• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

बागलुङ नगरमा चुनाव हाँक्ने एमालेका १४ कमाण्डर : साख फर्काउलान् ?

  • २०८२ फाल्गुन ८, शुक्रबार

बागलुङ । राजनीतिक दलहरुलाई चुनावले छपक्कै छोपेको छ । ‘मिसन फागुन २१’ भन्दै दलका उम्मेदवार, चुनावी कमाण्डर, नेता तथा कार्यकर्ताहरु यतिबेला अन्य कामलाई थाँती मात्रै राखेका छैनन्, राती कम सुत्ने र दिनमा बढी खटिने गरेका छन् । घरदैलो, जनभेटघाट गरी आफ्ना योजना सुनाउन तथा अरुले भन्दा राम्रो काम गर्छु भन्ने प्रतिवद्धता व्यक्त गर्ने चटारो छ ।

बागलुङ क्षेत्र नं. १ मा ११ जना उम्मेदवार मैदानमा छन् । विभिन्न पार्टीका तर्फबाट उम्मेद्वार बनेकाहरुलाई जिताउन पार्टीका विभिन्न तहका कमिटिहरु, जनवर्गीय र शुभेच्छुक संस्थामा आवद्ध नेता कार्यकर्ताहरु, स्वयं उम्मेदवार, उनीहरुका आफन्तहरु समेत चुनाव केन्द्रीत अभियानमा छन् । अन्य समयमा राजनीतिमा खासै चासो नहुनेहरु पनि यति बेला चुनाव केन्द्रीत अभियान, चुनावी छलफल र चिया गफमा सक्रिय देखिन्छन् ।

यो क्षेत्रमा चार वटा पालिका र ३७ वटा वडा रहेका छन् । प्रमुख राजनीतिक दलहरुले सबै पालिका र सबै वडामा निर्वाचन परिचालन कमिटि गठन गरेर अभियान सञ्चालन गरेका छन् । केही उम्मेदवारको एकल मत माग्ने अभियान छ भने अन्यले दलका कमिटि परिचालन गरेका छन् ।

यो क्षेत्रका सबै पालिका र वडामा पार्टीको कमिटि रहेको नेकपा एमालेले ४ वटा पालिका स्तरीय र ३७ वटा वडा स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेर चुनावमा जुटेको छ ।
चार वटा पालिकामा प्र्रदेश कमिटिका सदस्यलाई संयोजक र पालिका कमिटिका अध्यक्षलाई सदस्य सचिवको जिम्मेवारी दिएर एमालेले चुनावी कमाण्ड सम्हाल्न निर्देशन गरेको छ ।

बागलुङ नगरपालिकाका १४, काठेखोलाका ८, जैमिनीका ९ र बरेङका ५ गरी ३७ वटै वडामा वडा स्तरीय, ४ पालिकामा पालिका स्तरीय र संघीय निर्वाचन क्षेत्र स्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

बागलुङ नगरपालिकामा प्रदेश कमिटि सदस्य ध्रुव बहादुर केसीलाई संयोजक र नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्मालाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

बागलुङ नगरपालिकाका वडाहरुमा वडा नं. १ मा नारायण शर्मा (युग), २ मा हुमादेवी खड्का, ३ मा बाबुलाल शाक्य, ४ मा नेत्र बहादुर बिष्ट, ५ मा बलराम सापकोटा, ६ मा जित बहादुर कार्की, ७ मा युगेन्द्र खनाल, ८ मा सुरेश मल्ल, ९ मा अगन बहादुर खड्का, १० मा विजय थापा, ११ मा चिरञ्जिवी केसी, १२ मा गुरुदत्त पाठक, १३ मा उमानाथ शर्मा र १४ मा क्याप्टेन दुर्गा बहादुर खड्कालाई एमालेले चुनावी कमाण्डर तोेकेको छ ।

वडाको चुनाव हाँक्ने जिम्मेवारी पाएका संयोजकहरु (चुनावी कमाण्डरहरु) को अगुवाईमा सबै वडामा वडा स्तरीय निर्वाचन परिचालन समितिको वैठक बसेर टोल स्तरीय भेला, निर्वाचन परिचालन कमिटि गठन, महिला परिचालन, युवा परिचालन लगायत निर्वाचनमा एमालेको पक्षमा मत माग्न मतदाताको घर घरमा पुग्ने गरी योजना निर्माण गरिएको एमाले बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले जानकारी दिनुभयो ।

योजना निर्माण भइसकेको छ, उम्मेदवार हिरा बहादुर केसी लगायत केन्द्र तथा प्रदेशका नेताहरुको सहभागितामा पहिलो चरणको मतदाता भेटभाट पनि सकिएको छ, नगर कमिटिका अध्यक्ष शर्माले भन्नुभयो,–‘दोस्रो चरणका कार्यक्रम अन्य पालिकाबाट शुरु भएका छन्, बानपामा चुनावी सभा सहित पार्टीका सम्पूर्ण कमिटि परिचालन गर्दैछौ ।’

वडाको निर्वाचन परिचालनको जिम्मेवारी लिएका संयोजक तथा सदस्यहरुले टोल स्तरीय भेला गर्ने, मतदातालाई भेट्ने, महिला तथा युवा परिचालनका काममा सक्रिय रहेको एमालेले जनाएको छ ।

२०७९ को स्थानीय निर्वाचनमा १४ मध्ये ३ वटा वडामा मात्र जित निकाल्न सफल भएको एमालेले उक्त निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मत जोगाउन सक्दा नगरपालिकाको पहिलो पार्टी बन्ने आंकलन गरेको छ ।

५ दलीय गठबन्धनका कारण बहुमत वडा र प्रमुख तथा उपप्रमुखमा पराजित भएको एमालेले यस पटक सबै दल छुट्टा छुटटै चुनावी प्रतिस्पर्धामा आएकाले बागलुङ नगरपालिकामा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका उम्मेदवारहरुले पाएको मत जोगाउने लक्ष्यका साथ सिंगो पार्टी कमिटि परिचालन गरेको नगर निर्वाचन परिचालन कमिटिका संयोजक ध्रुव बहादुर केसीले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिकाका १४ वडामा तत्कालिन ५ दलीय गठबन्धनका दलहरु ११ वटा वडामा विजय हुदा एमालेले जम्मा ३ वटा वडा जितेको थियो । गठबन्धनका तर्फबाट १४ वटा वडाका वडा अध्यक्षका उम्मेदवारहरुले १३ हजार १ सय ३३ मत प्राप्त गरेका थिए ।

एमालेका तर्फबाट १४ वटा वडामा अध्यक्ष पदका उम्मेदवारहरुले ८ हजार ८ सय १७ मत प्राप्त गरेका थिए । वडा नं. ३ मा स्वतन्त्र रुपमा वडा अध्यक्षका उम्मेद्वार बनेका बाबुलाल शाक्यले २ सय ६० मत प्राप्त गर्नु भएको थियो । शाक्य यतिबेला एमालेका तर्फबाट बानपा–३ मा चुनाव हाँक्ने कमाण्डर बन्नु भएको छ । शाक्यले ल्याएको मत पनि तान्ने गरी अभियान सञ्चालन गरेका छौ, एमाले जिल्ला सचिव गणेश बहादुर थापाले भन्नुभयो,–‘गत स्थानीय तह निर्वाचनमा भएका केही कमी कमजोरीलाई व्यवस्थापन गरेर अगाडि बढेका छौ, यस पटक सकेसम्म बढाउने, नभए पनि गत स्थानीय तहको निर्वाचनमा प्राप्त मत जोगाउन सक्दा एमाले बानपाको पहिलो शक्ति बन्छ ।’

बागलुङ नगरपालिका एमालेको राम्रो जनमत भएको ठाउँ हो, गत स्थानीय निर्वाचनमा केही वडामा उम्मेवार चयन लगायत निर्वाचन व्यवस्थापनमा कमी कमजोरी भएका थिए, एमालेका एक जिल्ला सदस्यले भने, यस पटक एमालेमा संगठन परिचालन र नेतृत्वबीचको समझदारी सकारात्मक रहेको छ ।

गत निर्वाचनमा ५ दलीय गठबन्धनबाट निर्वाचन परिचालनको महत्वपुर्ण जिम्मेवारीमा रहेका तत्कालिन नेकपा (एस) बागलुङका अध्यक्ष लाल बहादुर थापा लगायत गठबन्धनमा संलग्न नेताहरु यतिबेला मुलघर एमालेमै समाहित भई निर्वाचनको महत्वपूर्ण जिम्मेवारीमा रहेकोले पनि यसपटक मत बढाउन सकिने एमालेले जनाएको छ ।

२०७८ मा नेकपा एमालेबाट विभाजन भएर बनेको नेकपा (एस) तत्कालिन ५ दलीय गठबन्धनमा थियो, अहिले नेकपा (एस)का जिल्ला अध्यक्ष सहितको टिम एमालेमै समाहित भएको छ, विभाजनका कारण बानपा–२, ३ र १० लगायतका वडामा एमालेको मत कम आएको थियो । यस पटक पार्टी एकढिक्का भएकाले पनि मत बढाउन सकिने अवस्था रहेको एमालेका नेताहरु बताउछन् ।

गत स्थानीय र संघ तथा प्रदेशको निर्वाचनमा पार्टी विभाजित अवस्थामा थियो, एमालेबाट विभाजित भएर नेकपा एस बनेको र त्यो पार्टी ५ दलीय गठबन्धनमा सहभागी भएर एमालेलाई पराजित गर्ने कार्यमा महत्वपूर्ण फ्याक्टर बनेको थियो । एमालेका तर्फबाट बागलुङ क्षेत्र नं. १ का उम्मेदवार तथा जिल्ला अध्यक्ष हिरा बहादुर केसीको सक्रियतामा नेकपा एसको जिल्ला कमिटिलाई नै एमालेमा समाहित गरेका कारण स्थानीय तहको निर्वाचनमा पाएको मत मात्र होइन, थप मत समेत एमालेले बढाउने दावी नेताहरुको छ ।

एमालेका उम्मेदवार हिरा बहादुर केसी सानै उमेरदेखि यही भूगोलमा राजनीतिमा क्रियाशिल रहेकाले सबै मतदातासंग चिर परिचित अनुहार, संगठनको अवस्था बलियो रहेको लगायतका कारण एमाले बागलुङ क्षेत्र नं. १ मा प्रमुख शक्ति हो र त्यसलाई कायम राख्नका लागि पार्टीको सिंगो जनशक्ति उच्च मनोबल र दृढताका साथ चुनावी मैदानमा होमिएको बागलुङ नगरकमिटिका अध्यक्ष रामकृष्ण शर्माले बताउनुभयो ।

नगर कमिटिका १४ वटा वडामा गठित निर्वाचन परिचालन कमिटिका संयोजकहरुले आ–आफ्नो वडाको अभियानलाई व्यवस्थित गर्नु हुन्छ, नगर स्तरीय निर्वाचन परिचालन कमिटिले वडाका गतिविधिमा साथ सहयोग गर्छ र प्रदेश तथा केन्द्रीय नेतृत्वले अनुगमन र निर्देशन गर्ने गरी निर्वाचन परिचालन अगाडि बढेको शर्माको भनाइ छ ।

पार्टीको केन्द्रीय सदस्यको नेतृत्वमा समग्र निर्वाचन परिचालन समिति, प्रदेश कमिटिका सदस्यहरुको संयोजकत्वमा पालिका स्तरीय निर्वाचन परिचालन कमिटि र जिल्ला तथा वडा कमिटिका पदाधिकारी सदस्यहरुको संयोजकत्वमा रहेको वडा स्तरीय निर्वाचन परिचालन कमिटिले यो क्षेत्रमा ३ हजार भन्दा बढी संगठित सदस्यहरुलाई परिचालन गर्न सक्छ ? एमालेका समर्थक शुभेच्छुकहरुले प्रश्न गरेका छन् ।

  • २०८२ फाल्गुन ८, शुक्रबार