बागलुङ । पञ्चायतकालमा दल खोल्न प्रतिवन्ध थियो, पञ्चायत विरोधी आन्दोलनका क्रममा नै जिल्लामा राजनीतिक दलका रुपमा डेरा जमाएका बागलुङका प्रजातान्त्रिक र बामपन्थी शक्तिहरु साढे तीन दशकमा राजनीतिको गगनचुम्बी महल बनाउन सफल भए ।
कहिले खस्कदै, कहिले उकासिदै जिल्लाको राजनीतिक यात्रामा पालै पालो गगन चुमेका बागलुङका चार प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चा (राजमो) गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामबाट झस्किएका छन् । पुराना दलका नेताहरुले भन्ने गरेको (फगत) विरासत खोसेको नयाँ राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला पार्टी संगठन विस्तार अभियानमा वडा अधिवेशनको चटारोमा छ ।
मन मिले पनि नमिले पनि, सिद्धान्त मिले पनि नमिले पनि, चाहना भए पनि नभए पनि, कहिले कता, कहिले को संग तालमेल र गठबन्धन गरेर, कहिले एकल प्रतिस्पर्धा मै पनि आलो पालो जिल्लाका विभिन्न राजकीय जिम्मेवारीमा पुगेका पुराना दलहरु (कांग्रेस, एमाले, नेकपा र राजमो) यसपटक दर्शक दिर्घामा पुगेका छन् । एकै पटक यसरी बढारिन्छौ भन्ने कल्पना समेत नगरेको अवस्थामा आएको परिणामलाई दलहरुले सुनामीको संज्ञा दिन थालेका छन् । साढे तीन दशक सत्ता यात्रामा कतै न कतै सहभागी भएका, नेतृत्व गरेका र प्रभुत्व जमाएका दलका नेता कार्यकर्ताहरु आंकलन नगरिएको परिणामका कारण यतिबेला आरोप प्रत्यारोपसंगै दोषारोपणमा केन्द्रीत छन् । जित्दा सबैले सहयोग गरे जस्तो हुन्छ, हारमा सबैले असहयोग गरे जस्तो भान नेता कार्यकर्तालाई परेको छ ।
दलका नेताहरु झस्किएका त छन्, तर सुध्रिने छाँटकाट ल्याएनन् भन्ने गुनासो आम कार्यकर्ता, समर्थक शुभेच्छुकहरुले गर्न थालेका छन् । लामो समय सत्तामा रहदा पनि स्थानीय समस्यालाई प्राथमिकता नदिएको, शिक्षा स्वास्थ्य, रोजगारी लगायतका विषयमा दीर्घकालिन योजना बनाउन नसकेको, केन्द्रको मुख ताक्ने, गुटगत मानसिकता नत्यागेको लगायतका विषयमा जिल्लास्तरमा समेत थुप्रै गुनासा छन् । काम केही नभएको होइन, भएका कामको बारेमा जनतालाई बुझाउन नसक्ने, कार्यकर्तालाई समान व्यवहारा गर्न नसक्ने, काम गर्ने विषयमा पार्टीको प्रभाव, भुगोल लगायत गुट हेर्ने जस्ता कारणले जनताले मत फेरेका छन्, एक पटक मत फेरेका जनताले मत फर्काउन अलि समय लगाउछन् भन्ने चेत अझै दलका नेताहरुमा नपसेको कार्यकर्ताको आरोप छ ।
तर पनि जिल्लाका नेताहरु केन्द्रीय नेतृत्वको कमजोरीका कारण चुनावमा परिणाम आफ्नो अनुकुल नआएको चर्चामै व्यस्त छन् । जनताले मत फेर्नुको कारण केन्द्र मात्रै होइन, हामी पनि हौ भन्ने चेत आउन सकेन, नेपाली कांग्रेसका एक सदस्यले भने, –‘पराजयको अपजस अर्कैलाई मात्र थोपरेर हामी सही गन्तव्यमा कसरी पुग्छौ ।’ चुनावपछि राष्ट्रिय जनमोर्चाले जिल्ला स्तरीय समिक्षा सम्पन्न गरेको छ । समिक्षाका क्रममा साढे ३ दशक आफुहरु जिल्लाको सत्तामा रहेर काम गर्दा भएका कमी कमजोरीका बारेमा खासै चर्चा भएन, आफ्ना कमजोरीको समिक्षा भन्दा पनि अरुलाई दोष लगाउनमै बढी छलफल भएको स्रोतले बताएको छ ।
राम्रा कुरा सबै मैले, हामीले गरेका हौ भन्छौ, तर समस्या आयो भने, चुनावमा हारियो भने अरुकै कारण हो भन्ने निष्कर्षमा पुग्छौ भने सही गन्तव्यमा कसरी पुग्छौ, राष्ट्रिय जनमोर्चा बागलुङका एक सदस्यले भने,– ‘समिक्षा त भयो तर सही निष्कर्ष आएन, विदेशीको प्रभाव, सहयात्री दलले गठबन्धनमा इमान्दारिता देखाएनन् जस्ता अरुलाई दोष लगाउने कुराले हामी फेरी पनि सही ठाउँमा पुग्दैनौ र पार्टी रुपान्तरण संभव हुदैन ।’
२०४८ मा निर्वाचन बहिस्कार गरेको राजमो २०५१ देखि केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडाको राजनीतिमा प्रभावकारी भूमिकामै रहेको छ । गठबन्धन गरेर चुनावमा गएको राजमोले पछिल्लो स्थानीय निर्वाचनबाट जिल्ला समन्वय समिति प्रमुख, दुइ वटा पालिका प्रमुख र दुइवटा पालिका उपप्रमुखको जिम्मेवारी सम्हालेको छ । जिल्ला स्तरीय समिक्षा सकेर पालिका र वडा स्तरका वैठकमा केन्द्रीत भएका छौ, राजमो जिल्ला सचिव भिमलाल पोखरेलले भन्नुभयो,–‘चुनावी समिक्षाका साथै कार्यकर्ताहरुमा देखिएको निरासालाई चिर्न चुनावमा भएका गलत गतिविधि, राष्ट्रियस्तरमा देखिएको चुनावी लहर, जनतामा दलहरुप्रति देखिएको वितृष्णा लगायतका विषयमा कार्यकर्ता पंक्तिमा छलफल गरी योजना निर्माण गरेर जनताका बीचमा जाने तयारीमा छौ ।’
नेपाली कम्यनिष्ट पार्टी (नेकपा) ले पालिका स्तरको समिक्षा शुरु गरेको छ, बागलुङ क्षेत्र नं. १ मा त नेकपा चिन्ताजनक अवस्थामै पुगेको छ, सहकार्य गरेको दललाई मत नदिने लगायतका गतिविधिले यो क्षेत्र नेकपाका लागि चुनौतीपूर्ण देखियो । क्षेत्र नं. २ मा संगठन, उम्मेदवार र चुनाव परिचालन सबै ठिकै थियो, राष्ट्रिय माहोलले चुनावमा पराजित भइयो, एक जिल्ला सचिवालय सदस्यले जानकारी दिए । ‘टालाटुली बटुली’ जस्तै भयो हाम्रो पार्टीको एकता अभियान, २ दर्जन बढी पार्टी मिलेर बडेमानको पार्टी बनायौ भन्ने ठानियो, तर नेता मात्रै मिलेका रैछन्, नेताको घाटी जोड्ने कामले एकता र एकीकरणको अर्थ हुदैन भन्ने कुरा फेरी एकपटक प्रमाणित भयो, ति सदस्यले व्यथा सुनाए ।
आदर्शसञ्चार डटकमले चुनाव अगाडि लेखेको ‘बागलुङ नेकपामा नेताको लस्कर, चुनावमा गठबन्धनकै भर’ शिर्षकको समाचार जस्तै यसपटक झन कमजोर अवस्था सिर्जना भयो । सधैभरी अर्कैको टेकोमा जित निकाल्छौ र राजनीतिको शिर्ष स्थानमा बस्छौ भनेर सकिदैन भन्ने चेत हाम्रो नेतृत्वमा आउन सकेन, उनको गुनासो छ ।
२०४८ र २०४९ मा चुनावमा प्रतिस्पर्धा गरेको र गणतन्त्र स्थापना पछि कहिले बामपन्थी सहकार्य र कहिले बाम प्रजातान्त्रिक गठबन्धन गरेरै भए पनि बागलुङको राजनीतिमा केन्द्रमा पटक पटक मन्त्री, प्रदेशमा मन्त्री र जिल्ला तथा पालिका र वडाहरुमा समेत सत्ता सञ्चालन गर्दै आएको छ ।
अहिले पनि नेकपाका तर्फबाट एक पालिकामा प्रमुख र ३ पालिकामा उपप्रमुख सहित सत्तामै छ । नेकपाले पालिकामा चुनावी समिक्षा शुरु गरेको छ, त्यसपछि निर्वाचन क्षेत्र र जिल्लाको समिक्षा गरेर भावी कार्ययोजना निर्माण गर्ने, बामपन्थी तथा जनपक्षीय शक्तिहरुसंग सम्वाद, सहकार्य गर्दै बामपन्थी जनमत बढाउने अभियानमा लाग्ने तयारी गरिएको नेकपाका केन्द्रीय सदस्य चन्द्र बहादुर बुढा (सागर) ले बताउनुभयो ।
बहुदल पछि बागलुङको राजनीतिमा सबै भन्दा बढी प्रभाव जमाउदै आएको नेपाली कांग्रेस पछिल्लो समय निक्कै रक्षात्मक बन्दै गएको छ । २०४८ र २०४९ को निर्वाचनमा संसदमा क्लिनस्वीप र स्थानीय तहमा करिव करिव क्लिनस्वीप गरेको कांग्रेस आन्तरिक किचलोका कारण निरन्तर खस्कदै गएको छ । २०७९ मा त पाँच दलीय गठबन्धन गरेर चुनावमा जानु पर्ने अवस्थामा कांग्रेस पुगेको थियो ।
बामपन्थीहरु धेरै दल बनेर रक्षात्मक छन्, चिरा चिरा भएको बामपन्थी जनमतको बेला बेला फाइदा उठाउदै आएको कांग्रेस आन्तरिक गुटबन्दीको चर्को शिकारका कारण निरन्तर कमजोर बन्दै गएको छ । २०५१ देखि नै कांग्रेसमा विद्रोही उम्मेदवार बन्ने, पार्टीका आधिकारीक उम्मेदवारका विरुद्ध लाग्ने गतिविधि हुदै आएका छन् । कांग्रेस कार्यकर्ताहरुका बीचमा ‘रुखमा मत नदिने कांग्रेस’ भन्ने चर्चा पनि चल्ने गर्दछ ।
यसपटक पनि क्षेत्र नं. २ मा कांग्रेसको एउटा टिमको असहयोग भएकै कारण कांग्रेसका उम्मेदवार टेकराज पौडेल पराजित भएको चर्चा हुने गरेको छ । यद्यपी संस्थापन इतर पक्षले यसपटक जति मत आयो, धेरै आएको हो, थाम्नै नसक्ने भएकाले पराजित भएको बताउछ । क्षेत्र नं. १ मा फराकिलो अन्तर भएका कारण आरोप प्रत्यारोप कम भए पनि भित्र भित्रै रुखमा भोट नहाल्नेहरुको बारेमा खोजी भइरहेको स्रोतले जनाएको छ । चुनाव सकिएको डेढ महिनासम्म पनि कांग्रेसले संस्थागत समिक्षा गरेको छैन । केन्द्रमा विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारीक मान्यता दिए पनि १४ औं महाधिवेशनबाट निर्वाचित सभापति शेर बहादुर देउवा पक्षले अन्तरमनबाट वर्तमान नेतृत्वलाई स्वीकार गरेको देखिदैन । अझै पनि इतर पक्षको वैठक तथा भेलाले निरन्तरता पाएकै छन् र जिल्लामा पनि त्यसको सिधा असर परेको छ ।
माथि देखि नै किचलोमा रहेको कांग्रेसले जरा अभियान सञ्चालन गरेको छ । जरा अभियान शुभारम्भका क्रममा शनिवार केन्द्रीय प्रतिनिधि पार्टीका केन्द्रीय सदस्य कृष्ण बहादुर केसी र अर्का प्रतिनिधि मनोहर पराजुलीको उपस्थितिमा भएको कार्यक्रममा चुनावको बारेमा हल्का छलफल भएको वैठकका एक सहभागीले बताए ।
जरा अभियानको उद्घाटन भनेर बोलाइएको थियो, कार्यक्रममा बोल्ने वक्ताहरुले चुनावको बारेमा पनि धारणा राख्नु भयो । वक्ताहरुको आसय पनि प्रष्ट थियो ‘विशेष महाधिवेशन पक्षले चौम (चौथो महाधिवेशनबाट निर्वाचित) समुहलाई र चौम समुहले विशेष महाधिवेशन पक्षका कारण चुनावमा पराजित भइयो ।’ हाम्रो आन्तरिक किचलो, हामीले सत्तामा रहदा गरेका कामको प्रभाव लगायत आफ्ना तर्फका कमजोरी सुधार गर्ने भन्दा पनि अरुकै थाप्लोमा दोष थोपर्ने प्रवृतिमा सुधार आएको छैन, एक सहभागीले बताए । साढे तीन दशक नेपाली कांग्रेस बागलुङका वडा, गाविस, पालिका, प्रदेशदेखि केन्द्रीय सरकारमा समेत सहभागी भएको छ, तर चुनावमा जनताले मत नदिएको विषयमा चाही केन्द्रको प्रभाव, चुनावमा आएको सुनामी जस्ता कारण देखाएर पन्छिने गरिएको छ, नेवि संघका एक नेताले भने, कांग्रेस सुध्रन्छ भन्ने कुरामा शंकै लाग्छ ?
चुनावको समिक्षा गरेको छैन, समिक्षा गर्ने चरणमा चाही प्रवेश गरेको छ, ति विद्यार्थी नेताले भने, अहिले कांग्रेस उठेर बाथरुमसम्म गएको छ, अब फ्रेस भएर आउछ कि, चिसो पानीले नुहाउदा झन रुझेको बिरालो बन्छ, हेर्न बाँकी नै छ । २०४८ मा तिन वटा निर्वाचन क्षेत्रमा विजयी भएको कांग्रेस त्यसयता धेरै पटक केन्द्र, प्रदेश, जिल्ला र पालिका तथा वडामा सत्तारुढ बनेको छ ।
कांग्रेसका तर्फबाट पार्टी सभापति जित शेरचन गण्डकी प्रदेशको अर्थमन्त्री छन्, ६ वटा पालिकाको प्रमुख, एउटा पालिकाको कार्यवाहक प्रमुख, ३ वटामा उपप्रमुख सहित १० वटै पालिकाको सत्तामा कांग्रेस अहिले पनि कायमै छ ।
गत बैशाख २ गते गण्डकीका मुख्यमन्त्रीले ८ जना मन्त्रीलाई बर्खास्त गरेर ८ जना नया मन्त्री बनाउनु भयो, किन बनाउनु भयो, के कारणले बनाउनु भयो, पुरानाले राम्रो काम गरेनन् र बनाएको हो कि ? के हो ? जनतालाई होइन, नेपाली कांग्रेसका कार्यकर्तालाई पनि चित्त बुझाउन सक्नु भएको छैन, यसरी मनलाग्दी मन्त्रीमण्डल हेरफेर गर्ने, सबैको भाग पु¥याउनकै लागि काम गर्दै जाने हो भने अर्को पटक प्रदेश पनि निल हुन्छ, विद्यार्थी नेताको आक्रोश छ । जरा अभियानको शुरुवात गरेका छौ, त्यो संगै चुनावी समिक्षाको विषय पनि अगाडि बढेको छ, कांग्रेसले राष्ट्रियता, लोकतन्त्र र पार्टीको संगठनको जरा मजबुत बनाउने गरी अभियान सञ्चालन गर्दै जाने र चुनावको पनि संगै समिक्षा गरेर विगतका कमजोरी सच्याउदै थप उत्साह र दृढताका साथ अगाडि बढ्ने तयारीमा रहेको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले बताउनुभयो ।
२०७९ को निर्वाचनमा गठबन्धनसंग पराजित भएपनि कांग्रेस, नेकपा र राजमो लगायतका पार्टीबाट नेताहरुलाई प्रवेश गराएर उत्साहित भएको नेकपा एमाले गत निर्वाचनबाट क्षेत्र नं. १ मा तेस्रो र २ मा चौथो शक्ति बन्यो । जेनजी आन्दोलन पूर्व सत्ताको नेतृत्व गरेको एमाले आन्दोलनको प्रमुख निशाना मात्रै बनेन्, पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री सहित सम्पूर्ण पदाधिकारीहरुले चुनाव हार्ने अवस्थामा पुग्यो ।पार्टी अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री र सञ्चारमन्त्रीले आन्दोलन भड्काएको आरोप लाग्ने गरेको छ । एमालेका नेता कार्यकर्तालाई हामीले त राम्रै गरेको हो, केन्द्रका कारण चुनावमा जित निकाल्न सकिएन भन्ने बाटो बनेको छ ।
बागलुङमा एमालेले चुनावी समिक्षा गरेको छैन । एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी गत ११ औं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार भएपछि अध्यक्ष कायम नहुने व्यवस्था अनुसार अध्यक्ष पद निष्क्रिय रहेको अवस्था छ । अध्यक्ष एउटा क्षेत्रको उम्मेदवार पनि भएकाले कमिटिले समिक्षा गर्नु पर्ने हो, गरेको जानकारी छैन, एक जिल्ला सदस्यले बताए ।
एमाले जस्तो संगठन भएको पार्टीले चुनाव भएको २ महिना पुग्नै लाग्दा समेत समिक्षा नगर्नु भनेको जिम्मेवारीमा भएकाहरुको उदासिनता नै हो, ति सदस्यले आरोप लगाए । पार्टीको समिक्षा गर्ने, योजना बनाउने भन्दा पनि नेताहरुलाई मन्त्री फेर्ने, भागवण्डा पु¥याएर सबैलाई पूर्वमन्त्रीको पगरी गुथाउने चटारो छ, ति सदस्यले आक्रोश व्यक्त गरे । जनताले सडकमा पछारेका छन्, अझै चेत खुलेन भने अर्को पटक नालीमा झार्छन् अनि बल्ल चेत खुल्छ कि ? उनले सुध्रन सुझाव दिए ।
तलबाट भन्दा पनि एमालेले माथिबाट चाही छलफल शुरु गरेको छ । गण्डकी प्रदेशबाट केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुबीच पोखरामा २ दिनसम्म चुनावी समिक्षा लगायत आगामी योजनाका बारेमा छलफल भएको छ । यद्यपी चुनावी समिक्षामा केन्द्रीय सदस्यहरुले पनि दोष अरुतिरै सोझ्याउने काम गरेको वैठकका एक सहभागीले बताए । केही केन्द्रीय सदस्यहरुले पार्टीको केन्द्रीय नेतृत्व परिवर्तन गर्नु पर्ने अडान राखेका थिए । धेरैले माथिको आदेश काम लागेन, अब तलका कार्यकर्ताको भावना बुझौ र उनीहरुको भावना अनुसार अगाडि बढौ भन्ने सुझाव दिएको ति केन्द्रीय सदस्यले जानकारी दिए ।
जेनजी आन्दोलन शुरु हुने भदौ २३ को अघिल्लो दिन गोदावरीमा सम्पन्न नेकपा एमालेको दोस्रो विधान महाधिवेशनले ‘केपी शर्मा ओली बिनाको एमाले र एमाले बिनाको मुलुक’ संभव छैन भन्ने सन्देश सहित विधानमा भएको ७० वर्ष उमेर पुगेपछि कार्यकारी पदमा बस्न नपाउने र कार्यकारी पदमा २ कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था हटाएको थियो ।
विधान महाधिवेशनबाट मेरो विकल्प छैन, मेरो विकल्प खोज्नेहरु एमाले विरोधी हुन् भन्ने हूँकार गरेका एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र उनको कोर टिम चुनावी परिणामले ल्याएको संकट पछि विभाजित भएको छ । विधान महाधिवेशनको म्याण्डेट अनुसार नै मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट ७५ प्रतिशत भन्दा बढी मतका साथ अध्यक्ष निर्वाचित ओलीले पद छोड्नु पर्छ, अन्यथा पार्टीले गति लिन सक्दैन भन्ने जनमत यतिबेला एमाले भित्र जवरजस्त रुपमा अगाडि बढेको छ ।
ओलीको डटेर रक्षा गर्दै आएका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका कोर टिमका नेताहरुनै नेतृत्व हस्तान्तरणको पक्षमा देखिएको एमाले नेताहरु बताउछन् । केन्द्रको किचलो जे जस्तो भए पनि म्याग्दी, पर्वतमा एमालेले चुनावको सांगो पांगो समिक्षा गरी सक्दा बागलुङमा भने एमालेले कही कतै चुनावी समिक्षा गरेको विषय सार्वजनिक भएको छैन ।
समिक्षाका विषयमा कुराकानी भएको छ, पार्टी अध्यक्ष स्वयं उम्मेदवार रहनु भएको, कार्यवाहक अध्यक्ष पनि पारिवारीक कामले बाहिर रहनु भएकाले केही समय ढिला भएको छ, अब छिटै पालिका स्तरको र जिल्ला स्तरको समिक्षा गर्छौ र आगामी योजना बनाएर अगाडि बढ्ने तयारीमा छौ, एमाले बागलुङका सचिव गणेश बहादुर थापा मगरले भन्नुभयो ।
बागलुङका पुराना चार दल मध्ये राजमोले जिल्ला स्तरीय समिक्षा सकेर पालिका र वडा तहमा केन्द्रीत भएको छ, नेकपाले पालिका स्तरीय समिक्षा शुरु गरेको छ, पालिका सकेर निर्वाचन क्षेत्र र जिल्लास्तरको समिक्षा गर्ने उसको तयारीमा छ, ।
कांग्रेस बिहान उठेर फ्रेस हुनका लागि बाथरुम छिरेको छ, अर्थात जरा अभियानमा चुनावी समिक्षाको एजेण्डा प्रवेश गराएको छ, एजेण्डालाई कसरी प्रस्तुत गर्छ, के निष्कर्ष निकाल्छ अहिले नै भन्न सकिदैन ? एमाले निद्राबाट बिउझिएको त छ, तर अझै ओछ्यान छोडेको छैन । ओछ्यानमा पल्टेर मोवाइलमा समाचार हेर्दैैै गरेको एमाले ओछ्यानबाट उठेर कहिले फ्रेस हुने हो र समिक्षासंगै कसरी अभियानमा लाग्ने हो, त्यो हेर्न अझै केही समय पक्कै लाग्ला ?
