बागलुङ । सरकारी कामकाजको जिम्मेवारी अन्तरगत सहकारीको दर्ता, नियमन, अनुमगन, प्रवद्र्धन र प्रचारमा लागेका भेषराज रिजालले साहित्य लेखनलाई पनि निरन्तरता दिनु भएको छ । गण्डकी प्रदेशको सहकारी रजिष्ट्रारका रुपमा विगत २ वर्षदेखि कार्यरत रिजालको सातौ कृतिका रुपमा नियात्रा सग्रह ‘भेरीका छालहरू’ प्रकाशित भएर हालै बजारमा आएको छ ।
भ्रष्टाचारविरुद्ध डटिरहेकाहरुमा समर्पित गर्दै प्रकाशित नियात्रा संग्रह प्रकाशन गर्ने काम राप्ती क्षेत्रको पुरानो साहित्यिक संस्था राप्ती साहित्य परिषद् दाङले गरेको छ ।
कृतिका रुपमा सातौ र नियात्राका रुपमा चौथो रिजालको नियात्रा संग्रह ‘भेरीका छालहरू’ पुस्तकमा २३ वटा नियात्रा समावेश छन् । संग्रहमा समेटिएका आधाजसो रचना कर्णाली प्रदेशका विभिन्न स्थानसँग सम्बन्धित छन् । पूर्व ताप्लेजुङदेखि पश्चिम हुम्लासम्मका हिमाल, पहाड र तराई क्षेत्रको भूगोल, प्रकृति, संस्कृति र नेपाली सभ्यताको गाथा नियात्रा संग्रहमा चित्रण गरिएको छ ।
प्रशासकीय जिम्मेवारीमा रहेर काम गर्ने क्रममा आफू पुगेका ठाउँको समाज, संस्कृति, इतिहास र भूगोललाई रिजालले कलात्मक शैलीमा प्रस्तुत गर्नु भएको छ । पछिल्लो २ वर्षदेखि सहकारी रजिष्ट्रारको कार्यालय पोखरामा कार्यरत रिजालले नेपालका सबै जिल्लाको भ्रमण गरिसकेको बताउनुभयो । सेवामा कार्यरत रहदा निरन्तर कमल चलाउदै आएका रिजालले २०७७ सालमा ‘बिसौनी वल्तिर’ प्रकाशित गर्नु भएको थियो । पछिल्लो पटक अलि लामो समय पुस्तक प्रकाशन गर्न सकिन, करिब ५ वर्षको अन्तरालमा ‘भेरीका छालहरू’ प्रकाशित गरिएको रिजालले जानकारी दिनुभयो ।
प्रशासकीय जिम्मेवारीका क्रममा २०६३ देखि २०६७ सम्म दाङ जिल्लामा कार्यरत रहँदा राप्ती साहित्य परिषदसंग सम्बन्धित रहेका रिजालको पछिल्लो कृति परिषदले प्रकाशित गरिदिएको उहाँले बताउनुभयो । नेपाली झण्डामा सगरमाथा सगौरव चुलिएको छ, हाम्रो आकाशमा चन्द्र सूर्यको सदा पहरेदारी छ, झण्डाको छहारीमा बस्नेहरुले आफ्नो जत्तिकै देशको पनि माया मानिरहुन्, रिजालले पुस्तकमा उल्लेख गर्नु भएको छ ।
