बागलुङ । सहकारीमा देखिएका समस्या समाधानका लागि भन्दै गठन गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गरिएको छ ।
मन्त्रिपरिषदको मंगलवार बसेको वैठकले प्युठानका आचार्यलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको हो ।
समितिका सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशन बहादुर शाक्यलाई मनोनित गरेको सञ्चारमन्त्री बिक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनपछि बनेको चुनावी सरकारले गत मंसिरमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी बर्खास्त गरेको थियो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समितिका पदाधिकारीले सहकारी समस्या समाधानमा असहयोग गरेको भन्दै सफाइ मागेर पदबाट हटाएको थियो ।
सहकारी ऐन २०७४ अनुसार पदाधिकारीलाई सफाइ पेस गर्ने मौका दिने र चित्त नबुझेमा मन्त्रालयले हटाउने व्यवस्था रहेको छ ।
‘समितिले गरेको काम सहकारी समस्या समाधान भन्दा पनि झनै बल्झाउने अवस्थाको देखियो,’ भन्दै तत्कालिन पदाधिकारीलाई मन्त्रालयले हटाएको थियो ।
केपी ओली सरकारले २०८१ बैशखमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई अध्यक्ष नियुक्त गरेको थियोे । समितिको सदस्यहरुमा उद्धवप्रसाद तिमल्सेना, काशिचन्द्र बराल, ललिताकुमारी महर्जन, ध्रुव आचार्य र महेशप्रसाद काफ्ले र सदस्य सचिवमा टीकामणि नेउपाने रहेका थिए ।
सहकारी ऐन अनुसार उच्च अदालतका न्यायाधीश वा सोसरह योग्यता भएको व्यक्ति अध्यक्ष रहने समितिमा निजामतीमा ११ औं तहमा काम गरिसकेको व्यक्ति एक, बैंक तथा वित्तीय संस्थामा नवौं तहमा काम गरेको वा चार्टर्ड एकाउन्टेन्ट एक, राष्ट्रिय सहकारी महासंघले तोकेको एक सदस्य, सहकारी विज्ञबाट दुई र राजपत्रांकित द्वितीय श्रेणीको कर्मचारी सदस्यसचिव रहने कानुनी प्रावधान छ ।
सरकार परिवर्तनसंगै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति परिवर्तन भए पनि यो समितिले प्रभावकारी काम गर्न नसकेको गुनासो रहँदै आएको छ ।
२०७४ पछि बनेको केपी ओली नेतृत्वको सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले सहकारी विज्ञका रुपमा बागलुङका ममतादेवी शर्मालाई सदस्य मनोनित गर्नु भएको थियो ।
