सम्पादकीय
दुर्घटना एक भवितव्य हो । यो आकस्मिक हुन्छ । दुर्घटना या विपद् बाजा बजाएर आउँदैन । बिहीवार बागलुङ बजारमा एक दुखद दुर्घटना भयो । एभरेष्ट स्कुलको विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा १ विद्यार्थीको मृत्यु भएको छ भने अरु २५ जना घाइते भएका छन् । घाइते विद्यार्थीहरु मध्ये १९ विद्यार्थीको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ भने ४ जना मणिपाल शिक्षण अस्पताल पोखरा र २ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । दुर्घटनाले सिंगो बागलुङबासीलाई दुखित तुल्याएको छ । यस दुर्घटनामा देखिएको कतिपय संवेदनाहीन गतिविधि र दृश्यले भने निकै सोचनीय बनाएको छ । जसमा सरकार, सरोकारवाला निकाय र आमनागरिक सम्मले गम्भीरतापूर्वक सोच्नुपर्ने देखाएको छ ।
स्कुल बस दुर्घटनाको कारण सार्वजनिक भइसकेको छैन । प्रहरीले यसबारे आवश्यक अनुसन्धान गरेर यथार्थ विवरण बाहिर ल्याउला नै । दुर्घटनामा गाडी क्षतिग्रस्त छ, एक विद्यार्थीले ज्यान गुमाएका छन् । साना कलिला विद्यार्थीहरु घाइते रगताम्य अवस्थामा छन् । तर, त्यहाँ उपस्थित मानिसहरु उद्धार सहयोगमा भन्दा प्रत्यक्षदर्शी, मोवाइलमा फोटो भिडियो खिच्न, सामाजिक सञ्जाल फेसबुकहरुमा लाइभ गर्नमा व्यस्त देखिन्थे । यस्तो संवेदनाहीन गतिविधिमा मोवाइल र सामाजिक सञ्जाल क्रेजीहरु त केन्द्रित थिए नै, समाजका बौद्धिक, शिक्षिक, सचेत भनिएकाहरु नै यस्तो गतिविधिमा देखिए । बरु दुर्घटनाको रिर्पोटिङमा दुर्घटनास्थल र धौलागिरी अस्पताल पुगेका पत्रकारहरु जिम्मेवार देखिए । यसले सामाजिक सञ्जालहरुको प्रयोग गर्ने सवालमा, दुर्घटनाका तस्बिर र सूचनाहरु अफवाहको रुपमा फैलाउने प्रवृत्ति पनि व्याप्त देखियो । विद्यार्थीका परिवार, अभिभावक कहाँ कहाँ कस्तो अवस्थामा छन्, उनीहरु अचानक सञ्जालमा देख्दा अभिभावकहरुलाई कति हतोत्साही बनाउला ? यस्तो अवस्थामा गलत सूचना प्रवाह भएर अर्को अप्रिय घटना भयो भने को जिम्मेवार हुन्छ ? यसतर्फ दुर्घटनाको लाइभ गर्ने, हतार हतार तथ्यहीन सूचना समाचार प्रवाह गर्नेहरु जिम्मेवार हुनुपर्दैन ? अहिले त यस्तो अवस्था सर्वत्र देखिन्छ कि उनीहरु मानवीय संवेदना, सामाजिक उत्तरदायित्वकाबारेमा बेखबर छन् ।
दुर्घटना आफैमा दुखद र अप्रिय कुरा हो । अझ विद्यालयको विद्यार्थी चढेको गाडी दुर्घटना हुनु थप संवेदनशील विषय हो । बागलुङमा अहिले भएको दुर्घटना प्रति दुःख छ, समवेदना छ, घाइते विद्यार्थीहरुको शीघ्र स्वास्थ्य लाभको कामना छ । दुर्घटनाको कारण एक भवितव्य, गाडीको अवस्था या चालकको लापरबाही के थियो ? यथार्थ बाहिर आउनु पर्छ । जसले भोलिका दिनमा फेरि यस्तै अर्को दुखद दुर्घटनाको पुनरावृत्ति नहोस् । अर्काे पाटोमा हामी आफु या आफ्नो परिवार या निकटका मान्छेलाई प¥यो भने मात्रै दुर्घटनाले कति दुःखी, तनावग्रस्त बनाउँछ, यस्तो गम्भीर विषयमा कति संवेदनशील बन्नुपर्छ भन्ने बोध गराउँछ । के हामी हाम्रो समाज आफु या आफ्नो मान्छेलाई नपरे सम्म बोध नगर्ने हो ? दुर्घटना जस्तो संवेदनशील विषयमा उद्धार र उपचार पहिलो प्राथमिकता हुनुपर्छ । यसको विपरित सामाजिक सञ्जाल या समाचारमा हाल्ने हतारो गर्ने, त्यो पनि बिभत्स, कुनै संवेदना नराखी जे भइरहेको छ, त्यो दुर्घटनास्थलबाट लाइभ गर्ने कुरा मानवीय हिसाबले न्यायोचित देखिदैन । जान अन्जानमा यी र यस्ता दुर्घटनामा देखिएका संवेदनाहीन गतिविधि रोकौं ।
