• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

समृद्ध काठेखोला कृषि सहकारीको अध्यक्षमा भद्र कुमारी

बागलुङ​।
समृद्ध काठेखोला कृषि महिला सहकारी संस्था लिमिटेड, काठेखोला–१, बागलुङको प्रारम्भिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

काठेखोला गाउँपालिका भित्रका सहकारी संस्थाहरुले उत्पादन गरेका वस्तुहरु संकलन र बजारीकरण गर्ने उद्देश्यका साथ ३ महिना पहिला गाउँपालिकामा दर्ता भएको संस्थाको प्रारम्भिक साधारणसभा सम्पन्न भएको हो ।


काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले साधारणसभाको उदघटन गर्नु भयो । उहाँले गाउँपालिकाका कृषकहरुले उत्पादन गरेका वस्तुहरु स्थानीय सहकारीले संकलन गर्ने र समृद्ध काठेखोला कृषि सहकारीले बजारीकरण गर्नु पर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाको समेत सहयोगमा अक्षेते बजारमा सञ्चालन गर्न लागिएको संकलन केन्द्रमार्फत सहकारीले गाउँका कृषकहरुको उत्पादनलाई बजारीकरण गर्नका लागि सक्रिय हुन सुझाव दिनुभयो ।

काठेखोला गाउँपालिकामा उत्पादन बढाउन कृषकहरुलाई सीप, पूँजि र प्रविधि गाउँपालिकाको सहयोगमा स्थानीय सहकारीहरुले गर्ने, कृषकले उत्पादन गरेको उत्पादन संकलनकेन्द्रसम्म तिनै सहकारीहरुले ल्याउने र समृद्ध सहकारीले पूर्ण रुपमा बजारीरण गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष खड्क बहादुर थापा, बिवाइसी बागलुङका कार्यक्रम संयोजक चुडामणी उपाध्याय, शेयर सदस्यहरु गिता बि.क. र रनमाया कडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष भद्र कुमारी खत्रीको अध्यक्षता, शेयर सदस्य भूमादेवी पुनको स्वागत र सचिव नरमाया पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

काठेखोलाबाट दुध, सुन्तला, तरकारी लगायतका उत्पादनहरु बजारीकरण हुदै आएको छ । हेफर इन्टरनेशनल र गाउँपालिकाको समन्वयमा सञ्चालित संकलन केन्द्रमार्फत पालिका भित्रका विभिन्न उत्पादनहरुलाई बजारीकरण गर्ने लक्ष्यका साथ समृद्ध काठेखोला कृषि महिला सहकारी संस्था स्थापना गरिएको पालिकाले जनाएको छ ।


प्रारम्भिक साधारणसभाले भद्र कुमारी खत्रीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा हिरा पुन, सचिव नरमाया पुन, सहसचिव रबिना सुवेदी र कोषाध्यक्षमा कोपिला भण्डारी चयन हुनु भएको छ । समितिका सदस्यहरुमा निशा बुढाथोकी, बिमला जिसी, गंगा कुमारी केसी, पवित्रा खत्री, कमला पुन, रुपा थापा र हरिकला थापा रहनु भएको छ ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा माधवी कंडेल तथा सदस्यहरुमा यममाया पुन र सञ्जु कंडेल रहनु भएको छ ।