• २०८३ आश्विन २५, आईतवार
  • 2026 October 11, Sunday

संसद यात्रामा ब्रेक : गृह जिल्लाबाट सांगीतिक यात्रामा सपुत

बागलुङ । अबको आफ्नो समय, ऊर्जा र अनुभव देशको लागि समर्पण गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजनीतिमा होमिएका कलाकार तथा अभिनेता प्रकाश सपुत पुनः कलाकारितामा फक्रिनुभएको छ ।

निर्वाचन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दलित कलस्टरमा समानुपातिक उम्मेदवार समेत बनेपछि सपुतले राजनीतिक यात्रा सुरु गरेको गृह जिल्ला बागलुङबाटनै घोषणा गर्नुभएको थियो । तर, निर्वाचन सकिएको केही समयमा प्रत्यक्ष र समानुपातिकमा झन्डै दुई तिहाई सिट ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसदको सूचीमा नपरेपछि पुनः राजनितक यात्रा टुंगाएको र सांगीतिक यात्रा तय गरेको सामाजिक सञ्जालबाट उद्घोष गर्नुभएको थियो । त्यससँगै सपुत गृह जिल्लामा बुधबार स्टेज चढ्नुभएको हो ।

चैत्राष्टमीको अवरमा आयोजित कार्यक्रममा सपुतले सांगीतिक प्रस्तुती दिनुभयो । सांगितिक प्रस्तुती दिन बागलुङ आउनुअघि सपुतले बागलुङलाई सम्बोधन गरी लामो स्टाटस लेख्नुभएको थियो ।

“बागलुङ त मेरा लागी पहिलो अक्षर सिकेको , पहिलो वाक्य बुनेको, पहिलो भाका छोपेको, पहिलो कथा टिपेको, पहिलो सपना देखेको, पहिलो संघर्ष थालेको, पहिलो स्टेज चढेको, पहिलो पुरस्कार थापेको अनि नयाँ राजनीतिक भूमिकाको लागी पहिलो औपचारिक चुनावी यात्रा थालेको र फेरी यो पहिलो सांगीतिक कार्यक्रम” सुरु गरेको स्थान हो, भन्दै सपुतले बागलुङले हरेक परिस्थितिमा परिचय र भुमिकामा स्वीकारेकोमा धन्यवाद समेत दिएका दिनुभएको छ ।

सपुतले राजनीतिक यात्रालाई त्याग गर्दै संगीतको यात्रा तय गरेको पहिलो कार्यक्रममा भने रास्वपाको धङधङीले भने छोडेको छैन् । झण्डै एक घण्टाको प्रस्तुतीको क्रममा देशले विकास नपाएको भन्दै अब बन्ने नयाँ सरकारले विकास तथा शुसासनको व्यवस्था ल्याउनेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

‘पीर’बोलको गीत गाउँदै अ‍ैया अ‍ैया हुँदापनि देश बनेको हेर्न पाइनौ अब नयाँ सरकार बन्दै छ केही होला भन्ने आशा गरौँ भन्दै कालिका मन्दिरलाई प्रार्थना समेत गर्नुभयो ।

“हाम्रो देशमा निरास नहोस् है ,हाम्रो देशमा बेरोजगारी नहोस्,अब फेरी जेनजी आन्दोलन गर्न नपरोस है ” उहाँले भन्नुभयो ।

अवको नयाँ वर्षबाट विरहको गीत नगाउने रमाईलो गीत मात्र गाउँने समेत उद्घोष गर्नुभयो । सपुत नेपाली कलाकारिता क्षेत्रमा एक विवादित पात्रको रुपमा परिचित हुनुहुन्छ । रास्वपाको समानुपातिक सांसदमा सिफारिसदेखी रास्वपासँग अलगिएको घोषणा गर्दा समेत पटक पटक विवादमा तानिनुभएको हो ।