बागलुङ/ बागलुङ नगरपालिका–३ नारायणचोक स्थित लक्ष्मीनारायण मन्दिर स्थापना भएको १०० वर्ष पूरा भएको छ । १०० वर्ष पुरा भएको अवसरमा सोमबार विशेष कार्यक्रम आयोजना गरिएको छ ।
मन्दिर सेवा समितिले वैशाख ७ गते सोमबार विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित उत्सव मनाउन लागिएको जनाएको छ ।
कार्यक्रम अन्तर्गत बिहान ८ बजे भजन–कीर्तनसहित बजार परिक्रमा गरिनेछ भने बिहान ९ बजेबाट पूजा आरम्भ गरिने जनाइएको छ । त्यसैगरी दिउँसो १ बजे लक्षवर्ती प्रज्वलन र दिउँसो २ बजे कार्यक्रम समापन गरी प्रसाद वितरण गरिने कार्यक्रम तालिका रहेको छ ।
उक्त कार्यक्रम बागलुङ नगरपालिका–३ नारायणचोकस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा सञ्चालन हुनेछ । आयोजकले सम्पूर्ण भक्तजन तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आग्रह गरेको छ ।
मन्दिर सेवा समितिका अध्यक्ष जय राम भारीले एक सय वर्ष अघि एक हजार ३०० रकम संकलन गरी मन्दिर निर्माण गरिएको बताउनुभयो । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको उत्सवलाई भव्य बनाइने भारीको भनाई छ ।