बागलुङ । बागलुङका १ सय ७५ कुकुरको बन्ध्याकरण गरिएको छ । ३ वटा बिरालाको पनि बन्ध्याकरण गरिएको छ ।
बन्ध्याकरण नगरेका सामुदायिक कुकुरका कारण प्रत्येक वर्ष सडकमा कुकुरको संख्या बढ्दै गएको, दुर्घटना र कुकुरको टोकाइका कारण रेविजको समेत जोखिम हुने भएकाले न्यूनिकरणका लागि बागलुङमा पछिल्लो ७ वर्षदेखि सामुदायिक तथा घरपालुवा कुकुर विरालाको बन्ध्याकरण गरिदै आएको छ ।
भेटेरनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङले जिल्लाका विभिन्न स्थानमा पुगेर कुकुरको बन्ध्याकरण गर्दै आएको छ ।
पछिल्लो ७ वर्षमा बागलुङका विभिन्न स्थानमा १ हजार ३ सय भन्दा बढी कुकुरको बन्ध्याकरण गरि सकेको भेटेरनरी अस्पताल तथा पशु सेवा कार्यालय बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन ८ गतेदेखि बागलुङ बजारसँगै काठेखोला गाउँपालिकाको अक्षते बजारमा सञ्चालन भएको कार्यक्रममा ५२ वटा घरपालुवा भाले, ७६ वटा घरपालुवा पोथी गरि १ सय २८ र १७ वटा सामुदायिक भाले र ३० वटा सामुदायिक पोथी गरि १ सय ७५ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । जसमध्ये बागलुङ नगरपालिकाका १ सय ३० र काठेखोला गाउँपालिकाका ४५ वटा रहेका छन् । बागलुङ बजारकै ३ वटा घरपालुवा विरालोको पनि बन्ध्याकरण गरिएको छ ।
कार्यालयले यसवर्ष १ सय ५० कुकुर विरालाको बन्ध्याकरण गर्ने लक्ष्य लिएको भएपनि लक्ष्यभन्दा धेरै कुकुर विरालाको बन्ध्याकरण गरिएको हो । प्रत्येक वर्ष सडकमा नयाँ नयाँ कुकुरहरु अनियन्त्रित रुपमा बढ्दा टोलटोलमा झुण्ड बनाएर बस्ने, रातभरि भुक्ने, सडक दुर्घटनाको जोखिम बढ्ने र रेविजको समेत जोखिम बढ्ने भएकाले कुकुरको बन्ध्याकरण गरिएको कार्यालय प्रमुख डाक्टर सापकोटाले बताउनु भयो ।
एउटा कुकुर वर्षमा २ पटकसम्म मगर्भवती हुने र केही वर्षमै कुकुरको संख्या अनियन्त्रित हुँदा सामाजिक समस्या बन्ने भएकाले विश्व्यापी रुपमै जनावरको अनियन्त्रित जन्म रोक्नका लागि बन्ध्याकरण र रेविज नियन्त्रणका लागि खोप कार्यक्रमलाई समधानको रुपमा हेरिएको छ ।बन्ध्याकरण कुकुरको संख्या नियन्त्रण, झगडा, टोक्ने, भुक्ने र आक्रमक व्यवहारको कम गराउनका लागि मात्र नभएर कुकुरको स्वास्थ्य समेत राम्रो गराउनका लागि प्रभावकारी हुने डाक्टर सापकोटाले बताउनु भयो ।
