बागलुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा निर्वाचन परिचालन समिति गण्डकीका संयोजक (कमाण्डर) खगराज अधिकारीले सामाजिक सञ्जालमा राखेका २ स्टाटस यतिबेला चर्चामा छन् ।
अधिकारीले फागुन २५ गते रातीे ‘नेतृत्वको भत्र्सना र आत्मभत्र्सनामा रमाउने काम नगरौ, तलैबाट गंभिर समिक्षा गरौ र आगामी कार्यभार ठोस रुपमा तय गरौ’ भन्दै सामाजिक सञ्जालमा पोष्ट गरे । पहिलो स्टाटसमा उनले ‘कुनै पनि पार्टी नीति विधि र त्यसको आधारमा नेतृत्व निर्माणका साथ निर्माण र परिचालित हुन्छ आवेग उत्तेजनामा आएर नकारात्मक प्रतिकृयामा रमाउने होइन देश अन्यौलमा नहोस् त्यसका लागी नेतृत्वको भ्रत्सर्ना र आत्मभ्रत्सर्नामा रमाउने काम नगरौं तलैबाट गम्भीर समीक्षा गरौ र आगामी कार्यभार ठोस रूपमा तय गरौं ।’ भनेका छन् ।
उनको पोष्टमा धेरैले तलैबाट समिक्षा गरौ भन्ने कुराको विरोध गरे । खासमा यतिबेला एमाले रक्षात्मक भएको तलबाट होइन, माथिबाट हो भन्नेमा आम जनता, मतदाता र एमालेका खास कार्यकर्ता जानकार छन् । तल पनि समस्या त पक्कै छन्, तर पनि मुल समस्या माथिकै हो भन्ने मतदाताकै भनाइ छ । अध्यक्ष केपी ओली, खगराज अधिकारी लगायत उनका वरिपरीका व्यक्तिहरुले गर्दा पार्टीले शर्मनाक हार बेहोर्न परेको विषयमा जनता जानकार छन्, कार्यकर्ता जानकार छन्, तर उनले तलै समस्या देखाउन खोजेपछि विशेष गरी गण्डकीका एमाले नेता कार्यकर्तामा गंभिर चर्चा भएको छ ।

खगराजले जसरी केपी ओली र उनको टिमको प्रवृतिको बचाउ गरेका छन्, त्यो ठिक छैन् भन्ने निष्कर्ष हामीले निकालेका छौ, एमालेका एक नेताले बताए । तर उनै खगराज जो प्रदेशको कमाण्डर समेत हुन्, उनले नैतिकता देखाएर पदीय जिम्मेवारीबाट बाहिर आउलान् भन्दा उल्टै तलका कार्यकर्ताका कारण चुनाव हारेको निष्कर्ष सार्वजनिक गरेपछि उनको निकै आलोचना भयो । खगराज उनै व्यक्ति हुन्, जसलाई केपी ओलीले चुनाव हारेको मान्छेलाई मन्त्री बनाएका थिए, चुनाव हारेर पनि स्वास्थ्यमन्त्री, गृहमन्त्रीको जिम्मेवारी दिने मान्छेको बचाउ गर्नुलाई अन्यथा मान्न नहुने केही राजनीतिक कार्यकर्ताहरुको भनाइ छ । खगराज ओली गुटका खास मान्छे हुन्, पछिल्लो समय महासचिव शंकर पोखरेलका दाहिने हात मानिने खगराजले गण्डकी मात्रै होइन, हरेक ठाउँमा गुटका मान्छेलाई व्यवस्थापन गर्ने जिम्मेवारी लिएका छन्, कास्कीकै एक एमाले नेताले बताए । पहिला सामाजिक सञ्जालमा राखेको स्टाटस्प्रति आम नेता कार्यकर्ताको विरोध भएपछि खगराजले १३ घण्टा पछि आज फागुन २६ गते बिहान अर्को स्टाटस राखेर माथिबाटै सच्याउछौ भनेका छन् ।
दोस्रो पोष्टमा उनले ‘ जनता जनार्दन हुन् हामीले आफैलाइ माथीबाटै सच्याउछौ बदला भाव राख्दैनौं फेरी उठ्छौं पूर्वाग्रहले सही मूल्याङकनमा पुगिदैन ।’ भनेका छन् । माथिबाटै सच्याउने भनेको अध्यक्ष फेर्ने, अध्यक्षको टिम नै फेर्ने, नीति र नेतृत्व दुवै फेर्ने ? यस विषयमा उनले केही खुलाएका छैनन् । एमालेको नेतृत्व परिवर्तन गरेर भएपनि पार्टीलाई पुनर्जिवित बनाउछौ भन्ने उपाध्यक्ष विष्णु प्रसाद पौडेलको भनाइ सहितको समाचार आएपछि खगराजले त्यसको प्रतिवाद स्वरुप नेतृत्वलाई कमजोर बनाउन हुदैन भन्ने खालको सन्देश शुरुमा दिएका थिए । तर रात रहे अग्राख पलाउछ भने जस्तै खगराज एकरातमा कसरी यूटर्न भए ? उनलाई नजिकबाट बुझ्नेहरुले उनले ओलीलाई जोगाउन खोज्दा आफै गइने हो कि ? भन्ने अवस्थामा पुगेको निष्कर्ष निकालेको बताउछन् ।

‘अब ओलीलाई साथ दिन्छु भन्नु, आफ्नो खाल्डो आफै खन्नु हो’ भन्ने निष्कर्षका साथ खगराजले माथिबाट सच्याउछौ भनेका हुनसक्छन्, उनकै कार्यकर्ताहरुको यस्तो टिप्पणी छ । हरेक ठाउँमा गुट हरेर, आफुलाई शक्तिशाली कसरी बनाउन सकिन्छ भनेर गतिविधि गर्नमा माहिर खगराज अब विष्णु पौडेल लगायतसंग मिलेर पार्टी सत्तामा निरन्तरता दिने अभियानमा लागेको बताइन्छ । खगराज अधिकारी त, बोेलेको कुरामा अडिने मान्छे हुन्, ओलीको आड पाउदासम्म उनले जे बोले, ओलीकै भाषा बोले, जे गरे ओलीकै योजना अनुसार गरे, जे भए, ओलीकै चाहना अनुसार भए, तर आज उनले माथिबाट सच्याउछौ भनेको ओलीलाई हटाउने, अन्य पदाधिकारी यथावत राख्ने अवस्था आउने आंकलन गरेरै त्यो भनेको हुुनुपर्छ भन्ने एमाले वृतमा चर्चा छ ।
पछिल्लो जनमतले चाही २०४८ सालदेखि चुनावी मैदानमा भएका पात्रलाई अस्वीकार गरेको देखिन्छ । एमालेका प्रदेश चुनावी कमाण्डरले प्रदेश मात्रै होइन, आफ्नै जिल्लामा तेस्रो भएका छन् । गण्डकीमा उनी सहित उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्याल पदाधिकारी छन् ।