सम्पादकीय
विश्वव्यापी रुपमा लोकप्रिय खेलको रुपमा स्थापित छ क्रिकेट । जसमा नेपालले पछिल्लो केही वर्ष यता उल्लेख्य प्रगति हासिल गरेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा बढेको क्रिकेट खेल गतिविधि र प्रदर्शनका कारण यसको क्रेज नेपालका गाउँतह सम्म पुगेको छ । केही वर्ष अघि सम्म भलिबल र फुटबलको क्रेज मात्र उल्लेख्य रहेकोमा अहिले क्रिकेट पहिलो नम्बरमा आउन थालेको छ । यसो हुनुको पछाडि नेपाल भित्र नेपाल प्रिमियर लिग (एनपीएल) जस्तो घरेलु क्रिकेट प्रतियोगिता व्यवस्थित रुपमा आयोजना हुनु र नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा आफूलाई अब्बल सावित गर्नु हो । यही सफलताको अनुक्रममा हालै भारत र श्रीलंकामा जारी टी–२० विश्वकप क्रिकेटमा नेपालले सहभागिता जनायो । जसमा दुई खेलमा उत्कृष्ट प्रदर्शन र दुई खेलमा फितलो प्रदर्शन ग¥यो र, विश्वकपबाट बाहिरियो ।
नेपालको विश्वकप यात्रा यसपटकसँग तेस्रो पटक हो । यसपटक टी–२० विश्वकप क्रिकेट खेल्न जाँदै गर्दा नेपाली टोली सुपर ८ सम्म पुग्ने लक्ष्य थियो । नेपाली फ्यानहरु पनि नेपालले कम्तीमा समूह चरणका २ खेल जितेर सुपर ८ सम्म पुग्ने आशामा थिए । यस अपेक्षालाई बल पुग्ने गरी नेपाली टोलीले पहिलो खेलमा दुई पटकको विश्व च्याम्पियन इंग्ल्यान्डविरुद्ध ४ रनले पराजित भए पनि शानदार प्रदर्शन ग¥यो । झिनो रनले पराजित भए पनि विश्व क्रिकेट जगतमा नेपाल र नेपाली क्रिकेटरको राम्रै चर्चा भयो । तर, उक्त चर्चा दोस्रो र तेस्रो खेल सम्म आइपुग्दा कमजोर हालतमा पुग्यो । तुलनात्मक रूपमा आफूभन्दा कमजोर मानिएको इटालीसँग निरीह बन्न पुग्यो । इटालीसँग १० विकेटले हारेको नेपाल टेस्ट राष्ट्र इंग्ल्यान्ड र वेस्ट इन्डिज पराजित भयो । विश्वकपअघि ठूला राष्ट्रहरूसँगको प्रतिस्पर्धामा आत्मविश्वास कमजोर देखियो, प्रेसरलाई थेगेर खेल्ने साहसमा कमी देखियो । ठूला राष्ट्रहरूसँगको अनुभवको कमी नेपाली टिमको इंग्ल्यान्डसँगको खेलमा बढी देखियो । यद्यपि, स्कटल्यान्डसँगको अन्तिम खेल जितेर नेपाल घर फर्किन बिबश बन्यो ।
विश्वकपमा नेपाल सुपर–८ मा नपुग्नु दुखद नै हो । यद्यपि, नेपाल विश्वकप क्रिकेट खेल्नु नै एक महत्वपूर्ण उपलब्धि हो । विश्वकप तयारीका लागि आईसीसीले ५ लाख डलर दिन्छ । जुन रूपमा नेपालले विश्वकपमा क्रिकेटका शक्तिशाली राष्ट्रसँग खेलेर तयारी गर्नुपथ्र्याे, त्यसमा नेपाल चुकेको थियो । यो खेलसम्म आइपुग्दा मैदानमा तयारीको अभाव प्रष्ट देखियो । नेपालको डेथ ओभर सधैंको समस्या देखिन्छ । जुन यसपटक पनि देखिएको छ । पर्याप्त तयारी भएको भए नेपालको नतिजा फरक हुन सक्ने सम्भावनालाई अब पाठको रुपमा लिएर भोलिको तयारीमा ध्यान दिनु जरुरी छ ।
