बागलुङ । गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले बुर्तिवाङ पुगेर दादुरा संक्रमित बालबालिकालाई भेट्नु भएको छ ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ का बालबालिकामा दादुराको संक्रमण देखिएपछि गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयका सचिव युवानिधि बसौला सहित बुर्तिवाङ अस्पताल पुगेका स्वास्थ्यमन्त्री पाठकले विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गर्नु भएको थियो ।
स्वास्थ्यमन्त्री पाठकले संक्रमण अझै फैलिए स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषण गरेर थप कडाईका साथ संक्रमितको खोजतलास र उपचार गरिने उहाँले बताउनु भयो ।
फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा संक्रमण भएको पुष्टी भएको थियो । त्यस यता ५७ जनामा दादुरा संक्रमण भए नभएको पुष्टी गर्न नमुना परिक्षण गरिएको छ ।
जसमध्ये ४० जनालाई दादुराको संक्रमण भएको पुष्टी भएको थियो । संक्रमित मध्ये १९ जना उपचार पश्चात निको भएर घर फर्कि सक्नु भएको छ । १२ जनाको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ ।
दादुराको संक्रमण हुनेहरु १० वर्षदेखि ३० वर्षसम्मका छन् । बडिगाड गाउँपालिकाका २ जना बालबालिकामा पनि दादुराको संक्रमण देखिएको छ । हावाबाट सर्ने दादुराको संक्रमणबाट मानविय क्षती हुन नदिन र समयमै उपचार गराउनका लागि स्वास्थ्य मन्त्रालयले बुतिर्वाङ अस्पतालमा ३० वटा बेड, औषधी र आवश्यक सामग्री पठाएको भन्दै स्वास्थ्यमन्त्री पाठकले धौलागिरी अस्पताल बागलुङ र पर्वत अस्पतालबाट समेत स्वास्थ्यकर्मी बुर्तिवाङ पठाएको बताउनु भएको थियो ।
उहाँले आवश्यक परे थप जनशक्ति पठाउने बताउनु भयो । दादुरा संक्रमित विरामीको भेटपछि उपचारमा खटिएका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, विश्व स्वास्थ्य संगठनबाट आएका प्रतिनिधि र अस्पताल व्यवस्थापन समितिसँग छलफल गर्दै स्वास्थ्यमन्त्री पाठकले दादुरा संक्रमित विरामीको उपचारमा खटिदा अन्य विरामीको स्वास्थ्य सेवामा असर नपार्नका लागि गाउँ गाउँका विद्यालय नर्सलाई अस्पताल झार्न आग्रह गर्नुभयो ।
दादुरा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आइसोलेशनमा बसेर, आफ्नो समेत स्वास्थ्यको ख्याल गर्दै विरामीको उपचारमा लाग्न अनुरोध गर्नुभयो ।
पहिलो चरणमा दादुरा संक्रमित पुष्टी भएपछि भयावहको रुपमा फैलिन नदिन प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण सापकोटा सहितको टोली ढोरपाटन पुगेको थियो । गाउँगाउँमै पुगेर नमुना संकलन, परिक्षण र संकास्पदलाई अस्पतालमै राखेर उपचार सुरु गरेका कारण छिट्टै नियन्त्रण गर्न सकिने अपेक्षा गरेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सापकोटाले बताउनु भयो ।
दादुरा तीव्र रुपमा सर्ने रोग भएकोले विद्यालय उमेर समूहका बालबालिकामा छिटो संक्रमण हुन्छ । संक्रमण भएकाहरू अधिकांस १० देखि ३० वर्ष भित्रका छन् । अधिकांस बिरामीलाई ज्वरो, खोकी र शरीरमा बिबिरा आएको थियो ।
नेपाल सरकारले सन् २०२६ भित्रै दादुरा रुबेलालाई ‘जनस्वास्थ्य समस्या नरहेको बनाउने’ अभियान सञ्चालन गरिरहेको छ । यो समस्या देखिएपछि थप गम्भीर रुपमा लिएर उपचारसहित खोजी र परीक्षणको दायरा समेत फराकिलो बनाउनुपर्ने भन्दै गण्डकी प्रदेश सरकारबाट कुनै कमजोरी नहुने सचिव युवानिधि बसौलाले बताउनु भयो ।
बागलुङ जिल्लामा सन् २०२२ मा गलकोट नगरपालिकामा १ जनालाई दादुरा संक्रमण देखिएको थियो । सन् २०२४ मा निसीखोला गाउँपालिकामा १ जनामा संक्रमण देखिएको थियो ।
दादुरा संक्रमण नियन्त्रणका लागि खोपनै सबैभन्दा उत्तम उपाए भन्दै ढोरपाटनका १० देखि १९ वर्ष उमेर समुहका सबै बालबालिकालाई तत्काल खोप लगाउनु पर्ने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ प्रमुख प्रविण सापकोटाले बताउनु भयो । ढोरपाटन नगरपालिकाका ६ हजार ७ सय १९ जना बालबालिकालाई दादुराको खोप लगाउनु पर्ने उहाँले बताउनु भयो ।
दादुराको खोप लगाए नलगाएका बालबालिकाको एकिङ गरि एक हप्ता भित्रै स्वास्थ्य मन्त्रालय र ढोरपाटन नगरपालिकाको सहयोगमा यहाँका बालबालिकालाई खोप लगाइने उहाँले बताउनु भयो ।
