• २०८३ आश्विन १९, सोमबार
  • 2026 October 05, Monday

प्रिय प्रकाश ! प्रत्यक्षको तयारी गर्ने कि ?

राम बहादुर जि.सी.

यसपटक समानुपातिकमा परेनौ, सांसद भएनौ । अब राजनीतिमा नै सक्रिय भएर लाग्छौ कि ? सांगीतिक क्षेत्रमा फर्किन्छौ ? यदि राजनीतिमै लाग्ने गरी आएका हौ भने समानुपातिक (कोटा) बाट होइन, अब प्रत्यक्ष निर्वाचित सांसद बन्नु पर्छ । त्यही अनुसार अगाडि बढ्नु पर्छ ।

प्रकाश सपुत, नाम नै काफी छ । गीत संगित, चलचित्र हुँदै समानुपातिक सांसदको उम्मेदवारसम्म आइपुग्दा प्रकाशलाई नचिन्ने नेपाली सायदै होलान् ।

देखेर, भेटेर चिन्नेहरुको संख्या पनि अथाह नै होला । नदेखेरै, नभेटेरै प्रकाश सपुतलाई चिन्ने नेपाली सायदै नहोलान् । चर्चाको शिखरमा पुगेको र पटक–पटक विभिन्न कारणले विवादित समेत हुने गरेका प्रकाशको संघर्षपूर्ण र सफलतापूर्ण जीवनका आ–आफ्नै पाटा छन् ।

यतिबेला प्रकाश करिब दुई तिहाइ जनमत प्राप्त गर्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएका र समानुपातिकमा नपरेपछि विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेका छन् ।

त्यसो त एमालेको भातृ संगठन प्रेस चौतारीका तत्कालीन वरिष्ठ उपाध्यक्ष गणेश पाण्डेद्धारा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीका बारेमा लिखित÷सम्पादित पुस्तक विमोचन कार्यक्रममा ओलीको बारेमा दुई शब्द सकारात्मक कुरा गरेकै भरमा प्रकाशलाई एमालेको झोले, हनुमान ठान्नेहरु यतिबेला मौन प्रायः छन् । हिजो प्रकाशलाई अनावश्यक रुपमा गलत प्रचार गरियो भन्नेहरु यतिबेला समानुपातिकमा नपरेकोमा खुशी छन्, कोही दुखी पनि छ ।

मैले प्रकाशलाई यो आलेखमा तिमी सम्बोधन गरेको छु, (मेरो गाउले, मावली गाउँको भाइका नाताले तिमी शब्द प्रयोग गरेको हँु, नत्र प्रकाश जी भन्छु) प्रिय प्रकाश, समानुपातिकमा नपरेकोमा चित्त दुखाएका छैनौ भन्ने नै मैले ठान्छु, किनकि राजनीतिमा यस्तो हुन्छ, राजनीतिमा जे पनि हुन्छ मात्र होइन, कसैले माने पनि नमाने पनि राजनीति भनेको संयोग, सम्भावना र राजग्रहको खेल पनि हो ।

गुट, उपगुट, उसको यसको, भित्रको बाहिरको, कोर टिमको, हल्का मात्र, यस्ता विषय राजनीतिमा आइरहन्छन् । सायद यस पटक तिमीलाई त्यो पदमा जान लेखेको थिएन कि ? वा भनौ संयोग परेन कि ? बस परेनौ ! चिन्ता नगर ।

देशले चिन्ने प्रकाश सपुत समानुपातिकमा परेको भए पनि तिमीलाई सुख पक्कै दिने थिएनन्, आज नपरेकोमा दुःख व्यक्त गर्नेहरुले नै हेर त ? यत्रो परिचित मान्छे दलितका नाममा कोटामा परेको ? भनेर गाली बर्साउँथे, सामाजिक सञ्जाल रंग्याउथे । नपर्दा खुशी हुने पनि छन्, दुखी हुने पनि छन्, नपरेका कारण रास्वपालाई गाली गर्ने पनि छन्, परेको भए गाली गर्ने पनि हुन्थे ।

तिमी प्रतिनिधिसभा सदस्य नभएकोमा तिमीलाई त खासै फरक परेको छैन जस्तो मलाई लाग्छ, किनकि तिमीले फागुन १६ गते बागलुङ बजारको एउटा कार्यक्रममा बोल्दै गर्दाको भिडियो लाइभ हेरेको थिए । त्यसमा तिमीले म सांसद नभए पनि सुशिल खड्कालाई अवश्य जिताउनु होला, उहाँलाई सांसद बनाउनु पर्छ भनेका थियौ, त्यो त्यत्तिकै भनेका होइनौ भन्ने नै म ठान्छु । किनकि तिम्रो राजनीतिक चेतका बारेमा म जानकार छु । राजनीति र समाज बुझेका तिमीलाई समानुपातिकमा पर्ने कुरा प्रक्रियाका कारण कठिन छ भन्ने बुझेकै थियौ र समानुपातिक सांसद नबनेकोमा त्यति धेरै चिन्ता छ भन्ने मैले ठानेको छैन । यद्यपि, आशा नहुने कुरा भएन, निराश पक्कै छैनौ ?

तर, तिमी नपरेको दुःख मानेकाहरु र खुशी भएकाहरु देखेर यो समाजको यथार्थका बारेमा घोत्लिदैछु । राजनीति नबुझ्नेले हो पद नपाएपछि झोक्राउने, तर्सिने, हौसिने, झस्किने, बिच्किने । जब राजनीति गहिरोसँग बुझिन्छ, यसमा हार हुन्छ, यसमा जित हुन्छ, यसमा खुशियाली आउँछ, दुःख हुन्छ, प्रहरी र जनता कहिले ह्वात्तै नेताको साथ समर्थनमा हुन्छन्, कहिले प्रहरीले लाठी बर्साउछ, जनताले जनमतद्वारा सडकमा पछार्छन्, अनि सडकको धुलो टकटकाउँदै जब राजनीति गर्ने मान्छे फेरि अडिन्छ र अगाडि बढ्छ, हिजो सडकमा पछारेका जनताले अँगालो दिन्छन्, हातमा हात दिन्छन्, साथमा साथ दिन्छन्, अनि हिजो लाठी प्रहार गर्ने तिनै प्रहरीहरुले सल्यूट पनि गर्छन्, यही हो राजनीतिको चक्र, यो चक्रलाई नबुझ्नेहरु राजनीतिको यात्रामा ओझेल पर्छन्, प्रकाशले यो नबुझेर राजनीतिमा आएका हैनन् भन्ने कुरामा म विश्वस्त छु ।

तिमी आज देश दुनियामा बिक्ने भएका छौ, तिमी बिक्न लायक भएको चाहीँ अप्ठेरोमा टिक्न सकेकैले हो । संघर्षका ती दिनमा एउटा अभिभावकीय सहयात्रीका रुपमा म तिमीलाई भलिभाती चिन्दछु, जान्दछु, बुझ्दछु र सम्झन्छु । संघर्ष कस्तो हुन्छ, दुःख पीडा, बिभेद कस्तो हुन्छ, त्यसको भलीभाती जानकार मात्रै होइन, त्यसलाई गीत संगितमा उतार्ने, चलचित्रमा छायांकन गर्ने तिम्रो खुबीलाई राजनीतिको एउटा अधुरो यात्राले अड्काउँछ भन्ने लाग्दैन ।

तिमी राजनीतिमा जाँदैछौ भन्ने केही समय पहिला नै मैले अनुमान गरेको थिए, बागलुङका पत्रकार साथीहरुसँग एउटा बसाइँमा मैले तिम्रो राजनीतिको सम्भावनाबारे कुरा पनि गरेको थिए, समानुपातिक होइन, मैले प्रत्यक्षकै कुरा गरेको थिए, तिमी राजनीतिमा आउँदा ‘कोटा’ बाट आउदैनौ भन्ने मेरो ठम्याई थियो । त्यतिबेला साथीहरुले मेरो कुरालाई पत्याएनन्, तिम्रो नाम समानुपातिकमा आएपछि केही साथीहरुले हो रैछ भनेका थिए । यद्यपि, तिमीसँग मेरो यो विषयमा कुरा भएको थिएन, काठमाडौंमा अन्य केही साथीभाइहरुसँगको बसाइँमा भएका भलाकुसारीपछि मैले त्यो निष्कर्ष निकालेको थिए ।

तिमी रास्वपाबाट समानुपातिकको उम्मेदवार बन्दा मलाई चाही प्रकाश जत्तिको मान्छे प्रत्यक्षमै आँट गर्नु पथ्र्यो भन्ने लागेको थियो र मैले मेरा केही साथीहरुसँग त्यो विषयमा कुरा पनि गरेको थिए । प्रकाशहरु समानुपातिकमा बस्ने ? भन्ने कोणबाट एउटा कफी गफमा धेरै नै चर्चा पनि गरेका थियौ । यद्यपि, त्यो तिम्रो र तिमीलाई उम्मेदवार बनाउने पार्टीको निर्णयको विषय थियो, कफी गफ त समय कटाउने मेलो न हो ? तिमीलाई समानुपातिक उम्मेदवार बनाएर उपयोग गरेको, प्रयोग गरेर फालिदिएको कोणबाट पनि चर्चा भएका छन्, ती सबै चर्चालाई खासै महत्व दिन्न, किनकी राजनीतिमा रणनीति अनेक हुन्छन्, त्यो रणनीतिमा कहिले जानेर, कहिले नजानेर, कहिले बुझेर, कहिले नबुझेर, कहिले चाहेर, कहिले नचाहेरै मानिस सहभागी हुन्छ, सक्रिय हुन्छ । तिमलाई रास्वपाले प्रयोग ग¥यो, तिमी प्रयोग भयौ वा तिमले रास्वपालाई परिवर्तनको एउटा शक्ति ठान्यौ, त्यो समयक्रमले पक्कै बताउँला ।

रास्वपाबाट समानुपातिकमा तिम्रो नाम आउनु र तिम्रै गाउँँको तिम्रो राजनीतिक सामाजिक जीवनको अग्रज हिरा बहादुर केसी नेकपा एमालेबाट प्रत्यक्षको उम्मेदवार हुनु एउटा संयोग नै हो । हिराकै छिमेकी तिमी समानुपातिकमा उम्मेदवार त्यो पनि फरक पार्टीबाट ? मलाई अलि नमिठो लागेको थियो, एकका कारण अर्कोलाई असर गर्ने हो कि ? हिराको बारेमा मैले धेरै भन्नै पर्दैन, एउटा टेलिभिजन अन्तर्वार्तामा तिमीले नै ‘नेता (मन्त्री) भन्दा साथ हिरा केसीलाई सम्झन्छु’ भनेको कुराबाटै प्रष्ट हुन्छ । म चाहीँ दुवै जना सांसद भएको हेर्न चाहन्थें । तर, चाहेको कुरा सबै पुरा हुँदैन, भएन ।

राजनीतिमा जेठो, बाठो, अग्रज, अनुज केही हुँदैन, एउटै पार्टीमा सँगसँगै संगठन गरेका, संघर्ष गरेका, जीवन नै राजनीतिलाई, परिवर्तनलाई सुम्पेकाहरु ओझेलमा पर्ने तर कहीँ कतै चर्चा नभएका, कहीँ कतै सार्वजनिक नभएकाहरु फ्याट्ट आएर अवसर पड्काउने ठाउँ पनि राजनीति नै हो । हाम्रो जीवनकालमै धेरै यस्ता मोडहरु देखियो, जहाँ योगदान, संघर्षको मूल्यांकन नहुने, तत्कालीन अवस्थालाई समाउन सक्नेहरु अगाडि आउने, गुटका नाममा कमजोर मान्छे माथि जाने र क्षमतावान चाही हेरेर बस्ने, संगठन बलियो बनाएकाहरु वर्षौ घाम तापेर बस्ने, संगठन बनाउने नाममा सिन्को नभाचेकाहरुले अवसर पाउने अवस्था देखे भोगेकै छौ । पार्टीको अमुक नेताको फेरो समाउन सक्नेले राजनीतिमा फड्को मार्ने प्रचलन जान्नेभएदेखि जाने बुझैकै छौ । यदि यो देशमा गलत बाटो समातेको राजनीतिलाई सही बाटोमा हिडाउने लक्ष्यका साथ तिमी र तिमले समर्थन गरेको पार्टी लागेको हो भने विगत दोहो¥याउने काम पक्कै हुने छैन, राम्रा कामलाई प्रवद्र्धन र कमजोरीलाई रोक्ने काम भएन भने जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान मतदाताले नै भन्नेछन् ।

यहाँ मलाई एउटा कुरा चाही तिम्लाई सम्झाइदिन मन लागेको छ । २०६५ सालमा धौलागिरी जागरण दैनिक र धौलागिरी एफएमले सञ्चालन गरेको एक साताको पत्रकारिता तालिममा तिमी सहभागी थियौ । तालिमका सहभागी मध्ये केहीलाई धौलागिरी एफएम र पत्रिकामा कामको अवसर भनिएको थियो । त्यो बेला त्यही काम करिअर निर्माणका लागि महत्वपूर्ण पनि थियो । सहभागी मध्येमा विभिन्न विधाबाट ८ जना छनोट गर्ने हाम्रो प्रस्ताव थियो । अन्तर्वार्ताको दिन विहान हिरा केसीको फोन आयो । एमाले बागलुङका उपसचिव रहेका केसीको आग्रह थियो, ‘एफएममा अन्तर्वार्ता रहेछ, प्रकाश विक (सपुत) मेरो गाउँको भाइ हुन्, सारै ट्यालेण्ट छन्, सक्रिय छन्, उत्साहित छन्, रेडियोमा काम गर्ने तिनको हुटहुटी छ, मेरै भाइ ठानेर सहयोग गर्नु होला है ।’

सांगीतिक कार्यक्रम सञ्चालन गर्नका लागि तिम्रो नाम छनोट भयो । यद्यपि हिरा केसीको सिफारिसका आधारमा तिम्रो छनोट भएको होइन, तिम्रो प्रतिभा नै तिम्रो छनोटको विषय थियो । तर पनि गाउँको एउटा अगुवा नेताले चासो लिएको विषयका बारेमा एफएमकै एउटा छलफलमा मैले त्यो कुरा तिम्लाई जानकारी गराएको थिए । प्रकाशले करिब २ वर्ष बागलुङमा बसेर रेडियो र पत्रिकामा गरेको कामप्रति दुवै संस्थाको सम्पादकका हिसाबले म प्रभावित थिए र मैले अहिले पनि धेरैलाई तिम्रो कामको बारेमा सुनाउँछु र नयाँ पुस्ताले प्रकाशले रेडियो र पत्रिकामा गरेको कामबाट प्रेरणा लिएका छन् भन्ने पनि ठान्छु ।

मलाई अर्को पनि सम्झना छ, तिमीलाई रेडियोमा सांगीतिक कार्यक्रमका लागि छनोट गरिएको थियो, तर तिमीले समाचार वाचन गर्न पाउनु पर्छ भनेर म सँग ठुस्सिएको पनि पक्कै सम्झना होला । अनि विहान ८ बजेको स्थानीय बुलेटिनबाट समाचार वाचन शुरु गरेका थियौ । तिमीसँगै समाचार वाचनका लागि छनोट भएकी योजना शर्मा पर्वतको दिदी बहिनी रेडियोमा स्टेशन म्यानेजर भएर कुश्मा र तिमी काठमाडौं गएपछि दुवैको प्रगति हेर्न लायक बन्दै गयो । तिमीले सांगीतिक क्षेत्रमा र योजनाले पत्रकारितामा राम्रो गरेको देख्दा हामीलाई आनन्द आउँथ्यो । योजना पछिल्लो समय अमेरिकामा गएर उतै छिन् ।

काठमाडौं पसेर तिमीले गरेको संघर्षका बारेमा तिम्ले धेरै ठाउँमा भनेकै छौ, धेरैले सुनेकै छन् । संघर्षबाट खारिएकै कारण आज तिमी नयाँ पुस्ताको रोजाइमा परेका हौ । तिम्रो क्षमता, सक्रियता, निरन्तरता र सिर्जनशीलताकै कारण आज एउटा नयाँ शक्ति (राष्ट्रिय स्वतन्त्र पार्टी)ले समानुपातिक उम्मेदवार बनाएको हो । भन्नेले चुनावमा मत माग्नका लागि लागि रास्वपाले प्रकाश सपुतलाई प्रयोग ग¥यो पनि भने । कसैले खुब.. सांसद हुन्छु भनेर लागेको थियो, रहर मात्रै भयो पनि भन्दैछन् ।

पार्टीसँग तिम्रो के कस्तो सम्बन्ध छ मलाई जानकारी छैन, किनकि तिमीसँग मैले कुरा गर्न पाएको छैन, बुझेको पनि छैन । राजनीति भनेको व्यक्तिगत स्वतन्त्रताको कुरा हो, तिमी रास्वपा भयौ, तिमी रास्वपाको उम्मेदवार हुनु भन्दा एक वर्ष अगाडिदेखि म चाहीँ अब राजनीतिक दलको कुनै पनि जिम्मेवारीमा नरहने प्रतिवद्धता सहित सामान्य नागरिक भए, म सक्रिय भएर राजनीतिमा लाग्दा तिमी स्वतन्त्र जस्तो देखियौ, तिमी सक्रिय भएर लाग्दा म अहिले राजनीतिबाट अलि टाढा छु ।

म चाहन्थँे, यस पटक प्रत्यक्षमा हिरा बहादुर केसीले जितुन्, किनकि उनी राजनीतिमा जिन्दगी बिताएका, संघर्ष गरेका, कुटपिटदेखि जेलनेल परेका मान्छे हुन्, एक पटक निर्वाचनमा पराजित भएको मान्छे थला पर्ने अवस्था छ, उनी तेस्रो पटक उम्मेदवार थिए । तिमी आफै भन्थेउ, मन्त्री भन्दा साथ हिरा केसीलाई सम्झन्छु, भनेर ? हिरा एक पटक सांसद बनेर मन्त्री पनि बन्नु पर्छ भन्ने मान्यता मैले अहिले पनि राखेको थिए ।

तर, राजनीति सिधा रेखाबाट अगाडि बढ्दैन । उनले जित्नु पर्छ भनिरहँदा धम्जाले २ जना सांसद पाउने भयो कि ? भन्ने पनि चर्चा भएको थियो । तर, तिम्रो नाम दोस्रो नम्बरमा भएका कारण गाह्रै छ है भन्ने पनि बेला–बेला चर्चा गरिन्थ्यो । ३३ प्रतिशत महिला समानुपातिकबाट ल्याउनु पर्ने भएकाले नपर्न पनि सक्छन् भन्ने थियो, तर मेरो मनले चाही प्रकाश पर्दा राम्रो हुन्छ भन्ने नै ठानेको थियो ।

खैर, समानुपातिकको व्यवस्था अनुसार तिमी यसपटक समानुपातिकमा परेनौ, सांसद भएनौ । अब कसरी अगाडि बढ्छौ, राजनीतिमा सक्रिय भएर लाग्छौ कि ? सांगीतिक क्षेत्रलाई नै प्राथमिकता दिन्छौ, त्यो त तिम्रो कुरा भयो । तर, मलाई भन्छौ भने यदि तिमी राजनीतिमै लाग्ने गरी आएका हौ भने समानुपातिक (कोटा) बाट होइन, अब प्रत्यक्ष निर्वाचित सांसद बन्नु पर्छ । त्यही अनुसार अगाडि बढ्नु पर्छ ।

तिमी आजको दिनमा धम्जाको एउटा सामान्य परिवारमा जन्मेको प्रकाश विक होइन, देश विदेशमा नेपालीले चर्चा गर्ने, भेट्न खोज्ने, फोटो भिडियो, टिकटक बनाउन खोज्ने, सेल्फीका लागि मरिहत्ते गर्ने मात्र होइन, तिम्रो सोच, धारणा र प्रस्तुतीलाई आदर्श मान्ने, तिम्रो एक शब्दले मान्छेको आचरण, व्यवहार परिवर्तन हुने अवस्थामा पुगेका छौ । तिम्रो पहिचानले कोटाबाट सांसद बन्ने अवस्थामा छैनौ, होइनौ भन्ने मेरो ठम्याइ हो । यद्यपि, त्यहाँका बाध्यताहरु हुन सक्छन् ।

सांगीतिक कार्यक्रमका लागि एफएम छिरेको प्रकाशले एक महिनामै समाचार वाचन गर्न पाइन भनेर हामीलाई चुनौती दिन्थ्यो, किन नपाउने भन्थ्यो, बजारमा हुने कार्यक्रमहरु मैले सञ्चालन गर्न किन नपाउने भन्थ्यो ? चुनौती दिन्थ्यो । सामाजिक विभेदका विषयमा प्रशासन लगायत राज्यका निकायलाई चुनौती दिने प्रकाशले चुनावमा समानुपातिक सांसद बन्न सहर्ष स्वीकार गरेको कि चुनौतीको सामना गर्न डराएको ? मेरो चाहीँ यस्तो प्रश्न छ । प्रकाशले अब समानुपातिकमा परिन भनेर सानो मन गराउने होइन, जे हुन्छु, प्रत्यक्ष हुन्छु, जहाँ पुग्छु प्रत्यक्ष लडेरै पुग्छु भन्ने लक्ष्य लिनु पर्छ, त्यो गर्न लायक मान्छेले त्यहीँ सोँच्नु पर्छ ।

अनि अर्को सुझाव, धेरै टाढा जानै पर्दैन, कलिलो उमेरमा राजनीतिमा छिरेर पटक–पटक थुप्रै अवसर आउँदा पनि राजनीतिमै अडिएको, जनता मावि धम्जा, भीमसेन मावि विहुँ, धौलागिरी बहुमुखी क्याम्पस हुँदै विद्यार्थी, युवा र पार्टीको जिल्लाको २ पटक नेतृत्व गरेको, ३ पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरेर पनि नथाक्ने, नझुक्ने तिम्रै आँगनको हिरा केसीलाई अलि गहिरो गरी मनन गर्न सक्यौ भने मात्रै राजनीतिमा धैर्यता, सहनशीलता, क्रियाशीलता र निरन्तरताको एउटा अध्याय थपिन सक्छ । राजनीतिमा थुप्रै संभावना छन्, त्यसका लागि निरन्तरता र धैर्यता अनिवार्य हुन्छ ।

तिमी क्षमता भएको र आँटे पछि गर्ने मान्छ हौ । तिम्रो मनको गहिराइबाट राजनीतिमा आएका हौ, तिमीले भनेको जस्तैः राजनीतिमा भएको समस्या समाधान गर्नका लागि सक्रिय राजनीति रोजेका हौ भने थप सक्रियताका साथ राजनीतिमा लाग्दा नै राम्रो छ ।
राजनीति सोचेको जस्तै सहज हुदैैन, राजनीति गर्नेले वाहवाही पनि सहनु पर्छ र गाली गलौजलाई पनि पचाउन सक्नु पर्छ, त्यो त तिमी पचाउने भएकै छौ । जनता, शुभचिन्तक परिवर्तन चाहन्छन्, तिमीले सांगीतिक क्षेत्रमा फरक–फरक स्वाद दिएकै कारण तिमीलाई दर्शकले रुचाएका हुन् ।

राजनीतिमा पनि फरक स्वाद खोज्छन्, विगतमा पनि मतदाताले कहिले कांग्रेस, कहिले कम्युनिस्ट रोजेकै हुन्, कांग्रेस र कम्यनिस्ट मिलेर सरकार चलाउन थालेपछि, करिव दुइ तिहाइको सरकार बनाउदा पनि जनताका काम भन्दा आफ्नै पार्टी भित्रका गुट उपगुटको व्यवस्थापनलाई प्रमुखता दिएकै कारण यतिबेला जनताले तेस्रो धार रोजेका हुन्, तेस्रो धारलाई मत दिनुका धेरै कारण छन्, पटक पटकका गठबन्धन मात्रै होइन, सामाजिक सञ्जालको प्रभाव पनि एउटा कारण हो ।

यो सामाजिक सञ्जाल त कोही कसैको पक्षमा हुँदै हुदैन । नागरिक पत्रकारिताको एउटा अंशका रुपमा रहेको सामाजिक सञ्जालले कसलाई कति बेला देउता बनाउँछ र कति बेला कसलाई दानव बनाउँछ, पत्तै हुँदैन । फेरि पनि जनताले शंकाको सुविधा सहित रास्वपालाई करिब दुई तिहाइ मत दिएका छन् । खोजेको भन्दा धेरै मत दिने जनताले अपेक्षा पनि त्यस्तै गरेका छन्, अपेक्षा अनुसार काम हुन्छ भन्नेमा विश्वस्त पनि छन् भन्ने कुरा रास्वपाको नेतृत्वले नबुझ्ने कुरै भएन ।

तिमी रास्वपाको समानुपातिक सांसदको उम्मेदवार (सुने अनुसार भावी प्रधानमन्त्री बालेन शाहसँगको निकट) भएका कारण पनि यत्ति भन्छु, शंकाको सुविधालाई बडो जिम्मेवार ढंगले अगाडि बढाउन सुझाव दिनु । जनताले अपेक्षा गरेका छन्, जनताले भरोसा गरेका छन्, जनताले गरेको अपेक्षा, जनताले नयाँ पाार्टीलाई भरोसा गर्ने गराउनका लागि पुरानाले केही पनि गरेनन् भन्ने भाष्य मार्फत जसरी टार्गेट गरियो, पुरानाले राजनीतिलाई बेथिति बनाए भन्ने अवस्था जसरी सिर्जना गरियो, पुरानाले जनतातर्फ भन्दा पनि दलको आन्तरिक व्यवस्थापन, कार्यकर्ता संरक्षण गर्ने जस्ता कार्य गरे, जुन तितो सत्य छ, त्यसलाई सुधार गरेर नयाँपन दिन नसक्दाको दिन फेरि नयाँहरुले थेग्न नसक्ने अवस्था आउनेछ ।

त्यसैले पनि बडो सजकताका साथ, बडो इमान्दारिताका साथ, अत्यन्तै समन्वयकारी भूमिकाका साथ, अझै भनौ इगो र आवेश वा उत्तेजनाले होइन, जनताको भावना, चाहना र आवश्यकताले काम गर्न जरुरी छ । विभिन्न क्षेत्रका बिचौलियाहरु बेडरुममै छिर्छन्, सके छिरिसकेका होलान्, नभए पनि छिर्छन् भन्ने हेक्का पनि पक्कै होला । हामीलाई कहिलेकाहीँ के लाग्दछ भने कुनै एक क्षेत्रमा सफल भइयो भने दुनियाका सबै क्षेत्रको सफल मान्छे भएको छु, म अब कहीँ कतै अड्कन पर्दैन भन्ने ठान्छौ । तर, एउटा मान्छे सबै क्षेत्रमा फस्ट हुन, विशिष्ठ श्रेणी प्राप्त गर्न सक्दैन, विज्ञान विषयमा सर्वोत्कृष्ट भएको विद्यार्थी, व्यवस्थापन विषयमा औसत हुन पनि सक्छ ।

काठमाडौं महानगरमा केही सकारात्मक काम गरेका र नकरात्मक काम गरेको नदेखिएका, नदेखाइएका बालेन प्रधानमन्त्री भएपछि त्यो भन्दा बढी काम गर्ने बनुन्, राम्रो गरे उत्तम भयो, राम्रो गर्न नसक्दा पनि नराम्रो नगर्दा जनताले ठिक ठिकै छ भन्लान् तर, जनताको अपेक्षा बढी छ । त्यो अपेक्षालाई सम्बोधन गर्ने गरी काम गर्न नसक्दाको दिन आज वाहवाही गरेका जनताले धिक्र्काछन् भन्ने पनि पक्कै जानकारी छ । धेरै भएको छैन, नेकपा (नेकपा एमाले र माओवादी मिलेर बनेको पार्टी)ले १७७ सिट सहितको सरकारको नेतृत्व गरेको ।

अन्त्यमा प्रकाश सपुत सांसद हुने भए भन्दा बजारमा आफुलाई प्रकाशको नजिक देखाउनेहरु धेरै देखिए, भेटिए, प्रकाशको संघर्षको समयमा साथ दिएको बताउने धेरै मान्छे भेटिए, ती मध्ये कतिले साथ दिए, दिएनन्, त्यो उनीहरुले नै जानुन् । तिमीलाई बागलुङमा स्थापित गर्न सहयोग गरेको हुँ, अहिले सांसद हुने भएपछि बोलाउँदा पनि गतिलो गरी बोलेनन् भन्ने पनि भेटिए । यदि यो सत्य हो भने अलिक ध्यान दिनु पर्छ कि ?
तर, मेरो भने भेट भएको थिएन, भेट हुँदा नबोल्ने, गजक्क परेको त होइन होला ? भन्ने मलाई लागेको छ । अहिले सांसदमा नपरेपछि फरक प्रस्तुतिहरु पनि सुने, देखे । यी सबैबाट पाठ सिकेर अगाडि बढ्नका लागि थप उप्रेरणा मिलोस्, शुभकामना ।