बागलुङ । आजको डिजिटल युगमा ‘भाइरल’ बन्ने होड मानौं जीवनको लक्ष्य र सपना जस्तै बन्न थालेको छ । सामाजिक सञ्जालमा चर्चित बन्ने चाहना र छिटो पैसा कमाउने आकांक्षा र आदतले ‘सस्तो’ र हल्का पनि बनाइरहेको छ । तर, यही भीडबीच फरक सोच र सन्देश बोकेर देशका कुनाकन्दरा घुमिरहनु भएकी सोलो ट्राभलर सिर्जना सिज्जु गहन काम र पृथक सामग्रीको खोज र प्रस्तुतिमा दिनुपर्ने बताउनुहुन्छ । उहाँ नाम र दामका पछि दौडिन छोडेर काममै ध्यान दिन सुझाव दिनुहुन्छ । उहाँको प्रष्ट भनाइ छ–‘यदि काम पृथक सोच, मेहनत, इमान्दारी र निरन्तर रुपमा सही ढंगले गरियो भने नाम र दाम आफैं आउँछन् ।’
पछिल्लो समय पर्यटन प्रवद्र्धनमा सक्रिय सिज्जुले नाम र पैसाको पछि अन्धाधुन्ध दौडिनुभन्दा कामको गुणस्तर र उद्देश्यमा केन्द्रित हुन आग्रह गर्नुहुन्छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको मिडिया मेलाको ‘डिजिटल मिडिया ः नाम पनि, दाम पनि’ शीर्षकको सत्रमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘कामलाई प्राथमिकतामा राखेर अगाडि बढ्दा नाम र दाम दुवै प्राप्त हुँदो रहेछ,’ निकै रोचक बनेको छलफल सत्रमा उहाँले भन्नुभयो, “तर यदि नाम र दामलाई नै लक्ष्य बनाइयो भने कुनै पनि क्षेत्र दीगो रूपमा अघि बढ्न सक्दैन ।’
कर्णालीका विकट पर्यटकीय क्षेत्रबाट यात्रा शुरु गरेको जानकारी गराएकी सिज्जुले कठिन र चुनौतीपूर्ण काममा लाग्नेहरुले नै नाम र दाम कमाउन सक्ने बताउनुभयो । कुनै पनि व्यक्ति वा संस्थाले गर्ने कामले समाजमा कस्तो प्रभाव पार्छ, समाज रुपान्तरणमा, जनताको जीवनस्तर परिवर्तनमा राम्रो प्रभाव पार्ने काम गर्ने हो भने नाम र दाम दुवै आउने उहाँको भनाइ छ ।
पर्यटन प्रवद्र्धनका क्षेत्रमा एक दशकदेखि सक्रिय सिज्जुले देशको विकासको सबै भन्दा उत्तम माध्यम पर्यटन हो, पर्यटनको प्रवद्र्धन गर्न सक्दा सबै क्षेत्रको विकासमा योगदान हुने भएकाले सरोकारवाला सबैको ध्यान पर्यटन प्रवद्र्धनमा जानु पर्नेमा जोड दिनुभयो ।
समाजमा महिलाले, छोरीले यात्रा गर्नु हुँदैन भन्ने मानसिकता तोडिदै गएको बताउनु भयो । अरुका छोरीहरुले, अरुका बुहारीहरुले राम्रो गरेकोमा खुशी हुने तर आफ्नै घरका छोरी चेलीहरुलाई यात्रामा, कठिन काममा, सिर्जनात्मक काममा जान रोक्ने प्रवृत्तिलाई अन्त्य गर्नु पर्ने सिज्जुको सुझाव छ । दिल शिरीषले सहजीकरण गरेको डिजिट मिडिया ः नाम पनि, दाम पनि विषयक सेसनमा कन्टेण्ट क्रियटर तथा मनोरञ्जन पत्रकार वर्षा बस्नेत र सफ्टवेयर आर्किटेक्ट, डिजिटल प्रणाली रणनीतिकार चिराग थापाले प्रविधिको प्रयोग र यसबाट हुन सक्ने फाइदाका बारेमा जानकारी गराउनु भएको थियो । प्रविधिको प्रयोगले मानिसको जीवनलाई जसरी सहजता तुल्याएको छ, यसको दुरुपयोगले व्यक्ति र समाजलाई पार्न सक्ने गलत प्रभावकाबारेमा पनि सेसनमा छलफल भएको थियो ।
मिडिया मेलामा विभिन्न विषयका १० वटा सेसनमा छलफल भइरहेका छन् । पहिलो दिन बागलुङको भविष्य ः कृषि, उद्यम कि पर्यटन विषयक सत्रमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी र नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछाने वक्ताका रुपमा रहनु भएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार प्रकट कुमार शिशिरले गर्नु भएको थियो । यस्तै प्रेस स्वतन्त्रता ः अधिकार कि जिम्मेवारी ? विषयक सत्रनमा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव राम प्रसाद दाहाल, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने र नागरिक समाजका तर्फबाट वरिष्ठ अधिवक्ता काजीगाउँले श्रेष्ठ वक्ता रहनु भएको थियो । उक्त सत्रको सहजीकरण पत्रकार दिलिप पौडेलले गर्नु भएको थियो ।
पत्रकारिता ः गिद्दे प्रेसदेखि एआइसम्म विषयक शेसनमा लोकान्तर दैनिकका सम्पादक बिमल गौतम, राससका पूर्व प्रधान सम्पादक एकराज पाठक र टेकपानाका सम्पादक गोपाल साउद वक्ताका रुपमा रहनु भएको थियो । सत्रको सहजीकरण दिल शिरीषले गर्नु भएको थियो । शनिवार मोफ्सलका मिडिया ः सबल कि संकटमा ?, जननी जन्मभूमिश्च.., पत्रकारितामा शैली ः शिष्ट कि आक्रामक, पत्रकार महासंघ ः अब कस्तो ? र मिडियामा सिमान्त आवाज विषयक ६ वटा सत्र सञ्चालन हुने नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ ले जानकारी दिनुभयो ।
महासंघले सञ्चालन गरेको मिडिया मेलामा बागलुङ जन्मथलो भई देशका विभिन्न क्षेत्रमा रहेर पत्रकारिता गरेका लगायत गण्डकी प्रदेश अन्तरगतका विभिन्न जिल्लाका पत्रकारहरु, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल लगायत पत्रकारितासंग सम्बन्धित संघ संस्थाका कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रमुख, प्रतिनिधिहरुको सहभागिता रहेको महासंघले जनाएको छ ।
