• २०८३ आश्विन १७, शनिबार
  • 2026 October 03, Saturday

अभिव्यक्तिको ‘अराजकता’ रोकौं

सम्पादकीय । नेपाल व्यवस्थाका हिसाबले अहिले उन्नत व्यवस्थामा छ । भलै व्यवस्था अनुसार अवस्था नफेरिएकोमा नागरिकमा निराशा र आक्रोश व्याप्त छ । यसकै फलस्वरुप गत भाद्र २३ र २४ गते भएको जेनजी विद्रोह भयो । जसपश्चात राज्यविहिनताको अवस्था पैदा भयो । अन्ततः तत्कालीन सरकारको बहिगर्मनसँगै नागरिक सरकार बन्यो । पूर्व प्रधानन्यायधीश सुशिला कार्कीको नेतृत्वमा बनेको सरकारले गत फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यसपटकको निर्वाचनबाट पुराना पार्टीहरुले सर्मनाक पराजय बेहोरेका छन् । नयाँ वैकल्पिक शक्तिको रुपमा अघिल्लो निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्यासित एकल रुपमै झन्डै दुई तिहाई बहुमत हासिल गरेको छ । नयाँ सरकारले आफ्नो पदभार ग्रहणसँगै सुशासन लगायतका सार्वजनिक सेवामा आक्रामक सुरुवात गरेको छ । जसकाबारेमा केही दल र नेताहरुले ‘राजनीतिक प्रतिशोध’ साँधेको आरोप लगाएका छन् ।

अहिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गरिएको छ । यसबारेमा अब अनुसन्धान होला, अदालतले न्यायोचित आदेश, फैसला गर्ला नै, तर अहिले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ प्रकरणपछि सडक र सामाजिक सञ्जाल दुवैमा देखिएको अराजक प्रतिक्रिया र दुव्र्यवहारले नेपाली समाज कुन अवस्थामा छ, जाँदैछ भन्ने गम्भीर प्रश्न उठाएको छ । हाम्रो समाजको संवेदनशील चरित्र उजागर गरेको छ । २० वर्षीया अमिशा पराजुलीमाथि सामाजिक सञ्जालमा भइरहेको आक्रमण यसको ताजा उदाहरण हो । उनी सडकमा उभिएर आफ्नो धारणा व्यक्त गरेकै कारण अपशब्द, अश्लील टिप्पणी र हिंसात्मक धम्कीको सिकार भएकी छिन् । केही समयअघि सामाजिक सञ्जालमा देखिएको अर्को उदाहरण बालेन्द्र शाहको चुनावसँग जोडिएको अभिव्यक्तिपछि एक युवतीमाथि भएको ट्रोल—पनि यही प्रवृत्तिको निरन्तरता हो । त्यसैगरी, गायिका एलिना चौहानले आफूमाथि आएको अपमानजनक टिप्पणी सार्वजनिक गर्दै समाजको विकृत सोच उजागर गर्न खोज्नु पनि यही समस्याको प्रतिविम्ब हो । यी त प्रतिनिधि उदाहरण मात्र हुन्, पछिल्लो समय यस्ता पात्र र प्रवृत्तिजन्य घटनाले बढावा पाइरहेको छ । यही कारण महिला लगायत बिभिन्न विषयमा फरक मत जाहेर गर्नेहरु भने दुव्र्यवहार र फस्टेसनबाट ग्रसित बन्नुपरेको छ ।

अमिशा पराजुलीमाथि भइरहेको डिजिटल हिंसा केवल एक व्यक्तिमाथिको आक्रमण होइन, यो हाम्रो लोकतान्त्रिक मूल्य, सामाजिक संस्कार र नागरिक चेतनामाथिको चुनौती हो । यदि हामीले यस्ता प्रवृत्तिलाई समयमै रोकेनौं भने भोलि हरेक फरक आवाज डराएर मौन, मुकदर्शक बस्नेछ, र त्यतिबेला लोकतन्त्रको आत्मा नै संकटमा पर्नेछ । असहमति, आलोचना, विरोध–प्रदर्शन लोकतान्त्रिक अभ्यासको अभिन्न हिस्सा हो । तर, विचार व्यक्त गर्ने अधिकारको नाममा व्यक्तिमाथि लक्षित गालीगलौज, चरित्रहत्या र धम्की दिने प्रवृत्ति कुनै पनि रूपमा स्वीकार्य हुन सक्दैन । विशेषगरी महिला र किशोरीहरू लक्षित भएर हुने डिजिटल हिंसा अझ गम्भीर समस्या बन्दै गएको छ । घृणास्पद गालीगलौज, बलात्कार जस्तो यौनजन्य टिप्पणी र धम्की सामान्यीकृत हुँदै जानु समाजको नैतिक अधोगतिको सूचक हो । लोकतन्त्र केवल मतदान वा विरोध प्रदर्शनको नाम मात्र होइन, यो सहिष्णुता, संवाद र असहमतिको सम्मान गर्ने संस्कार पनि हो । फरक विचार सुन्ने, त्यसलाई तर्क र विचारले खण्डन गर्ने र आवश्यक परे बहस गर्ने क्षमता नै लोकतन्त्रको मेरुदण्ड हो । तर, पछिल्ला घटनाक्रमले हाम्रो सार्वजनिक संवाद क्रमशः अराजकतामा रूपान्तरण हुँदै गएको प्रतीत भइरहेको छ । अभिव्यक्तिको स्वतन्त्रता अधिकार मात्र होइन, जिम्मेवारी पनि हो । अतः अराजकता रोकौं । अभिव्यक्तिलाई मर्यादित बनाऔं, असहमतिलाई सम्मान गरौं, र डिजिटल संसारलाई सभ्य बनाउने जिम्मेवारी हरेक नागरिकले वहन गरौं । सरकारले पनि अराजक, अश्लील, घृणास्पद र धम्कीजन्य गतिविधिमा तत्काल यथोचित नियमन र कदम चाल्न जरुरी छ ।