएको छ । संगठनात्मक एकता, कार्यकर्ताको उत्साह र जनतासँगको निरन्तर सम्पर्क नै बागलुङ क्षेत्र नं. १ मा कांग्रेसको चुनावी रणनीतिको मुख्य आधार हो ।

यो क्षेत्रमा चुनाव परिचालनका लागि मुख्य अवसर र चुनौती के के छन् ?
बागलुङ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका लागि चुनाव परिचालनका प्रशस्त अवसरहरु सिर्जना भएका छन् । अवसरको दृष्टिले हेर्दा, यस क्षेत्रका मतदातामा बढ्दो राजनीतिक सचेतना, लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता र नेपाली कांग्रेसप्रति रहँदै आएको ऐतिहासिक विश्वास, जेन्सी प्रदर्शन पश्चात पार्टीमा भएको रुपान्तरण र पार्टीले बोकेको नविन संकल्पले पार्टीका लागि अनुकूल वातावरण निर्माण गरेको छ । राजनीतिक स्थायित्व, विकास र सुशासनलाई प्राथमिकतामा राख्ने मतदाताको मनोविज्ञानले स्पष्ट नीति, एजेन्डा र विश्वसनीय नेतृत्व बोकेको दलप्रति समर्थन बढ्ने संकेत देखिन्छ ।

यस पटक मतदाताले नेपाली काँग्रेसको आफ्नै चुनाव चिह्न ‘रुख’मा मतदान गर्न पाउने अवस्था बनेकाले पार्टीपंक्तिमा उत्साह थपिएको छ । पार्टीभित्र भएको रूपान्तरण, नीति र नेतृत्वमा देखिएको समसामयिकता तथा युवापुस्ताको माग अनुसार विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा पार्टी अघि बढ्नु र भाद्र २३–२४ गते सम्पन्न ‘जेन्जी आन्दोलन’ले उठाएका मुद्दाहरूलाई पार्टीले आत्मसात् गर्नुले संगठनमा नयाँ ऊर्जा थपिएको छ । यसले परम्परागत समर्थकसँगै नयाँ पुस्तालाई पनि कांग्रेसतर्फ आकर्षित गर्न सहयोग पु¥याएको छ । त्यसैगरी, यस क्षेत्रका उम्मेदवार युवा, जुझारु, सामाजिक तथा खेल क्षेत्रमा काम गरेको अनुभव भएका, नेतृत्व क्षमता सम्पन्न र बेदाग व्यक्तित्व हुनु आफैंमा ठूलो अवसर हो । यस क्षेत्रका चारवटै पालिका र ३७ वटै वडामा पार्टीको दह्रो संगठनात्मक संयन्त्र तथा पालिका, प्रदेश र विभिन्न तहमा कांग्रेसको कुनै न कुनै स्तरको नेतृत्व रहेको अवस्था छ । जनतासँग प्रत्यक्ष जोडिएर गरिएका विकास निर्माण, पूर्वाधार र जनजीविकासँग सम्बन्धित कामहरूले पनि पार्टीलाई जनविश्वासको बलियो आधार प्रदान गरेको छ ।

यद्यपि, यी अनुकूल पक्षहरूसँगै केही संरचनात्मक र व्यवहारिक चुनौतीहरू पनि छन् । बागलुङ क्षेत्र नं. १ को भौगोलिक बनावट, छरिएका बस्ती र सीमित पूर्वाधारका कारण छोटो समय र सीमित स्रोतभित्र सबै मतदातासम्म समान रूपमा पुग्नु चुनौतीपूर्ण छ । यसले अभियानलाई अझ योजनाबद्ध, समय व्यवस्थापनमा दक्ष र उच्च स्तरको समन्वयमा आधारित बनाउनुपर्ने आवश्यकता देखाएको छ ।
साथै, विचारधारात्मक राजनीतिक अतिवादका कारण लोकतान्त्रिक र जिम्मेवार दलका रूपमा रहेको नेपाली कांग्रेसलाई प्रचार–प्रसारको अभियानमा चुनौती सिर्जना भएको छ । बढ्दो बसाइँसराइ, गैर–राजनीतिक चरित्र भएका व्यक्तिहरूको राजनीतिमा प्रवेश तथा एआईको प्रयोगमार्फत गलत र भ्रामक सूचनाको प्रचार–प्रसार हुनु अर्को गम्भीर चुनौतीका रूपमा देखिएको छ ।
समग्रमा भन्नुपर्दा, बागलुङ क्षेत्र नं. १ मा नेपाली कांग्रेससँग बलियो संगठन, विश्वसनीय उम्मेदवार र सकारात्मक जनआधार जस्ता महत्वपूर्ण अवसर छन् भने ती अवसरलाई परिणाममा बदल्न भौगोलिक कठिनाइ, गलत प्रचार र बदलिँदो राजनीतिक व्यवहार जस्ता चुनौतीलाई रणनीतिक रूपमा सामना गर्नु पर्ने अवस्था छ ।

उमेदवारसहितका कार्यक्रम कसरी तय हुदैछन् ?
बागलुङ क्षेत्र नं. १ मा उम्मेदवारसहितका कार्यक्रमहरू स्थानीय आवश्यकता र निर्वाचन आयोगको आचारसंहिता अनुरूप योजनाबद्ध रूपमा तय गरिएका छन् । क्षेत्रीय निर्वाचन परिचालन समितिले वडास्तर र मतदान केन्द्रस्तरको अवस्था मूल्याङ्कन गरी घरदैलो, मतदाता भेटघाट र सन्देश सभाहरूको तालिका बनाइसकेको छ ।
उम्मेदवार भीम श्रीसको उपस्थितिमा हुने सबै कार्यक्रमहरू पार्टीका स्थानीय संरचनासँग समन्वय गरेर तय गरिएको छ । पहिलो चरणमा उम्मेदवारसहितका कार्यक्रमहरू ३७ वटै वडामा सञ्चालन गर्ने योजना रहेको छ ।

बृहत चुनावी सभाको तयारी बारे के छ ? केन्द्रबाट नेताहरु आउने संभावना कस्तो छ ?
बागलुङ क्षेत्र नं. १ मा बृहत् चुनावी सभाको तयारीका बारेमा छलफलमै छौ । निर्वाचन आउन अझै एक महिना बाँकी रहेकाले, क्षेत्रीय निर्वाचन परिचालन समितिले स्थल, समय, सुरक्षा व्यवस्थापन र सहभागीको सूचीसहित सम्पूर्ण कार्यक्रम योजनामा सक्रिय रूपमा जुटेको छ ।
केन्द्रीय नेतृत्वको सहभागिताबारे पनि योजना अघि बढिरहेको छ । पार्टीका शीर्ष नेताहरूलाई चुनावी सभामा उपस्थित गराउनु पर्ने सन्दर्भ महत्वपूर्ण देखिन्छ । यसले कार्यकर्तामा उत्साह थप्ने मात्र नभई मतदातासँगको विश्वास निर्माणमा पनि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
समग्रमा, बृहत् चुनावी सभा केवल प्रचारको माध्यम नभई संगठनात्मक एकता प्रदर्शन गर्ने, उम्मेदवारको सन्देश व्यापक रूपमा पु¥याउने र मतदातामा विश्वास निर्माण गर्ने रणनीतिक कार्यक्रमका रूपमा अघि बढिरहेको छ ।

यो क्षेत्रमा कांग्रेसको मुख्य प्रतिस्पर्धा कुन दलसंग हुदैछ ?
बागलुङ क्षेत्र नं. १ मा आगामी प्रतिनिधिसभा निर्वाचनको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रित हुँदै गएको देखिन्छ । नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य, संविधानको रक्षा, सुशासन र जनमुखी विकासलाई मुख्य एजेन्डा बनाएर निर्वाचन मैदानमा उत्रिएको छ । विशेष गरी यस क्षेत्रका मतदातामा रहेको कांग्रेसप्रतिको ऐतिहासिक विश्वास, संगठनको मजबुती, स्थानीय तहसम्म फैलिएको सक्रिय अभियान तथा जनभावनाअनुसार परिष्कृत र परिवर्तनशील नीति र नेतृत्व कांग्रेसको प्रमुख शक्ति बनेको छ ।

यद्यपि, निर्वाचनको सन्दर्भमा कुनै पनि राजनीतिक दललाई कमजोर रूपमा आंकलन गर्न सकिँदैन । केही नयाँ तथा साना दलका उम्मेदवारहरूको उपस्थितिले मत विभाजनको सम्भावना भने पूर्ण रूपमा नकार्न सकिँदैन । तर समग्र राजनीतिक माहोल, जनसम्पर्कको अवस्था र संगठनात्मक तयारीको मूल्याङ्कन गर्दा निर्णायक प्रतिस्पर्धा दुई ठुला दलका विचमा हुने देखिन्छ । नेपाली कांग्रेस यस प्रतिस्पर्धालाई सकारात्मक चुनौतीका रूपमा लिँदै, मतदाताको विश्वास जित्ने र स्पष्ट बहुमतसहित विजयी हुने लक्ष्यका साथ निरन्तर प्रचार अभियानमा जुटिरहेको छ ।

  • २०८२ माघ २०, मंगलवार