• २०८३ कार्तिक ७, शुक्रबार
  • 2026 October 23, Friday

सम्पादकीय : इरान र मध्यपूर्व मिसाइल आक्रमण, नेपाली र सचेतता

  • २०८२ फाल्गुन १७, आईतवार

नेपाली आन्तरिक राजनीतिक उथलपुथलले त तरंगित छ नै, यही कारण अहिले अर्ली इलेक्सनको रुपमा फागुन २१ मा निर्वाचन हुँदैछ । उसो त नेपाल विश्व राजनीतिबाट पनि प्रभावित छ । दुई ठुला छिमेकी देश भारत र चिन त छँदैछन्, अमेरिका लगायतका देशको पनि विस्तारै प्रत्यक्ष अप्रत्यक्ष प्रभाव जमाउन थालेका छन् । यही अनुक्रममा इजरायल र अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि–एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई मिसाइल आक्रमण सुरु गरेको छ । यी हमलाहरूले इरानी सैन्य र सरकार सम्बन्धी लक्ष्यहरूलाई निशाना बनाएको छ । यसका जवाफमा इरानले पनि मध्यपूर्वका देशहरुमा रहेको अमेरिकी सैन्य क्याम्पहरुमा मिसाइल र ड्रोन हमला थालेको छ । जसले मध्यपूर्वका कतार, कुवेत, बहराइन, यूएई लगायत क्षेत्रका अमेरिकी तथा इजरायली स्थलहरूलाई लक्षित गरेको छ । जहाँ ठुलो संख्यामा रहेका नेपालीहरु पनि असुरक्षित बनिरहेका छन् । नेपालमा पनि सर्वत्र चासो र चिन्ता व्यक्त भएको छ ।

इरान माथि संयुक्त राज्य अमेरिका र इजरायल दुवैले संयुक्त रूपमा ठूलो सैन्य आक्रमण (हवाई तथा मिसाइल हमला) इरानमाथि किन गरे ? यसका पछाडि केही कारण छन् । यो अन्तर्राष्ट्रिय राजनीति र क्षेत्रीय तनावको परिणाम हो । इरानको परमाणु तथा मिसाइल कार्यक्रमलाई इजरायल र अमेरिकाले खतराको रूपमा हेर्दै आएको छ । यस पटकको आक्रमणमा अमेरिकाको भूमिका केवल सहयोगीमा मात्र सीमित छैन । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार, अमेरिकी वायुसेना र नौसेनाले यस अपरेसनमा सक्रिय सहभागिता जनाएका छन् । वार्ता र प्रतिबन्धहरूका बाबजुद पनि समाधान नआएपछि युद्धको बाटो अपनाइएको छ । इरानले वर्षौंदेखि इजरायल र अमेरिकाको विरुद्ध रहेका सशस्त्र समूहहरूलाई समर्थन गरेको आरोप छ, जसले नयाँ युद्धको जोखिम बढाएको थियो । पछिल्ला कूटनीतिक प्रयासहरू असफल भएको थियो । र अन्ततः दुवैले मिलेर सैन्य कदम चाल्ने निर्णय गरेको थियो । अहिले इजरायल, अमेरिकाले गरेको आक्रमणमा इरानले प्रतिकार स्वरुप मिसाइल र ड्रोन हमला गरे पछि दुवै देशले हवाई मार्ग बन्द गरेका छन् । क्षेत्रीय तनाव फैलिए पछि केही खाडी देशहरूमा पनि हवाई आक्रमण भएपछि नेपाल र नेपाली पनि प्रभावित भएका छन् । कतार लगायतका देशमा रहेका नेपालीलाई सुरक्षित रहन, आवश्यक निर्देशनहरु पालना गर्न नेपाली दुतावासहरुले सूचना जारी गरेका छन् । मध्यपूर्वका बिभिन्न देश र उक्त देश हुँदै बिभिन्न गन्तव्य तर्फ हिँडेका नेपाली यात्रुहरु पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतमा अलपत्र परेका छन् ।

अमेरिका र इजरायलले इरानलाई आफ्नो आणविक हतियार निर्माण प्रक्रिया रोक्न अन्तिम चेतावनी दिएको थियो । उक्त समयसीमा सकिएलगत्तै सुरु भएको आक्रमणबाट दर्जनौको ज्यान समेत गएको छ । ठुलो मात्रामा भौतिक संरचना ध्वस्त पारिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको सम्पूर्ण आणविक संरचना ध्वस्त पार्ने चेतावनी दिइरहेका छन् भने इरानले ‘विनाशकारी’ क्रसिङ‘ बदलाको चेतावनी दिएको छ । यसले विश्वव्यापी रुपमा सैन्य द्वन्द्वलाई अझ गम्भीर बन्ने र इजरायल र अमेरिकाको यो संयुक्त आक्रमणले मध्यपूर्वलाई पूर्ण स्तरको क्षेत्रीय युद्धको संघारमा पु¥याएको छ । यो केवल एक सैन्य कारबाही मात्र नभएर इरानको वर्तमान सत्ता परिवर्तन गर्ने रणनीतिक कदम पनि हुनसक्ने विश्लेषण छ । यदि इरानले कडा जवाफी हमला ग¥यो भने, यसले विश्वव्यापी अर्थतन्त्र र सुरक्षा व्यवस्थामा अपूरणीय क्षति पु¥याउन सक्ने आशंका छ । विश्व समुदाय अहिले शान्तिको खोजीमा रहे पनि युद्धको ज्वाला झन् दन्किँदै जाने संकेत देखिन्छ । नेपाल जस्तो भर्खरै मात्र जेनजी आन्दोलनबाट परिवर्तनसँगै ध्वंस बेहोरेको देशले आसन्न निर्वाचनसँगै देशको सार्वभौमिकता र सुरक्षाका सन्दर्भमा पनि विशेष सचेतता अपनाउनु पर्ने देखिएको छ ।

  • २०८२ फाल्गुन १७, आईतवार