बागलुङ । नेकपा एमालेले पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको तत्काल रिहाई गर्न माग गर्दै देशव्यापी विरोधको कार्यक्रम गरिहेको छ । यसैक्रममा एमाले बागलुङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई ज्ञापन पत्र बुझाएको छ । गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा बालेन नेतृत्वको सरकारले शनिबार बिहान तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई घरबाटै गिरफ्तार गरेको थियो ।
पार्टीले चार बुँदे माग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यलाई ज्ञापन पत्र बुझाएको हो । गौरी बहादुर कार्कीे नेतृत्वमा रहेको आयोगको प्रतिवेदन तत्काल खारेज गरी निष्पक्ष, स्वतन्त्र र उच्चस्तरीय छानबिन आयोग गठन गर्नु पर्ने,सर्वोच्च अदालतका बहालवाला न्यायाधीशबाट अनुसन्धान गर्नु पर्ने,प्रतिशोधपूर्ण ढंगबाट गरिएको गिरफ्तारी तत्काल फिर्ता लिनुपर्ने । अध्यक्ष ओली तथा पुर्व गृह मन्त्री रमेश लेखक लाई अविलम्ब रिहा गर्नु पर्ने र घटनाको निष्पक्ष, पारदर्शी र व्यापक छानबिन सुनिश्चित गर्नु पर्ने माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ । एमाले केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज मना के सी एमाले जिल्ला सचिव गणेश थापा लगाएत पार्टीका नेता पुगेर ज्ञापन पत्र हस्तान्तरण गरेका थिए ।