• २०८३ आश्विन १५, बिहीबार
  • 2026 October 01, Thursday

अर्नाकोटको प्यास मेटिँदै : पाँच करोडको खानेपानी आयोजना आशाको मुहान बन्दै

बागलुङ । वर्षौंदेखि पानीको जोहो गर्न बिहानै उठ्ने, घण्टौँ हिँडेर पोखरी र आकाशे पानीको भर पर्नुपर्ने बाध्यता यो अर्नाकोटका बासिन्दाको दैनिकी जस्तै बनेको थियो । तर अब त्यो कथा विस्तारै परिवर्तन हुँदैछ । निसीखोला गाउँपालिका–२ अर्नाकोटमा करिब पाँच करोड रुपैयाँको लागतमा सुरु भएको नयाँ खानेपानी आयोजना यहाँका बासिन्दाका लागि आशाको नयाँ मुहान बनेको छ ।

अहिलेसम्म अर्नाकोटका करिब ४ सय घरधुरीले खानेपानी अभावका कारण दैनिक जीवनमै ठूलो सास्ती भोग्दै आएका थिए । पानीको खोजीमै समय, श्रम र ऊर्जा खर्चिनुपर्दा यहाँको सामाजिक तथा आर्थिक विकाससमेत प्रभावित हुँदै आएको थियो । खानेपानीकै अभावले कतिपय परिवार बर्सेनी बसाइँसराइ गर्न बाध्य भएका उदाहरण पनि कम छैनन् ।
स्थानीय बासिन्दा वीर बहादुर कुँवरका भन्नुहुन्छ “पानीकै लागि दिनको आधा समय खर्चिनुपथ्र्यो । खेतबारी, बालबालिकाको पढाइ र अन्य काम सबै प्रभावित हुन्थे” यही दीर्घकालीन समस्यालाई समाधान गर्न अहिले हाडिचार क्षेत्रबाट लिफ्टिङ प्रविधिमार्फत पानी अर्नाकोटसम्म ल्याउने महत्वाकांक्षी योजना सुरु गरिएको हो । वडा अध्यक्ष कुविर विश्वकर्माका अनुसार स्थानीय सरकार, विभिन्न संघसंस्था र अन्तर्राष्ट्रिय सहयोगको समन्वयमा आयोजना अघि बढाइएको छ । निसीखोला गाउँपालिकाको चालु आर्थिक वर्षमा करिब २९ लाख रुपैयाँ विनियोजन गरेको छ भने युनिका फाउण्डेशन, नेपाल रेडक्रस सोसाइटी कास्की र कर्मफ्ल्लाईट फाउन्डेशन नेपाल को सहयोगमा कुल करिब पाँच करोड रुपैयाँ लागत पुगेको छ ।

अध्यक्ष विश्वकर्मा भन्नुहुन्छ “लामो समयको मेहनतपछि मुहान पहिचान गरेर काम सुरु गरेका छौँ,हाम्रो लक्ष्य २०८३ फागुन भित्र सबै घरमा धारा पु¥याउने हो यसले पानीको समस्याको समधान गर्छ भन्ने विश्वास लिएको छु ।” यो आयोजना केवल पानी ल्याउने परियोजना मात्र होइन, अर्नाकोटको समग्र जीवनशैली परिवर्तन गर्ने अभियानका रूपमा हेरिएको छ । अहिले सुरु भइसकेको पाइप बिछ्याउने र टंकी निर्माण कार्यले गाउँमा नयाँ उत्साह थपेको छ । समितिका सचिव ओमबहादुर रसाइलीका अनुसार दुई किलोमिटरभन्दा बढी दूरीबाट लिफ्ट प्रणालीमार्फत पानी तानिनेछ, जसका लागि आईतवारबाट प्राविधिक काम तीव्र गतिमा अघि बढिरहेको छ ।

यसअघि पनि लिफ्ट प्रविधिबाट पानी ल्याउने प्रयास गरिएको थियो, तर दीर्घकालीन व्यवस्थापन अभाव र संरचना जीर्ण बन्दा योजना प्रभावकारी हुन सकेको थिएन । यसपटक भने दिगोपनालाई ध्यानमा राखेर आयोजना अघि बढाइएको जनाइएको छ । आयोजना सम्पन्न भएपछि अर्नाकोटसँगै सिन्देरी, छेडा, गोतामे तथा ढोरपाटन नगरपालिका–२ र घम्पु क्षेत्रका बासिन्दाले समेत लाभ लिने अपेक्षा गरिएको छ । आयोजनाले खानेपानी सहज बनाउने मात्र होइन, सरसफाइ, स्वास्थ्य, कृषि उत्पादन र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ । अर्नाकोटमा खानेपानीको समस्याले विद्यार्थीको शिक्षण सिकाई समते प्रभावित पार्ने गरेको अर्नाकोट माध्यामिक विद्यालयका प्रधानध्यापक ईश्वर र्सिपालीले बताउनु भयो । अर्नाकोटमा केही वर्षअघि सामुदायीक स्वास्थ्य इकाई सञ्चालनमा ल्याएको तर ईकाईमा समेत पानीको अभाव रहदै आएको छ ।