• २०८३ आश्विन १४, बुधबार
  • 2026 September 30, Wednesday

सहयोगी सहकारीका सदस्यले हेरे लक्ष्मीप्रसाद : ‘ऋणीले हेर्नु पर्ने फिल्म रैछ’

बागलुङ । बागलुङ बजारमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरु मध्येको जेठो संस्थाका रुपमा रहेको सहयोगी वचत तथा ऋण सहकारी संस्था लिमिटेड, बानपा–२ को २९ औं स्थापना दिवस शनिवार मनाइएको छ । स्थापना दिवसका अवसरमा संस्थाले शेयर सदस्यहरुका लागि सहकारी विषयमा निर्माण गरिएको चलचित्र ‘लक्ष्मीप्रसाद’ प्रदर्शन गरेको थियो ।

सहकारीका सदस्यहरुलाई अत्यन्तै उपयोगी चलचित्र निर्माण भएको रहेछ, जिल्ला सहकारी संघ लिमिटेड बागलुङले सहकारी दिवसका अवसरमा सञ्चालक र कर्मचारीहरुका लागि प्रदर्शन गरेको थियो, राम्रो लाग्यो संस्थाका अध्यक्ष मुकुन्द प्रसाद शर्माले भन्नुभयो,–‘चलचित्रले सहकारीको बारेमा राम्रो सन्देश दिएकाले स्थापना दिवसमा सदस्यहरुलाई देखाएका हौ ।’ सहकारीमा समस्या किन आयो, सहकारीमा समस्यामा ल्याउनेहरु को को हुन सक्छन्, सहकारी र सदस्यको व्यवसायसंग कस्तो सम्बन्ध छ, लगायत ऋण लगानी र असुलीका विषयमा धेरै राम्रो जानकारी भएकाले सबै सहकारीका सदस्यहरुलाई देखाउन आवश्यक रहेको शर्माले जानकारी दिनुभयो । फिल्म हेरेपछि शेयर सदस्यहरुले सामुहिक रुपमा भने, यो फिल्म त सहकारीबाट ऋण पाइन्छ भने पछि जति पनि लिने, जसरी पनि लिने र समयमा नतिर्ने, तिर्न पर्दैन मिनाहा हुन्छ भनेर बस्ने, ऋण नतिर्ने अभियान सञ्चालन गर्ने लगायतका खराव ऋणीले हेर्नु पर्ने रहेछ ।

एउटा सहकारीमा समस्या आयो भने सबैमा समस्या छ, सबै खराव हुन् भन्दै प्रचार गर्नेहरु पनि समाजमा हुन्छन्, सहकारीले सदस्यको अप्ठेरोमा साथ दिएको थियो, सहकारीलाई समस्या पर्दा सदस्यहरुले साथ दिनु पर्छ भन्ने सन्देश पनि चलचित्रले दिएको सहभागीहरुले बताएका छन् । चलचित्रका लेखक÷निर्माता÷निर्देशक प्रकाश भट्टराईले सहकारीहरुमा देखिएका समस्या समाधानमा सदस्यहरुको सकारात्मक सहभागिता बढाउन सहयोगी हुने अपेक्षाका साथ चलचित्र बनाएको जानकारी दिनुभएको छ । चलचित्रका निर्माता भट्टराईसंग समन्वय गरेर बागलुङ जिल्लाका विभिन्न क्षेत्रमा, सहकारी संघ संस्थाहरुमा प्रदर्शन गर्न सकिने निर्माता भट्टराईले जानकारी दिनुभयो । बागलुङका कुनै पनि संघ संस्था वा पालिकाहरुले चलचित्र प्रदर्शनका लागि जिल्ला सहकारी संघसंग समन्वय गर्न सक्ने उहाँले बताउनुभयो ।

२०५४ साल चैत २८ गते स्थापना भएको सहयोगी बचत तथा ऋण सहकारी संस्थामा हाल ४ सय जना शेयर सदस्य, ६६ लाख ५० हजार शेयर पूँजि, २ करोड ५७ लाख वचत, ऋण लगानी १ करोड ६० लाख रहेको संस्थाले जनाएको छ ।