बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बागलुङ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार सुशिल खड्काले बागलुङ राणाकालमै शिक्षा, अर्थ र उत्पादनमा अब्बल रहेको बताउनु भएको छ । उहाँले पुराना राजनितिक दलका कारण बागलुङको राष्ट्रिय गौरव गुमेको भन्दै आफु यहि गुमेको गौरव फिर्ता गर्ने अभियानमा भएको बताउनु भयो ।
उहाँले राणाकालमै बागलुङका महिला विद्यालय जाने, नेपालका मुद्रा यहि निर्माण हुने, विभिन्न धातुका भाँडाहरु यहि निर्माण हुने गरेको भएपनि पछिल्लो समय बागलुङको गौरव खस्कदै गएको भन्दै फागुन २१ गते मतदाताले १ घण्टा समय दिए आफुले इतिहास बदल्दिने बताउनु भएको हो ।
शनिबार बागलुङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरेर उहाँले बागलुङ र नेपालका लागि आफ्ना सपना र योजना सार्वजनिक गर्दै डिजिटल सुशासनमार्फत भ्रष्टाचारको अन्त्य गर्ने बताउनु भयो ।
उहाँले बागलुङको अर्थतन्त्र फस्टाउनका लागि कृषिको व्यवसायीकरण, बागलुङलाई गुणस्तरीय स्कुल, शिक्षा र आयमुलक प्राविधिक शिक्षाको हवका रुपमा स्थापित गर्ने, पर्यटनमार्फत विश्वमाझ बागलुङलाई चिनाउने, बागलुङ नगरपालिकालाई शुन्य फोहोर नगरको रुपमा विकास गर्ने आफ्ना योजना र सपना रहेको बताउनु भएको थियो ।
उहाँले युवा, महिला, दलित, जनजाति, अपाङ्गता भएका, जेष्ठ नागरिक, लैङ्गिक अल्पसंख्यक सबैले राज्यको सेवा समान प्राप्त गर्ने समाज स्थापित गर्ने आफ्नो सपना भएको बताउनु भएको छ ।
उहाँले आफ्नो बागलुङका प्रत्येक वडामा कृषि प्राबिधिक (जेटीए) सुनिश्ति गर्दै व्यवसायीक कृषिमा लगानी गर्ने नीति बनाउने बताउनु भयो । स्थानीय कृषि उत्पादनकोलागि प्रशोधन, चिस्यान, भण्डारणनको व्यवस्था गर्ने, कृषकको उत्पादनको बैज्ञानिक र उचित समर्थन मुल्य तोकिदिने, कृषि र पशु बिमा अनिवार्य गर्ने नीति बनाउने बताउनु भएको छ ।
