• २०८३ आश्विन २६, सोमबार
  • 2026 October 12, Monday

बागलुङमा बदर मत घटाउन घर–घरमा पुग्दै सहजकर्ता

  • २०८२ फाल्गुन १२, मंगलवार

बागलुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बागलुङ जिल्लामा फागुन ३ गतेदेखि धमाधम मतदाता शिक्षा कार्यक्रम भइरहेको छ । निर्वाचनका क्रममा बदर मतको सङ्ख्या न्यून बनाउने उद्धेश्यसहित जिल्ला निर्वाचन कार्यालय बागलुङले मतदाता शिक्षाका लागि वडा–वडामा कर्मचारी खटाइएको छ ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ प्रसाद रिजालका अनुसार दशवटै स्थानीय तहमा ८५ वटै वडामा मतदाता शिक्षा कार्यक्रम एकसाथ थालिएको छ । मतदातालाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिनु, मतपत्र प्रयोग गर्ने सही तरिका बुझाउनु तथा मतदान गर्दा ध्यान दिनुपर्ने विषयमा सचेत गराउन मतदाता शिक्षा आवश्यक रहेको र त्यसका लागि नमूना मत चिन्ह सहितको आवश्यक नमूना मतपत्र सहित वडा तहमा कर्मचारी खटाइएको छ ।

रिजालका अनुसार मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन सकेमा मतदातालाई मतदान गर्न सहज हुने र बदर मतको समस्या उल्लेखनीय रूपमा घट्ने विश्वास व्यक्त गर्नुभयो ।

विशेषगरी नयाँ मतदाता, पहिलो पटक मतदान गर्ने युवा, ज्येष्ठ नागरिक तथा कम साक्षर मतदातालाई लक्षित गरी व्यवहारिक अभ्याससहित कार्यक्रम सञ्चालन गरिने छ । एक वडा एक सहजकर्ता खटाइएको छ । मतदातालाई मतदान प्रकृयाको विषयमा जानकारी गराउदै मतदाताहरुलाई दिएको शिक्षाको विषयमा आयोगमा जानकारी दिने काम भइरहेको बागलुङ नगरपालिका–१ का सहजकर्ता दुर्गा शर्माले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत मतपत्रमा सही चिन्ह कसरी लगाउने, समानुपातिक र प्रत्यक्ष प्रणालीको भिन्नता, मतदान केन्द्रमा पालना गर्नुपर्ने आचारसंहिता तथा मतदानको गोपनीयता सम्बन्धी विषयमा जानकारी गराउदै घर–घरमा हिडेको शर्माको भनाई छ । शर्मा जस्ता ८५ वडाका सहजकर्ताले फागुनको १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्नेछन् ।

जिल्ला निर्वाचन कार्यालयले सबै मतदातालाई मतदाता शिक्षा कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै, निष्पक्ष, मर्यादित र सफल निर्वाचन सम्पन्न गर्न सामूहिक प्रयास आवश्यक रहेको जनाएको छ । ८५ वटा वडामा ८५ वटा मतदाता शिक्षा सहजकर्ता खटाएर फागुन ३ गते वडामा पठाइएको हो ।

 

  • २०८२ फाल्गुन १२, मंगलवार