यसपटकको प्रतिनिधि सभा निर्वाचन आम रुपमा अप्रत्यासित रह्यो नै, स्वंयम् संसदको करिब दुई तिहाइ बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लागि समेत ‘सरप्राइज’ बन्यो । वर्षौदेखि सत्ता र शक्तिमा रहेका पुराना मूलधारका राजनीतिक दलहरु भने यसपटक नराम्रोसँग किनाराकृत भएका छन् । जनअभिमतले उनीहरुको भूमिकालाई निकै कमजोर अवस्थामा पु¥याइदिएको मात्र छैन, अब भोलिको भविष्य समेत के हुने हो भन्ने अन्यौल र भयको अवस्था पैदा भएको छ । नेपाली कांग्रेस नियमित महाधिवेशन र विशेष महाधिवेशन भन्ने तीव्र विवादकै बाबजुद निर्वाचन आयोगले विशेषलाई आधिकारिकता दिए पछि नयाँ नेतृत्वको नयाँ आशा सहित मत माग्न त पुगे । तर, त्यसलाई जनताले पत्याएनन् भन्दा अत्युक्ति नहोला ।
नेकपा एमालेले नयाँ शक्तिलाई देश जलाउने र भत्काउने, आफूहरुलाई बनाउने भाष्य स्थापित गर्न खोजे पनि बिफल बने । नेपाली कम्युनिस्ट पार्टीको उस्तै हाल भयो । मधेसवादी दलहरुको त कन्तविजोग नै भयो । रास्वपा माथि किन यतिबिघ्न जनविश्वास अभिमत प्रकट भएको होला ? यसको राज र रहस्य के हो ? यसका पछाडि धेरै कारणहरु छन् । मुख्यतः अहिलेका राजनीतिक दल, शासन व्यवस्था र मनोवृत्ति प्रतिको दीर्घकालीन असन्तुष्टि, नयाँ आशा, र बदलिँदो सामाजिक–राजनीतिक मनोविज्ञानको संयुक्त अभिव्यक्ति हो । यसको “राज” र “रहस्य” बुझ्न हामीले यसलाई बहुआयामिक रूपमा हेर्नुपर्छ । पुराना दलप्रतिको गहिरो वितृष्णा, सत्ता केन्द्रित राजनीति, विकासमा ढिलाइ, भ्रष्टाचार लगायतका बिभिन्न काण्डहरु हुन् । उसो त अहिलेको संसदमा रास्वपाका नयाँ अनुहार अधिक छन् । त्यसमा केही भाइरल अनुहार पनि छन् । काम गरौं भन्ने हुटहुटी त स्वभाविक छ । तर, जञ्जालले जकडिएको प्रणालीलाई प्रक्रियासंगत ढंगले कसरी निकास र समाधान दिन सक्छन् ? जसले संसद कति ओजपूर्ण हुन्छ भन्ने पनि चासो र जिज्ञासाको विषय बनेको छ । जनताबाट भारी आशाका साथ जाहेर गरिएको अभिमतको सम्मान, कदर कति र कसरी गर्छन् ? त्यो पनि बहुप्रतिक्षित छ । रास्वपाको सबै सांसदको अबको संसदीय भूमिकाका लागि दुई दिने प्रशिक्षण जारी छ । पार्टीका दृष्टिकोण, संसदीय अभ्यास र आगामी जिम्मेवारीबारे साझा बुझाइ बनाउन यो आवश्यक थियो । संसद्मा काम सुरु गर्दा ध्यान दिनुपर्ने प्रारम्भिक अभ्यासबारे जानकारी गराइनेछ ।
संसद जनताको प्रतिनिधि बनेर सांसदहरुले आफ्नो अभिमत प्रकट गर्ने सार्वभौम थलो हो । यसको नीति निर्माणमा महत्वपूर्ण भूमिका छ नै, जनताको समस्या, मागलाई सम्बोधन गर्न आवाज बुलन्दित गर्ने र सरकारलाई जिम्मेवार बनाउन पनि उत्तिकै भूमिका हुन्छ । तर, रास्वपाको नेतृत्वलाई योजनावद्ध सुझबुझपूर्ण तबरले काम गर्नैपर्ने चुनौती छ । प्रस्तावित प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेको त्यो दृढता पनि अहिले देखिन्छ । यद्यपि, प्रत्यक्ष र समानुपातिकबाट आएका कतिपय सांसदहरुलाई लिएर स्टन्ट र भाइरलको पछि लागेर संसद र पार्टीको मर्यादा र गरिमामा ठेस पुग्छ कि भन्ने संशय पनि छ । चरम निराशा र आक्रोशलाई आशामा रूपान्तरण, राजनीतिक स्थिरता, सार्वजनिक सेवा, सुशासन र विकासका सवालमा सांसदहरुको प्रभावकारी भूमिका देखियोस् । सांसदहरुकै कारण संसद कमजोर, सरकार बदनाम हुने अवस्था कदापि नआओस् ।
